Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

स्वराज्य र मेलमिलापको मार्गचित्र

२० सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

केशवप्रसाद चौलागाईं - 
नेपालको सम्बन्धमा अमेरिका, ब्रिटेन तथा भारतले आपसी समझदारी गरेको पाइन्छ । नेपालको उपस्थितिबिनै सैनिक सहयोगका बारे अमेरिका, ब्रिटेन र भारतले संवाद गरेको तथा लिपुलेकका सम्बन्धमा चीन र भारतले समझदारी गरेको समाचारहरूले नेपालले लिनुपर्ने नीति र कदम अग्रगामी हुनु पर्दछ भन्ने बोध गराउँदछ । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमण पश्चात् नेपालमा इन्डो प्यासेफिक रणनीतिका बारे चर्चा बढेर गएको छ । १७ वर्षपछि अमेरिकामा उच्च तहमा भ्रमण हुनुले नेपालको कूटनीतिक प्रभाव र सफलता पनि झल्किन्छ । तर, विश्व शक्ति राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलित र राष्ट्रहितमा कसरी विनासंशय उपयोगी बनाउन सकिन्छ भन्ने कुराको महत्व छ ।
विशाल दुई छिमेकी राष्ट्र भारत र चीनबीच रहेको नेपाललाई परस्पर द्वन्द्व र प्रतिस्पर्धा गरिरहेका छिमेकीहरूको विश्वास जित्दै विश्वशक्ति अमेरिकासँग सम्बन्ध बढाउनु चानचुने कुरा होइन । कम्युनिस्ट सिद्धान्त अंगालेको नेपालले कम्युनिस्ट विरोधी मानिएको अमेरिकाबाट सैन्य सहयोगसमेत प्राप्त गर्ने कुराले विविध प्रश्नहरू उठ्न सक्दछन् । यस्तो अवस्थामा नेपालले अपनाउनुपर्ने नीति र सिद्धान्तहरू यस्तो हुन सक्छन् भन्ने आशय यस लेखको रहेको छ ।
१) मौलिक राष्ट्रिय सिद्धान्तः  मौलिक नेपाली सिद्धान्तमा नभई बाह्य सिद्धान्तमा खडा भएको पार्टी र नेतृत्व भएकाले मौलिक सिद्धान्तको खोजी गरिनु पर्दछ । नेपाल–अमेरिका नयाँ सम्बन्धमा कम्युनिस्ट सिद्धान्तले विचलन तथा बाधा उत्पन्न गराउन सक्ने भन्ने सामान्य ज्ञान भएकाले पनि बताउने सक्ने कुरा हो ।
त्यसमा पनि छिमेकी चीनको आपत्ति वा आशंका आउना साथ सम्बन्धमा गतिरोध आउने हुँदा मौलिक राष्ट्रिय सिद्धान्तको प्रतिपादन गरिनुपर्ने टडकारो देखिन्छ । सिद्धान्त पनि छिमेकी चीनसँग मिल्ने कुराले अमेरिकासँगको सम्बन्ध दीगो नहुन सक्छ । नेपालको परराष्ट्र सम्बन्धलाई छिमेकीभन्दा अगाडि बढाउन मौलिक सिद्धान्तको पनि आवश्यकतापर्ने कुरा अब नेपाली राजनीतिक दलहरूलाई महसुस हुँदै जानेछ ।
२) रणनीतिक र कूटनैतिक स्पष्टताः भूराजनीतिक महत्व रहेको नेपालप्रति विश्व शक्ति राष्ट्र अमेरिका तथा युरोपियन राष्ट्रहरूको चासो रहनु स्वाभाविकै हो । उत्तरको छिमेकी चीनसँगको सम्बन्ध र दक्षिणको भारतसँगको सम्बन्धलाई सन्तुलित बनाउँदै मुलुकको विकासमा पश्चिमा शक्तिको सहयोग भित्र्याउन रणनीतिक र कूटनीतिक स्पष्टता र व्यवहारिक प्रयोग महत्वपूर्ण हुने हुँदा त्यसको आधारका रूपमा पनि मौलिक सिद्धान्त हुनु जरूरी हुन्छ ।
