Advertisement Banner
Advertisement Banner

३० बिहिबार, माघ २०८२10th February 2026, 12:33:31 am

विहानै गरीवको हातमा बेल्चा, धनीको हातमा कुकुर

०४ सोमबार , बैशाख २०८०३ बर्ष अगाडि

रिकेश रिजाल क्षितिज –
कोक्रोबाट सुरूवात भएको जिन्दगी चितामा नअस्ताउनजेलसम्म मान्छे बाँच्नकै लागि अनेक कर्ममा ब्यस्त हुन्छ । कोही सहज कर्ममा पुग्छ त कसैले अपठ्यारो बाटो  समाउँछ । कोहीलाई एक गाँस खानको लागि ज्यान मायाँ मारेर हिंड्नुपर्छ त कोही सोखिन पाराले बाँचिरहन्छन् । जीवनका ओराली उकाली,भञ्ज्याङ चौतारी गर्दै गर्दा थकित भएका सिन्धुपाल्चोकका माइला तामाङको जीवन कहानी यसरी शुरू हुन्छ–
बिहानको झिसमिसेसङ्गै  ललितपुरको पुल्चोक हुँदै जावलाखेलको सडक अगाडि पुग्दै गर्दा मेरो नयनमा भरखर उदाएको सूर्यको टहक पर्दै थियो । वरिपरी तरकारी बेच्नेहरूको केही जमात देखिन्थ्यो । केही चियाको चुस्की लिँदै कुरा गरिरहेका थिए । परबाट मैले एक जना ब्यक्ति गन्जी र हाफ कटटु लगाएर हातमा बेल्चा लिएर आइरहेको देखेँ । नभन्दै उनी  मेरै नजिक बसेर चिया पिउन थाले । बिहानको चिसोमा चिया पिउँदै गर्दा उनको हात मात्र नभई  जिउ नै कामिरहेको थियो । 
शरिरमा चिसोले काँडा पलाएको प्रष्ट देख्न सकिन्थ्यो । मलाई खुल्दुली लाग्यो अनि सोधेँ– दाइ,हजुरलाई जाडो हुँदैन ?  ज्वरो आउला, अलि तातो कपडा लगाउनुपर्छ । बिहान त  एकोहोरो हुँदै एकछिन मलाई हेरेर भन्नुभयो– भाइ,जाडो त पचिसक्यो । दुःखीको कर्म यस्तै हो, छोराछोरी पाल्नुपर्छ, बच्चा पढ्दै छ,हामेले राम्रो लगाएर के गर्नु भाइ, म कुनै रहरले यति चिसोमा बेल्चा बोक्दै कहाँ आएको हुँ र ! 
अनि उहाँ चुरोट दिनुस् त भन्दै पसलेतिर फर्कनुभयो । चुरोट समात्ने हात ठेला र चोटहरूले भरिएको थियो । जुन हातको मैले तस्वीर समेत कैद गरेँ तर अरू फोटो खिच्न दिन भने मान्नुभएन । फेरि मैले दाइ,हात त धुनुपर्छ नि भन्दा उहाँले भन्नुभयो–खोइ मरेपछि आगोले धोला, अहिले धोयो,एकछिनमा त्यस्तै भइहाल्छ । 
त्यो जवाफ सकिँदै गर्दा एक जना  स्थानीय बासिन्दा कुकुर डोर्याउँदै आउनुभयो र पसलेलाई एक पुरी बिस्कुट दिनुस् भन्दै कुकुरलाई दिनुभयो । ती दाइले भन्नुभयो– भाइ,हेर्नु, धनीको हातमा बिहानै कुकुर हुन्छ,हामी गरिवको हातमा बिहानै बेल्चा हुन्छ । के गर्नु, कर्मको खेल यस्तै हो भन्दै दाइ हिंड्नुभयो ।