बैंकबाट ऋण लिएका ऋणीहरूले समयमै ऋण र किस्ता नतिर्दा बैंकहरूको खराब कर्जा बढेको छ । चालू आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका बैंकहरूको खराब कर्जा ह्वात्तै बढेपछि टाउको दुखाईको विषय बनेको हो ।
चालू आर्थिक वर्षको ९ महिनामा प्रकाशित गरेको वित्तीय विवरण अनुसार सबैभन्दा बढी तनाव हिमालयन बैंक, नेपाल बैंक र कृषि विकास बैंकलाई देखिएको छ । उक्त बैंकहरुको खराब कर्जा ४ प्रतिशतभन्दा माथि रहेको बताइएको छ । बैंकको ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ ।
अहिले हिमालयन बैंकको खराब कर्जा ४.५६ प्रतिशत रहेको छ । गत वर्ष यस बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम थियो । कृषि विकास बैंकको खराब कर्जा पनि ४.३५ प्रतिशत छ । गत आर्थिक वर्षमा कृषि बैंकको २.३२ प्रतिशत खराब कर्जा थियो । हाल अधिकांश बैंकहरूको खराब कर्जा ३ प्रतिशतभन्दा माथि रहेको देखिन्छ ।
आर्थिक मन्दी, बैंकको चर्को ब्याजदर, जग्गाको कित्ताकाट बन्द हुँदा कारोबार ठप्प बनेको हो । बैंक तथा वित्तीय संस्थाहरूले घर जग्गामा गरेको लगानी उठाउन सकेका छैनन् । जस्को कारण खराब कर्जा बढेको जानकारहरू बताउँछन ।