सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक अनिश्चितकालका लागि बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग पूर्वतयारीको काम गर्नका लागि मंगलबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको हो ।
राजमार्ग सुरक्षा समितिको बैठकले चैत २१ गतेदेखि अर्को सूचना नभएसम्मका लागि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडकमा आवागमन बन्द गर्ने निर्णय गरेको बताईएको छ ।
पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको काम निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले फागुन दोस्रो हप्तादेखि गर्दे आएको छ । त्यस ठाउँमा माथि पहरोबाट ढुंगाहरु खस्दा दुर्घटनाको जोखिम भएकाले अर्को सूचना जारी नभएसम्म उक्त सडक खण्डमा सवारी साधन आवागमन बन्द रहने जिल्ला प्रशासन कार्यालय पाल्पाले जानकारी दिएको छ भने एम्बुलेन्सलगायत अत्यावश्यकीय सवारी साधनहरु सञ्चालनमा भने अवरोध नहुने बताईएको छ ।
उक्त क्षेत्रमा यसअघि पनि फागुन १३ गतेदेखि २७ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द गरेर सुरुङ मार्गको पूर्वतयारीका काम सुरु गरिएको थियो । बुटवल(तानसेन खण्डको तिनाउ गाउँपालिका-२, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ ११ सय २६ मिटर दुरीमा सुरुङ मार्ग बनाउन ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा चिनियाँ कम्पनीसँग एक वर्षअघि ठेक्का सम्झौता भएको थियो ।
सुरुङ मार्गको डीपीआरको अन्तिम डिजाइन स्वीकृत हुने क्रममा रहेकाले त्यसलगत्तै सुरुङ मार्ग निर्माणको काम सुरु हुने सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले जानकारी दिएको छ । सम्झौता अनुरूप काम भए चार वर्षमा सिद्धबाबामा सुरुङ मार्ग सम्पन्न हुने छ ।