भारतको उत्तर प्रदेशका पूर्व सांसदका दुई दाजुभाईको गोली हानी हत्या भएको छ । र्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या गरिएको हो ।
पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला गोली प्रहार भएको बताइएको छ । उनीहरुलाई गोली लागेको भिडियो फुटेज पनि टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थियो ।
पत्रकारहरुको भिड भित्रबाट अज्ञात व्यक्तिले निकै नजिकबाट टाउकोमा गोली हानेको समचारमा उल्लेख गरिएको छ । गोली हानेकाहरुले घटनास्थलमै प्रहरीसामु आत्मसमर्पण गरेको समेत बताइएको छ । मृतकलाई १० भन्दा बढी गोली लागेको छ भने घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
घटनापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उक्त गम्भीर घटनाको छानविनका लागि तीन सदस्यीय उच्चस्तरीय अनुसन्धान आयोग गठन गरेका छन् । मुख्यमन्त्रीले सुरक्षामा चनाखो रहन र शान्ति सुव्यवस्था खलबलिने गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् ।
पूर्व विधायक राजु पालको सन् २००५ को जनवरीमा भएको हत्याका प्रत्यक्षदर्शी उमेश पाललाई अपहरण गरेर वयान नदिने कागज गराएर छाडेको आरोप अतिक अहमदमाथि लागेको थियो । तर सन् २००७ मा उमेशले प्रयागराजको धुमनगञ्ज प्रहरीमा आफूलाई अपहरण र यातना दिएको भन्दै अतिकविरुद्ध उजुरी दिएका थिए ।
उक्त मुद्दामा सन् २४ फेब्रअुरी २०२३ मा बयान दिएर फर्किइरहेको बेला उमेशको गोली हानेर हत्या भएको थियो । उनको हत्यामा अतिकका छोरा असद अहमद संलग्न भएको र असद अहमद र उनका साथी मोहम्मद गुलाम पनि प्रहरी इन्काउन्टरमा मारिएका थिए ।