मात्र सत्ता स्वार्थका हिसाबले रणनीति र कूटनीति विश्वसनीय हुन नसक्नुका साथै एक पक्षीय रणनीतिमा फस्न सक्ने हुँदा चाँडै निक्र्योलमा पुग्नु पर्दछ । नेपालको सम्बन्धमा अमेरिका, ब्रिटेन तथा भारतले आपसी समझदारी गरेको पाइन्छ भने कहिले चीन र भारतले । नेपालको उपस्थितिबिनै सैनिक सहयोगका बारे अमेरिका, ब्रिटेन र भारतले संवाद गरेको तथा लिपुलेकका सम्बन्धमा चीन र भारतले समझदारी गरेको समाचारहरूले नेपालले लिनुपर्ने नीति र कदम अग्रगामी हुनु पर्दछ भन्ने बोध गराउँदछ । यस्तो अवस्थामा मौलिक स्वतन्त्र सिद्धान्तका आधारमा मात्र ठूला शक्ति राष्ट्र र छिमेकीलाई आस्वस्थ बनाउन सकिने हुँदा रणनीति र कूटनीतिको सफलका लागि कदम चालिहाल्नु पर्दछ ।
३) आर्यावर्त र नेपाली रणनीतिः संयुक्त राज्य अमेरिकाले इन्डोप्यासेफिक रणनीति अगाडि सारे झैँ चीनले पनि वान बेल्ट वान रोड अभियान अगाडि बढाउँदै ६० भन्दा बढी मुलुकमा आर्थिक साझेदारीलाई अगाडि बढाए झैँ नेपालले पनि आर्यावर्तको अवधारणालाई अगाडि बढाउनु पर्दछ ।
हिमालयदेखि समुद्रसम्मको सांस्कृतिक अवधारणलाई सुरक्षा अवधारणसँग जोड्दै अगाडि बढाउन सक्दा मात्र नेपालले आफूलाई महत्वपूर्ण स्थानमा बनाइ राख्न सक्नेछ । अन्यथा अरूकै रणनीतिक हिस्सा बन्नुको विकल्प अब नेपालसँग देखिन्न । भारत, चीन र नेपालबीच त्रिदेशीय सम्बन्ध बनाउँदै नेतृत्वकारी स्थापनमा रहन तथा इन्डोप्यासिफिक र रोड एन्ड वेल्ट इनिसियटिभका बीच नेतृत्वकारी भूमिका निभाउन स्वराज्य र आर्यावर्तको अवधारणलाई अगाडि बढाउनु पर्दछ ।
हिमवत् खण्डको ऐतिहासिक पृष्ठभूमि सम्पूर्ण हिन्दूहरूमा आराध्य पशुपति सम्पूर्ण बुद्धधर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथाको देशको नाताले आर्यावर्तलाई आफ्नो रणनीतिकका रूपमा विश्वसमक्ष प्रस्तुत गर्नुपर्दछ । ‘आसमुद्रात्तुवै पूर्वादासमुद्रात्त पश्चिमात् । तयोरेवान्तरं गिर्योरार्यवर्त विदुबुधाः ।।’ पूर्व पनि महासमुद्र र पश्चिम पनि महासमुन्द्र, साँँच्चै ती दुवै समुद्रका बीचका यी पर्वतहरू समेतलाई ऋषिहरूले आर्यावर्त भन्दै रक्षा गर्दै आएका थिए । उत्तरमा हिमालय पर्वत, दक्षिणमा बिन्ध्याचल र यसका मध्यवर्ती देशहरूलाई समेत विद्वान्हरूले आर्यावर्त भनेका छन् । उत्तरमा हिमालय पर्वत भन्नाले पूर्व बर्मा इरावती नदी, आराकान्त पर्वतमाला हुँदै उत्तर हिन्दकुश भएर कैलाश मानसरोवर, उत्तर पश्चिम पामिरको गाँठो भएर रूसको दक्षिणी भाग, बक्षुनदी, ताराकन्द, समरकन्द, बुरबारा हुँदै इरानको पूर्वी भाग मसद, निरूजन्द, करमानसम्मको भागलाई उत्तरको हिमालयले सीमा छुट्टाइएको छ ।
