बरिष्ठ अधिवक्ता शिव सिग्देल - -
बोर्डिङ स्कूलहरू पैसाको बोरिङ हो, जसबाट ह्वालह्वाली पैसा निस्कन्छ । सामुदायिक स्कूलमा सत्ता र सरकारमा बस्नेहरूले आफ्ना सन्तानलाई पढाउनै पर्ने नाराबाजी लगाउनेले लगाए, तर त्यो निर्णय कहिले पनि कार्यान्वयन हुनसकेन । जुन स्कुलमा पढेको छ, त्यही स्कूलमा वर्षैपिच्छ भर्ना हुने भनेको के हो ? योभन्दा ठगीधन्दा अरू हुन्छ कि हुन्न ?
यतिमात्र होइन, दुई महिना बिदा भयो, बच्चा घरमा आएर बसेको छ, स्कूल जाने बेला भयो, स्कूलले बील पठाएको छ । बिदा भएको महिनाको पनि खाना, बस्ने, सरसफाइदेखि सबै प्रकारका बिल पहिले चुक्ता गर्नुरे । योभन्दा निर्लज्ज धन्दा अरू के हुन्छ ? यस्ता स्कूलले कस्तो नैतिक शिक्षा दिन्छ होला, अचम्म लाग्छ ।
एक त पाठ्यक्रममा नैतिक शिक्षा, संस्कृतको शिक्षा हटाउने काम भयो, नेपालीलाई समेत कतिपय स्कूल, क्याम्पसमा ऐच्छिक बनाइएको छ । हुन त स्कूल, क्याम्पसदेखि विश्वविद्यालयसम्म राजनीतिक पार्टीका कार्यकर्ता उत्पादन गर्ने कारखाना बनाउने पार्टीको धन्दाले शिक्षाको गुणस्तर खस्किनु स्वभाविक हो, शिक्षामा यस्तो लापरवाही विश्वका कुनै पनि मुलुकमा हुँदैन ।
एक जमाना थियो, पास फेल जे भए पनि धेरै पढ्नु भनेर पढ्न उत्साह दिइन्थ्यो र असल बन्नु भनिन्थ्यो । अहिलेको शिक्षाले असल होइन, अब्बल नम्बर ल्याउने घोकन्ते शिक्षामात्र दिइरहेको छ र पैसा अशुलिरहेछ । कक्षा पास गर्नुमात्र शिक्षा होइन, तर नेपालको शिक्षा जसरी पनि पास गराउने, प्लस टु पास गरेपछि विदेश निकासी गर्ने शिक्षा हुनपुगेको छ । नेपाल युवा निकासी गरेर अर्थतन्त्र धानिरहेको छ । रेमिटान्सले विकास भएको मुलुक संसारमा छैन तर नेपाल...।
स्कूलभन्दा ठूलो व्यापार अरू के हुनसक्छ, नेपालमा ? त्यसो त कुनै बेला सुन तस्कर भनेर चिनिने कालु मनांगेदेखि ठूले तस्करसम्मले स्कूल खोलेर सुती सुती अत्यधिक कमाइरहेका छन् ।
यो देशको शिक्षाका ३ हस्तीहरू बाबुराम पोखरेल, गीता रानादेखि उमेश श्रेष्ठसम्मले ५ करोडभन्दा बढी चन्दा दिएर सांसद भए । एउटा स्कूल सञ्चालकले ५ करोड चन्दा ँग ठगेरै हो, कुन हदको ठगी हुँदोरहेछ ? उमेश श्रेष्ठ त कांग्रेसका भित्रिया बने, मन्त्री बने, गत निर्वाचनमा चितवनबाट चुनाव पनि लड्न भ्याए, जितेनन्, त्यो अर्कै कुरा हो । अझै उनी सकृय कांग्रेस हुन् । शिक्षा, सहकारी र लघुवृत्त सबैतिर ठूला पार्टीका नेतादेखि कार्यकर्तासम्मको हालीमुहाली छ, त्यसैले त आम जनता ठगिएका छन् । कुनै पनि बेला नेपालको अर्थतन्त्र धरासायी हुने खतरामा परिसक्यो ।
शिक्षा व्यापार बनेको छ । स्कूल ज्ञान मन्दिर हुनुपर्ने हो, माफियागिरी पो चलिरहेको छ । टाई र सुट लगाइदियो, नेपाली विषय जेसुकै होस्, अंग्रेजी बोल्न सिकाइदियो, जति लुटे पनि भयो । यो लज्जाको विषय हो, तर कम्युनिष्ट–कांग्रेससहितको दश दलको गठबन्धन सरकार जनतामाथिको, देशमाथिको शोषण र घात टुलुटुलु हेरिरहेको छ किन ? लोककल्याणकारी राज्य यस्तै हुन्छ र ? कम्तिमा जनताप्रतिको जिम्मेवारी त निर्वहन गर्नुपर्ने होइन र ?
चुरो कुरो शिक्षा र स्वास्थ्यमा सबैभन्दा ठूलो लगानी र व्यवसाय कम्युनिष्ट नेता कार्यकर्ताकै रहेछ । हुन त कांग्रेस र अन्य दलका नेता पनि राजनीतिको आडमा व्यवसाय चलाउन कम्तिका छैनन् । बोलु भने बोल बोल मछली मुखभरि पानी । बोल्दा पार्टीमा अलोकप्रिय भइने, नबोल्दा चन्दा आउने, भोट बैंक पनि बलियो रहने । कम्युनिष्ट सरकार त्यसै कमाउनिष्ट नेतृत्व र पटक पटक सत्तामा पुगेको होइन । त्यसो त शिक्षालयलाई हरेक दलले सख्यअनुसार भोट बैंक बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।
व्यापारमुखी शिक्षालयले केही व्यक्ति मोटाउने र देशको भविष्य अन्धकार पार्ने दुस्कर्म गरिरहेको छ । जब शिक्षालयमा नैतिक शिक्षालाई महत्व दिइन्न, देशको भविष्य कसरी उज्यालो हुनसक्छ ? यसतिरको सोच छैन ।
शिक्षा ऐन छ, कसले पालना गरेको छ ? एउटा जाबो प्रश्नपत्रको सुरक्षा गर्न नसक्ने शिक्षा मन्त्रालयको शिक्षा विकासको गफमात्र हो । शिक्षा कम्युनिष्ट सिण्डिकेटमा चलिरहेको छ, सिण्डिकेट शिक्षा भनेको दलाली थलो हो । दलाली थलोका कारण नेपालको भाग्य र भविष्य अन्धकार बन्दैछ ।