बागदरवारमा रहेको काठमाडौं महानगर र सिंहदरवारमा रहेको सरकार अर्थात बाघ र सिंहवीच सिङ्गौरी चलिरहेको छ । बागदरवार भन्छ– महानगरलाई सहयोग गर्नुप¥यो, दिएका ज्ञापनको संवोधन हुनुप¥यो अन्यथा सिंहदरवारभित्रको फोहर फालिने छैन । सिंहदरवार भन्छ– फोहर फाल्दिन भन्न पाइन्न । गृहमन्त्री नारायणकाजी श्रेष्ठले त उपमेयरलाई गुहार लगाएर फोहर फालिदिन अनुरोध समेत गरेका छन् । अर्थात् बाघ र सिंहको सिङ्गौरीमा कसको सिङ भाँचिने हो । माघे संक्रान्तिमा नुवाकोटको तारुकेमा गोरु जुधाई हुन्छ, दोस्रो आवधिक निर्वाचनपछि संघीय र पालिका सरकारवीच विवाद चुलिएको छ । मन्त्रिपरिषदले दिएको निर्देशनलाई समेत महानगरले अटेरी गरेर चट्टानी अडानमा उभिएको छ ।
हुन त आमनागरिकको दृष्टिमा सिंहदरवार भनेको भ्रष्टाचार र अनैतिकताको फोहरको थुप्रो नै हो । फोहर थुपार्ने सिंहदरवारभित्रै हो भन्ने धारणा गरेको छ । तथापि मेयरलाई सहयोग नगर्नु र मेयरले सरकारको निर्देशन अटेरी गर्नु उचित होइन । सरकारले पनि महानगरलाई व्यवस्थित पार्न सुझाव र सहयोग गर्नैपर्ने दायित्व हुन् ।
मेयर बालेन शाहले यो सरकार चीन र भारतको सरकार भनेर सामाजिक सञ्जालमा लेखेका छन् । त्यसो भए उनी चाहिं कसको सरकार चलाइरहेका छन् ? मेयर आफैले सोच्नुपर्छ, महानगरको आफ्नै भवनसम्म छैन । बिरालाले बच्चा सारेझैं ठूला मलहरुमा महानगरका कार्यालय सार्दै हिड्नु परेको छ । यो पनि कम आपत्तिपूर्ण यथार्थ होइन ।