प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेको बताएका छन् । श्री नं ९ बाहिनी अड्डाअन्तर्गत रामेछापको मन्थलीमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमा बोल्दै देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको रक्षा गर्नु नेपाली सेनाको संवैधानिक दायित्व रहेको बताए । उनले सेनाले विकास निर्माण तथा पर्यावरण संरक्षणमा योगदान गर्दै आएको पनि कार्यक्रम मार्फत जानकारी गराएका थिए ।
नेपाली सेनाले सयुक्त राष्ट्रसंघ अन्तर्गत विश्वशान्ति स्थापनामा ठूलो योगदान गरी विश्वसामु नेपालको प्रतिष्ठा बढाएको उनको भनाई थियो । शर्माले लामो सैनिक जीवनमा प्राप्त ज्ञान र सीपलाई आफू बसोबास गरिरहेको स्थानमा प्रयोग गर्दै सदैव राष्ट्रको हित र नेपाली जनताको सेवामा आ–आफ्नो क्षेत्रबाट समर्पित रही आफूलाई सदैव एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकका रुपमा प्रस्तुत गर्न आग्रह गरेका छन् । उनले भूतपूर्व सैनिकको जीवनलाई थोरै भए पनि सरल, सहज र सुखी बनाउन नेपाली सेना प्रयत्नशील रहने बताए ।
कार्यक्रममा सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले कल्याणकारी गतिविधिलाई सरल, सहज र बिस्तार गर्न निरन्तर प्रयास भइरहेको बताउँदै सम्मेलनले भूपु सैनिकबीच आपसी भेटघाट र मिलन हुने धारणा व्यक्त गरेका थिए । कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तन्डुलले सेनामा हिताधिकारीको आयआर्जनका नयाँ क्षेत्र पहिचान गर्दै लगानीमार्फत कल्याणकारी कार्यमा नयाँ सोचका साथ अघि बढ्नु पर्ने बताए ।
सेनाको श्री नं ९ बाहिनी अड्डाअन्तर्गत रामेछापमा स्थायी बसोबास गर्ने भूपु सैनिकका लागि लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन, २०७९’ कार्यक्रम आयोजना गरिएको हो । दोलखा र सिन्धुलीमा समेत उक्त जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि भूपु सैनिक सम्मेलन आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सम्मेलन आयोजना भएको हो । भूपु सैनिकको कल्याणकारी कार्यलाई समन्वय गर्ने उद्देश्यले विसं २०७० असोज २१ गते नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएको हो।
नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएसँगै नेपाली सेनाले मुलुकका विभिन्न क्षेत्रमा निरन्तररुपमा भूपु सैनिक सम्मेलन गर्दै आएको छ । हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपु सैनिकको संख्या ८१ हजार ६४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
त्यसैगरि पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको संख्या १५ हजार ८७२ रहेको छ । सबैगरी कूल निवृत्तिभरण उपभोग गर्नेको संख्या ९७ हजार ५१५ जना रहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले कार्यक्रममा जानकारी दिएका थिए ।
सम्मेलनमा भूपु सैनिकका प्रतिनिधिद्वारा मार्च, झाँकी प्रदर्शन,सामूहिक नृत्य, पिटी र सैनिक ब्याण्ड प्रदर्शन, ज्येष्ठ सैनिक सम्मान, ‘ह्वील चियर’ तथा बैसाखी वितरण, चार भन्दा बढी सन्ततिलाई सेनामा प्रवेश गराउने आमा÷बाबुलाई सम्मान, शताब्दी पुरुष÷महिला सम्मान र अन्तक्र्रिया तथा छलफलसमेत गरिएको थियो।