डा. केशव देवकोटा - -
नेपालको राजनीतिमा बिचित्रका गतिबिधि देखिएका छन्भने बिचित्रका बिचारहरू पनि सुनिन थालेका छन् । यसैक्रममा गतसाता ललितपुरमा आयोजित एक श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले बोलेका केही कुराहरू बाहिर आएका छन् । जसमा उहाँले नेपाली जनताको हातमा सत्ता आई नसकेकाले अझै क्रान्ति जरूरी रहेको र सत्ता जनताको हातमा आउन बाँकी नै छ, क्रान्ति फेरि एकपटक हुन्छ तर त्यो पुरानो तरिकाले होइन नयाँ तरिकाले हुने बताउनु भएछ । त्यो कार्यक्रम नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाद्वारा आयोजित भएकाले महराले सो समूहलाई उत्तेजित बनाउन उक्त कथन अगाडि सार्नुभएको आफैमा स्पष्ट छ । त्यसैगरी उहाँले माओवादीहरूको फुट र बिभाजन कसैको इच्छा र मनलेमात्रै नभएको उल्लेखगर्दै साम्राज्यवादको षड्यन्त्र र योजनामा भएको पनि बताउनु भएको सुनियो ।
उहाँको भनाईअनुसार ‘नेपालमा विदेशी हस्तक्षेप बढेको र आफूले देशको शासन गरेको भनेपनि पर्दा पछाडिबाट अर्कैले गरिरहेको कुरा पार्टीका अध्यक्ष तथा देशका प्रधानमन्त्रि पुष्पकमल दाहाललाई पनि जानकारी रहेको छ । त्यसबारे नेकांका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि थाहा छ ।’ माओवादी निकटका केही सञ्चार माध्यमहरूले महराको उपरोक्त भनाईलाई महत्वकासाथ आफ्नो प्रकाशनमा स्थान दिएका छन् । तर महराको भनाईमा केही सम्पादन गर्नुपर्ने देखिएको छ । त्यो के भने नेपालको जनक्रान्तिलाई धोखादिने मुख्य पात्र माओवादी केन्द्रका अध्यक्ष तथा हालका प्रधानमन्त्रि दाहाल र कम्युनिष्ट पार्टी तथा राजनीति छाडिसकेका पूर्ब माओवादी नेता डा. बाबुराम भट्टराई हुनुहुन्छ । उहाँहरूले ०६२ मंसिर सातगते भारतको नयाँ दिल्लीमा गरेको १२ बुँदे सहमतिपछि नेपालमा विदेशी हस्तक्षेप घनिभूतरूपले अगाडि बढेको छ । यतिबेला माओवादी केन्द्र उ आफैले ०६३ अघि भन्ने गरेको ‘सामन्तवादी राजनीतिको नाइके नेपाली कांग्रेससँग देशीय रूपमा र भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवाद’सँग अन्तर्राष्ट्रियरूपमा सहकार्यमा रहेको छ । यसरी सो पार्टीले दोहोरो चरित्र प्रदर्शन गरिरहेको छ ।
एकातिर महरा लगायतका सत्ता बाहिर रहेका नेताहरू अझै क्रान्ति नसकिएको र सत्ता हातमा आइनसकेको बताइरहनु भएको छ भने अर्कातिर सोही पार्टीका अध्यक्ष दाहाल । नेकां र भारतबाट आफू टाडा हुनैनमिल्ने अवस्था रहेको’ बताउँदै आउनु भएको छ । ब्यवहारिकरूपमा पनि दिल्लीमा भएको १२ बुँदे सहमतिमा माओवादीले आफूलाई पूर्णरूपमा संसदीय राजनीतिमा समर्पित गराउने लिखित प्रतिबद्धता ब्यक्त गरेको देखिएको छ । ०६३ पछि तत्कालीन माओवादीको नेतृत्वले आफ्नै पार्टीबाट क्रान्तिकारी बिचार राख्ने मोहन बैद्यलगायतका नेताहरूलाई किनारा लगाउने र नेकपा संयुक्तजस्ता पार्टीहरूलाई भित्र्याउने काम गरेको छ ।
