उपत्यकाको विभिन्न सडकमा गरिएको ट्राफिक सचेतना कार्यक्रममा ६ सय ८६ जना चालक सहभागी भएका छन् । हिजो काठमाण्डौं, भक्तपुर र ललितपुरको सडकमा सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
काठमाडौँ उपत्यकाकाको विभिन्न स्थानका सडकमै पुगेर ट्राफिक प्रहरीले कार्यक्रम सञ्चालन गरेको थियो । सचेतना कार्यक्रममा काठमाडौं उपत्यकाको कालिमाटी क्षेत्रमा १ सय ५०, थापाथलीमा ४८, सोह्रखुट्टेमा ४०, साँखु र कीर्तिपुरमा ३०–३०, ललितपुरको सातदोबाटोमा ५७ र भक्तपुरको कमलविनायकमा १ सय १०, र नगरकोटमा ६०, जनालाई सडक सचेतनामा सहभागी गराइएको थियो ।
त्यस्तै गोँगबुको नयाँबसपार्क, कपन, भक्तपुर, नेपालटारमा २५–२५ जना, फर्पिङमा २०, काँडाघारीमा १७, कमलपोखरीमा १५ र टोखामा नौसहित छ सय ८६ चालकलाई सडक सुरक्षाको सचेतना उपलब्ध गराइएको हो ।
कार्यक्रममा मादक पदार्थ सेवन, लागुऔषध सेवन र ढोका खुला गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसबाट हुने धनजनको क्षतिका विषयमा चालकलाई जानकारी गराइएको थियो ।
त्यस्तै तीव्रगति, आरक्षण सिट, रातो बत्ती, फुटपाथ पार्किङ, सडक लेनलगायतका विविध ट्राफिक नियम तथा कानुनका बारेमा पनि सजग गराइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले समय अभावलाई मध्यनजर गरी अन द स्पोट चेतनामूलक कार्यक्रम गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन् ।
सडक संस्कारको अभिवृद्धि र दुर्घटना न्यूनीकरण गर्न विभिन्न अभियान नै चलाएर उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयले चालकसहित सडक प्रयोगकर्ता लक्षित चेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।