Advertisement Banner
Advertisement Banner

२४ आइतबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

हामी कस्ता मुलुकबासी ?

०४ सोमबार , बैशाख २०८०३ बर्ष अगाडि

शाश्वत शर्मा - -
हामी बेहोसी हालतमा छौं । यथास्थिति ज्यादै खराव छ । बुझेर चुपचाप बसेका छौं । मुलुक अस्तित्वको संकटमा छ, भाँडभैलोबाट मुलुकलाई कसरी सकुसल निकाल्ने ? कुनै दह्रो नेतृत्व देखा पर्छ कि पर्दैन ? प्रश्न अनेक छन् ।
नयाँ वर्ष २०८० को अवसरमा मिडिया, सामाजिक सञ्जालमा ज्योतिषी भविष्यवाणीले भरपुर मनोरञ्जन दिइरहेका छन् । रोजगारी छैन, कलकारखाना केही छैन, निर्यात शून्य छ, व्यापार आधाआधी बन्द भइसके, दैनिक हजारौं युवा वैदेशिक रोजगारीमा गइरहेका छन्, नियमको पालना हुन्न, भविष्य अनिश्चित छ, हातमुख जोड्ने समस्यामा नेपाली पुगिसके । यो सबै थाहा पाएर पनि नागरिक मौन छन्, ज्योतिषहरू काल्पनिक भविष्यवाणी गरिरहेका छन् । आश्चर्य, जनता बोल्दैनन् । सुधारको गुन्जाइस नदेखिदा पनि नबोल्ने जनताले अरू दुःख पाउने पक्का छ ।
राजनीतिक दलहरू चितवन, तनहुँ, बाराको उपनिर्वाचनमा लागेका छन् । आन्तरिक रूपमा शासन व्यवस्था यही हो, अदालतको बेहाल देखिएकै छ, मित्रराष्ट्र र छिमेकका क्रियाकलाप अपाच्य हुँदै बढेका छन् । अब त पूर्वराजा जनतालाई बुझाएको नासो फिर्ता लिएर राष्ट्रको बेहाल अवस्था सुधार्न अवतरित होलान् कि भन्यो सन्देशमा क्रान्तिकारिता छ, पीडा छ, उपचारमा निस्कृयता देखिन्छ । साह्रै आक्रोसित नागरिक भन्छन्– राजस्व उडाउने क्रम जारी छ, अयोग्य लडाकुलाई पैसा बाँडिदैछ, जनयुद्धका पीडितलाई राहत छैन, पीडकलाई माफी दिने तैयारी जोडतोडमा भइरहेको छ, विदेशी ऋणमा बनेका भैरहवा, पोखरा एयरपोर्ट गुल्जार हुनसकेनन्, अन्य राष्ट्रिय प्राथमिकताका योजनाहरूको हालत पनि त्यस्तै छ । प्रत्येक नेपालीको थाप्लोमा ७८ हजार ऋणको भारी पुगिसक्यो, न संसद, न नागरिक समाज, न सरकार, न बुद्धिजीवी, न आमजनता कोही पनि बोल्दैनन् । बजारमा पैसा छैन, बैंक राखेको निक्षेप फिर्ता दिदैन, लघुबित्तदेखि सहकारीको भागमभाग छ । हरेक क्षेत्रमा भ्रष्टाचार र अनियमितताले राष्ट्रिय अर्थतन्त्र, सामाजिक जीवन, राजनीतिक र कूटनीतिक क्षेत्र सबै तहसनहस भइसके । विश्वासको वातावरण प्रदूषित बनिसक्यो । उदाउँदा नयाँ नेतृत्व पनि विवादित बन्नपुगे । यो अवस्थामा आधार र आशा भनेको पूर्वराजाको थियो । पूर्वराजाका बोली, सन्देशमा राष्ट्र जुरूक्कै हुने खालका भावधारा हुन्छन् । तर बोलेपछि पूर्वराजा चूप लाग्ने, आमनागरिकले सुन्ने र एकछिन तातेर सेलाउने । नैराश्यता