नेकांसँगको कार्यगत एकतालाई पनि टुट्न दिएको छैन । पछिल्लो समयमा सो पार्टीमा ब्यक्तिवादी प्रबृत्ति हाबि बन्दैगएको पनि स्पष्ट छ । अध्यक्षका आफन्त र प्रशंसकहरूले जताततै प्रश्रय पाएका छन्भने क्रान्तिकारी बिचार राख्ने र पार्टी पद्धतिको कुरागर्नेहरूलाई किनारा लगाउने कामहरू भएका छन् । अध्यक्षले चयन गरेका पदाधिकारीहरूमा सिनियरलाई पछाडि र जुनियरलाई अगाडि पारिएका कारण पार्टीको काममासमेत ब्यवधान सिर्जना भएको देखिएको छ । स्वयं महरासमेत अध्यक्षको कोपभाजनमा परेको चर्चा हुनेगरेको छ । सो पार्टीले गतबर्ष ०७८ असारबाट नेपाली कांग्रेससँग दीर्घकालीन रूपले कार्यगत एकतागर्दै इन्डो पश्चिमा शक्तिमा आफूलाई समाहित गरेपछि नेपालमा बिचित्रका राजनीतिक घटनाहरू भैरहेका छन् । माओवादी केन्द्रका अध्यक्षको बिशेष पहल र चातुर्यमा बिवादास्पद अमेरिकी योजना एमसीसी नेपालको संसदबाट पारित भएको नाटकीय घोषणा गरिएको थियो । जबकी त्यतिबेला कुन पार्टीका कतिजना सांसदले हस्ताक्षर गरेर संसदबाट एमसीसी पारित भएको थियोभन्ने कुरा हालसम्म कसैले पनि बताउन सकेका छैनन् । यद्यपि अमेरिकाले बर्तमान सरकारको साथ सहयोगमा एमसीसीको कार्यान्वयनलाई तीब्ररूपमा अगाडि बढाएको छ । नेकां र एमालेले चाहेका भए त्यसअघि नै एमसीसी पारित गर्नसक्ने अवस्था थियो । तर एमालेले आलटाल गरेपछि माओवादी केन्द्रका अध्यक्षको अगुवाईमा एमसीसी पारित भएको नाटकीय घोषणा हुनसकेको थियो । गत बर्ष नेपालमा चिनियाँ टोलीसँग वार्ता भएको भोलीपल्टै अप्रत्याशितरूपमा दिल्ली पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष दाहालले भाजपाजस्तो दक्षिणपन्थी पार्टीसँग कार्यगत एकतागर्ने लिखित सहमति गर्नुभएको थियोभने मुख्य त भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग उहाँकै निवासमा पुगेर झण्डै दुईघण्टा अन्तरंग कुराकानी भएको देखिएको थियो । जहाँ नेपालका पूर्ब प्रधानमन्त्रि दाहाललाई भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले भेटसमेत दिनुभएको थिएन । तर पनि अध्यक्ष दाहालले आफू डोभालसँगको वार्ताबाट सन्तुष्ठ रहेको बताउनु भएको थियो । त्यसपछि नागरिकता लगायतका कतिपय एजेण्डाहरू नेपालको संसदबाट पारित गराउन जोरजुलुम पनि भएको थियो । माओवादी केन्द्रसमेत सम्मिलित सरकारले रूस–युक्रेन युद्धमा दुई पटक युक्रेनको समर्थन गरेर आफूलाई नेटोको पक्षमा उभ्याएको थियो । यि अन्तराष्ट्रिय खासगरी भारत र अमेरिकासँगको संलग्नताका सामान्य उदाहारणहरू मात्र हुन् । त्यसैले नेपालमा विदेशी हस्तक्षेप किन र कसरी भैरहेको छभन्ने कुराको दाहाल, देउवा र नेपाललाई भरपुर जानकारी हुनैपर्छ भन्ने धेरैले आंकलन गर्नेगरेका छन् । यसरी देशीयरूपमा सामन्तवाद र वैदेशिकरूपमा साम्राज्यवादको संरक्षणमा माओवादी केन्द्र आफै प्रयोग भएको देखिएको छ । माओवादी केन्द्रका अध्यक्षको पहलमा ०७८ असारमा नेपाली कांग्रेससहितको पाँच दलीय सत्ता गठबन्धन बनेको थियो । उहाँको अकस्मिक भारत भ्रमणपछि सोही गठबन्धन भित्रका तीन दलले भारत समर्थितहरूको मात्र तीनदलीय उपगठबन्धन बनाउने प्रयास गरेको देखिन्थ्यो । जुन प्रयास हालसम्म पनि जोडतोडले जारी छ ।