दक्षिणतर्फ बिन्ध्याचलकै मध्यवर्ती देश जसमा आर्यहरूले बसाएका मानिसहरूको बस्ती भएकाले ती स्थानहरू पनि आर्यावर्त भित्रै मानिन्छन् । एवं प्रकार क) ब्रह्मपर्वत ख) बह्महषिदेश ग) मध्यदेशका साथै बाली, सुमात्रा, चम्पासभ्यता (भियतनाम), कम्बोडिया, थाइल्यान्ड, अफगानिस्तान, पाकिस्तानमा फैलिएको आर्य सभ्यतालाई जागृत गराउन सक्दा इन्डोप्यासेफिक रणनीतिदेखि वान रोड वान बेल्ट इनिसियटिभ सम्मलाई समन्वय गर्दै केन्द्रीय भूमिका निभाउन सकिन्छ ।
‘स्वतन्त्र, खुला र समृद्ध इन्डो–प्यासिफिकमा नेपालको केन्द्रीय भूमिका हुने विषयमा छलफल भएको’ भन्ने अमेरिकी विदेश मन्त्रालयले आफ्नो वेभसाइटमा जारी गरको नोटको आशयलाई नेपालले आर्यावर्तको अवधारण अनुरूप पूरा गर्न सक्नेछ । नेपालमा ‘नेपाल कसैको रणनीतिक पक्ष बन्न सक्दैन’ भन्ने आशयको अभिव्यक्तिले सन्तुलन गर्ने सूत्रको ज्ञान र तयारी नभएको बुझिन्छ । यस्तो अवस्थामा आर्यावर्तको अवधारणामा वर्तमान सरकारले बुझेर अवलम्बन गरेमा चुनौतीलाई अवसरमा बदल्दै नेपाललाई विश्व रणनीतिमा अग्रगामी स्थानमा पु¥याउन सकिन्छ ।
स्वराज्य र मेलमिलापः मौलिक राष्ट्रिय सिद्धान्त । विश्वको रणनितिक पहल र अभियानहरूसँग सामना र तालमेल गरिरहनुपरेको वर्तमान अवस्थाले मौलिक राष्ट्रिय सिद्धान्तको आवश्यकता महसुस भएको अवस्थामा ‘स्वराज्य र मेलमिलाप’ मौलिक राष्ट्रिय सिद्धान्तको रूपमा अगाडि बढिरहेको छ । नेपालमा पनि कम्युनिस्ट र पुँजीवादी कार्यक्रममा फरक नपाइएको अवस्था, चीनमा देङ सिआवोपिङ पछिको खुला अर्थतन्त्रले गरेको प्रगतिलाई हेर्दा स्वराज्य र मेलमिलाप सिद्धान्तलाई कम्युनिस्ट सरकारले पनि आत्मसात् गरेर अघि बढेमा मेलमिलापदेखि अन्तर्राष्ट्रिय प्रतिष्ठासमेत बढेर जाने निश्चित छ ।
वेदका रचयिता व्यासको जन्मस्थलबाट वैदिक स्वराज्य र मेलमिलापको सिद्धान्त अगाडि बढाउँदै प्रजातन्त्र, राष्ट्रियता र समावेशिताको ग्यारेन्टी गर्नाले आन्तरिक राजनीतिक द्वन्द्व पनि समाप्त हुनेछ । नेपालको संविधान ०७२ को पूर्ण अभ्यास भइसक्दा पनि राजनीतिक मुद्दाहरू बढ्दै जानुले आन्तरिक सुरक्षा र प्रजातन्त्रमाथि नै खतरा उत्पन्न भएको छ । सबैखाले द्वन्द्वलाई समाप्त पार्दै विश्व समुदायसँग आफ्नो मौलिक सिद्धान्त र रणनीतिका आधारमा सहकार्य गर्दैै दीगो विकास र समृद्धिमा अघि बढ्न स्वराज्य र मेलमिलापको मार्ग चित्रबाट अघि बढौँ ।