बाढीजसरी बढेको छ । नैराश्यतालाई जागरूकतामा रूपान्तरण गर्ने नेतृत्व नभएकाले पार्टीहरूले फुटाउ र राज गर को शैलीमा जनतालाई पार्टी पार्टीमा बिभाजन गरेका छन् । बिकृतिका बिरूद्ध ठोस कार्यक्रमसहित दह्रो खुट्टा टेक्ने एकजना पनि देखिदैन । अनि जनता पनि तिनै भ्रष्ट नेता कार्यकर्ताको पछाडि नलागेर गरून् के ? जो सोझा छन्, ती शोषणको सिकार भएर सकस बेहोरिरहेका छन् । गर्मीले तातेको सडक र शोषणले शोसिएका आमनागरिकको मनोदशामा कुनै भिन्नता छैन । यस्तो बेलामा एक ज्योतिषीले फलादेश गरेका छन्– नयाँ वर्ष २०८० पूर्वराजाका लागि फलिफापपूर्ण छ रे । भाग्य छ भन्दैमा डोकोमा दूध दोएर अड्ने भए यी ज्योतिषले भनेको मिल्थ्यो होला । कर्म गर्नुपर्छ भनेर यी ज्योतिषले भन्न बिर्सिए । राजाका लागि के फलिफाप हुन्छ त्यो उनै ज्योषित जानुन, विश्वास गर्नेहरूले बुझुन्, बाली भित्र्याउन बाली लगाउनु पर्छ, गोडमेल गर्नुपर्छ, मलजलको व्यवस्था पनि गर्नुपर्छ भन्ने कुरा सत्य हो । निर्मल निवासमा अथवा झापामा बसेर अथवा सुनसरीमा नागरिक अभिनन्दन स्वीकार गरेरमात्र नेपालमा न हिन्दुराष्ट्र आउँछ, न राजतन्त्रको पुनस्र्थापना नै हुन्छ ?  पूर्वराजाले निस्कनैपर्छ, आमनागरिकको बुद्धिबंगारो पलाउनै पर्छ । राष्ट्रघातीसँग रमाउने होइन, तिनलाई सवक सिकाउन अग्रसर हुनैपर्छ । ज्योतिषीका भर पर्दा अहिलेसम्म दुःख पाएका जनताले आउने दिनमा पनि दुःख नै पाउने हो । भर आक्रोसमा, आन्दोलनमा, विद्रोहमा गर्नुपर्छ । तबमात्र विधिको शासन र सुशासन देख्न, भोग्न पाइनेछ । अझै चेत नखुल्ने हो भने दुःखको पहाडले थिच्नेछ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले भैरहवा पुगेर घोषणा गरिदिए– छिटै नागरिकता विधेयकले स्वीकृति पाउने छ । उनै काजी काठमाडौं आएर राजधानीकी उपमेयरलाई म पनि अविवाहित भनेर ठट्टा गर्न भ्याए । यस्ता पुङ्माङ्गेहरूले देशलाई धर्मशाला नै बनाउने भए, विदेशीलाई नागरिकता खुलेआम बाँड्ने भए । मुलुक अफगानिस्तान, फिजी, सिक्किम अनि युक्रेनेको बाटो लाग्यो । नेताका चिप्ला भाषणबाजी र चुनावका चुटकिला सुनेर रमाउने हामीले सत्य बुझ्ने कहिले ? अर्थतन्त्र टाट पल्टिन लागिसक्यो, विदेशी हस्तक्षेप चरमचुलीमा छ, प्रधानमन्त्रीलाई भारत भ्रमण कसरी गर्ने भन्ने चिन्ता छ, सत्तारूढ १० दललाई सत्ता टिकाउने, प्रतिपक्षीलाई गठबन्धन तोड्ने चटारो उत्तिकै छ । अब जे हुन्छ, वैशाख १० को उपनिर्वाचनपछि हुनेछ । जे हुनेछ, त्यो राष्ट्रघात हुनेछ । विदेशीहरूले यो गठबन्धन सरकारबाट अनुकूल वातावरण मिलाउँदै छन् । हामी कस्ता मुलुकवासी ?