Advertisement Banner
Advertisement Banner

३० बिहिबार, माघ २०८२10th February 2026, 12:33:31 am

वायु प्रदूषन बढेसंगै विशेष सावधानी अपनाउन आग्रह

२९ बुधबार , चैत्र २०७९३ बर्ष अगाडि

देशको विभिन्न भागमा लागेको डढेको कारण वायु प्रदूषण बढेसंगै सरकाले सावधानी अपनाउन आग्रह गरेको छ । वायु प्रदूषण बढेर आकाश धुम्म हुन थालेपछि सरकारले चेतावनी सहित सावधानी अपनाउन आग्रह गरेको हो ।

काठमाडौं उपत्यकालगायत मुलुकको मध्य र पूर्वी भागमा वायु प्रदूषणको मात्रा बढेको र जनस्वास्थ्यलाई हानी गर्ने अवस्था देखिएपछि वातावरण विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामीलाई सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको हो। 

गर्मी बढेसँगै देशभर १ सय ४० भन्दा बढी स्थानमा डढेलो लागेको र सुक्खाका कारण धुलो बढी उड्दा वातावरण प्रदूषण भएको बताइएको छ ।  बिहान र बेलुका प्रदूषणको मात्रा अत्यधिक बढेकाले  उमेर समूहका व्यक्तिलाई पनि घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

काठमाडौंको शंखपार्कस्थित वायु प्रदूषण मापन केन्द्रमा बुधवार साँझ एयर क्वालिटी इन्डेक्स (वायुको गुणस्तरको मात्रा) २०२ माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो। यो सूचकांक हावामा रौँभन्दा झन्डै तीन गुणा मसिना प्रदूषित कण पार्टिकुलेट्स म्याटर (पिएम–२.५)मा मापन गरिएको बताइएको छ । 

त्यस्तै भैंसेपाटीमा १७७, खुमलटारमा १६९ र हेटौँडामा ११८ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । तर, तराईलगायत अन्य सहरको वायु मापन केन्द्रको तथ्यांक उपलब्ध नभएको र त्यहाँको वायु प्रदूषणको मात्रा पनि थाहा हुन सकेको छैन् ।

विभागले वन डढेलो नियन्त्रणका लागि सरोकारवाला निकायसँग हातेमालो गर्न र फोहोरजन्य वस्तु नबाल्न आमसमुदायलाई अपिल गरेको छ । विभागले वायु प्रदूषण मौसममा पनि भर पर्ने र डढेलोको अवस्था यस्तै भइरहेमा उच्च प्रदूषणको जोखिम बढ्ने हुनाले विशेष सावधानी अपनाउन आमसर्वसाधारण सबैका लागि विज्ञप्ती मार्फत जानकारी दिएको छ ।