यस परिघटनाले पनि नेपालमा विदेशी हस्तक्षेपकाबारेमा केही संंकेतहरू गरेको मान्नुपर्दछ । माओवादी केन्द्रले पछिल्लो समयमा नेता महरासमेतको समिति गठन गरेर मिल्नेसँग पार्टी एकतागर्ने, नभए सहकार्यगर्ने र त्यो पनि नभए कार्यगत एकतागर्ने नीति बनाएको थियो । तर कसैले पनि सो पार्टीसँग एकता, सहकार्य र कार्यगत एकतागर्न चाहेनन् । पार्टीमा माओवादको साटो चरम अवसरवाद हाबि हुँदैगएको र कुनै पनि पार्टी, नेता वा कार्यकर्ताले कुनै पनि बेला धोखाघडी ब्यहोर्नुपर्ने भएका कारण यस्तो अवस्था आएको हो । पछिल्लो समयमा माओवादी केन्द्रको नेतृत्वमा रहेका केही नेताहरूले सत्ता र शक्तिका लागि आफ्नै पार्टीको पनि अबमूल्यन गरेको र जनस्तरमा बिश्वास गुमाउँदै गएको देखिएको छ । हुँदा, हुँदा पछिल्लो समयमा अन्य माओवादी समूहहरूसमेत हच्किएका देखिन्छन् । माओवादी केन्द्रले चैतभित्रमा सकिनेगरी पार्टीको बिस्तारका लागि दुई महिने अभियान सञ्चालन गरेको थियो । जस अन्तर्गत जनताको घर घरमा गएर पार्टीको नीति तथा कार्यक्रमकाबारेमा बुझाउने र जनतामा पार्टीप्रति रहेका भ्रमहरूको निवारणगर्ने भनिएको थियो । तर कस्तो भयोभने जनसाधारणको घरमा त के आफ्नै पार्टीका सदस्य र कतिपय पुराना नेताहरू कहाँ समेत कोही पनि पुगेनन्, पार्टीको सिद्धान्त र ब्यवहारमा फरक परेका कारण कसलाई के बताउने ? भन्ने धेरैलाई समस्या परेको देखिएको छ । चुरो कुरो यही हो ।
जसलेगर्दा कुनैबेला जनयुद्ध सञ्चालन गरेको भनिएको पार्टी माओवादी हाल आएर ‘आया राम गया राम’ पार्टीमा परिणत भएको देखिएको छ । माओवादीले ०७२ को संविधानमा उपलब्धीका नाममा समाबेश गराएका संघीयता, जातीय समाबेशी, समानुपातिक लगायत संयुक्त राष्ट्रसंघका घोषित नीतिअनुसारका कुराहरू हुन् । जसले कम्युनिष्ट पार्टीको नीति, मूल्य, मान्यता र आदर्शसँग सामन्जस्यता राख्दैनन् । नेपालका केही कम्युनिष्टहरू ‘कम्युनिष्ट अन्तराष्ट्रिय’को साटो संयुक्त राष्ट्रसंघको नीतिअनुसार परिचालन भएका छन् भने सबैले बुझेहुन्छ ति दक्षिणपन्थी राजनीतिको दलदलमा फसिसके ।
कुनैपनि उग्र क्रान्तिकारी कुनैपनि बेला दक्षिणपन्थी राजनीतिको दल दलमा फस्ने संभावना जहिले पनि हुन्छ । तर दक्षिणपन्थी राजनीतिको दल दलमा फसिसकेकाहरू फेरी नुहाएर अशल क्रान्तिकारी बन्न सक्तैनन् । यो प्रकृतिको नियम हो । त्यसैले नेता महराले ब्यक्त गरेका उपरोक्त कुराहरू सही भएपनि अब माओवादी केन्द्रबाट नेपालमा क्रान्ति हुन्छ र विदेशी हस्तक्षेपको बिरोध हुन्छ भनेर कसैले पनि पत्याउने कुरा हुँदैन । यदि फेरी पनि सही बाटोमा अगाडि बढ्ने हो भने महराजीहरू नेपाली कांग्रेससँग कार्यगत एकता गरिरहेको पार्टीको बर्तमान नेतृत्वसँग अलग हुनुप¥यो । हुनसक्छन् ?
त्यसपछि नयाँ राजनीति र नयाँ परिवर्तनका कुराहरू आउँछन् । अन्यथा जताततै भ्रम सिर्जना गरेर आफ्नो निहित स्वार्थ साधना गर्ने काम नगरौं !