भक्तपुरमा मनाईने बिस्केट (बिस्काः) जात्रा आजबाट शुरु हुदैछ । आठरात नौ दिनसम्म मनाइने यो जात्रा आज बेलुकी देखि शुरु हुन लागेको हो ।
आज साँझ भक्तपुरको तौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरूवात गरिने प्रचलन रहेको छ । जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिने गरिन्छ ।
आज तानिने रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा रहदै आएको छ भने तौमढीबाट गःहिटी सम्म पुर्याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन रहँदै आएको पाईन्छ ।
लिच्छविकालदेखि मनाउन सुरु भएको यो जात्रा वैशाख १ गते नयाँ वर्ष भन्दा चार दिनअघि देखि वैशाख ५ गते सम्म मनाइने परम्परा रहेको छ । भैरवनाथको रथ तानेर सुरु गरिने यो जात्राको अन्त्य पनि भैरवनाथकै रथ तानेर गरिन्छ ।
विषेश गरि भक्तपुरमा मनाईने यो पर्व जिब्रो छेडने जात्राको रुपमा समेत परिचित छ ।