Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अनिश्चितता र अराजकता

१३ सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

शाश्वत शर्मा - -
यो मुलुकमा अब एउटा कुरा चाहिँ निश्चित छ– त्यो हो, अनिश्चितता, अराजकता । वास्तवमा गहिरिएर मनन गर्दा सही कुरो यही हो । स्वयं अहिलेका जल्दाबल्दा नेताहरु नै यो कुरा स्वीकार गर्छन् । सन्दर्भ, गठबन्धन, नीतिहीनता, सिद्धान्तहीनता, सत्तास्वार्थ र सरकार निर्माणका जे जति घटनाहरु देखिए, ती सबै अराजकता र अनिश्चितताका द्योतक हुन् । नेपालको राजनीति अब यस्तो भइसक्यो कि जो जसँग पनि मिल्न सक्छन्, जो जसको पार्टीमा पनि घुलमिल हुनसक्छन् । नैतिकता भनेको त कुनै पनि दलमा स्यालको सिङ हराएजस्तो पो भयो । यस्तो राजनीतिले दिने भनेको अनिश्चितता र अराजकता नै हो । विधिमा कोही पनि छैनन्, नीतिमा कोही बस्नै चाहदैनन् । सबैलाई सत्ता र स्वार्थ पूरा हुनुपरेको छ ।
जनवादी समाजवादीसँग मिल्छन्, प्रजातन्त्रवादी माओवादीसँग । नेपालमा राजनीति भनेको व्यवसाय बन्यो । व्यवसायको धर्म हो मुनाफा । नेपालको राजनीति पप्पु यादवको ठेकेदारी जस्तो छ । ठेक्का लियो, खायो हरायो । कसैले कुनै कारवाहीनै गर्न सक्दैन । जब भय हुँदैन, त्यहाँ हुने अराजकता र अनिश्चय नै हो ।
जनयुद्ध भयो, जनआन्दोलन पनि गरियो । परिवर्तन आएको १७ वर्ष भयो, नेताको जीवनमा परिवर्तन आयो । देश र जनताले केही पाएनन् । लुटिए । नेता बलियो हुने, नेता सम्भ्रान्त बन्ने, नेता राजा–महाराजा बन्नका लागि ल्याइएको हो लोकतन्त्र ? लोकका लागि लोकतन्त्र छैन भने केको परिवर्तन ? लोकतन्त्रमा विधि हुँदैन, प्रभावशाली कसैमाथि कारवाही हुँदैन भने केको संवैधानिकतन्त्र ? यो त झिंझाको डाँकातन्त्र भएन र ? जब ठूला ठूला भ्रष्टाचारमा ठूला ठूला पार्टी नेता मुछिन्छन् र कसैले उनीहरुलाई प्रश्न गर्दैन, कुनै निकायले छानबिन गर्दैन भने यो त मनलागीतन्त्र भएन र ? हो, लोकतन्त्र नेतातन्त्रमा परिणत भइसकेको छ ।
किसान आन्दोलनमा, मजदुर आन्दोलनमा, युवा विदेशतिर, पार्टी नेता सत्तामा, पार्टी कार्यकर्ता कमिशनतिर, आमनागरिकमा व्यापक निराशा । सत्तादेखि मिटरव्याजीसम्मका लुटेराको जगजगी, कतिले त आत्मदाह गर्न थालिसके । बाँच्ने आशा जगाउने कसले ? केही हुन्छ, अन्याय हुँदैन भन्ने न्यायालयसमेत विभेदकारी भन्न थालियो । यो सबै अतिराजनीतिकरणको प्रतिफल हो । सार्थकता पाउने निश्चित छैन । अर्थात्, सबैतिर अनिश्चितता नै छ । अराजकता छ । भन्नु नै पर्दा, परिवर्तनको सुरुवात नै गलत तरिकाले भयो । परिणाम गलत आइरहेको छ । हिन्दुराष्ट्र, राजा र राजतन्त्रलाई विस्थापन गर्नु भन्ने ‘आकाशवाणी’ का भरमा विना कुनै दीर्घकालिन योजना एकाएक (जबर्जस्ती) परिवर्तन गरियो । त्यसपछि के गर्ने र कसरी अगाडि जाने ? मुलुक कसरी चलाउने ? भन्ने अग्रगमनकारी सोच नै थिएन । सत्ता पाइयो, के के न पाइयो भनेर भुइँमा न भाँडामा उफ्रिए नेताहरु ।
राजतन्त्रपछि के ? केन्द्रिकृत प्रणालीमा चलिरहेको मुलुक (?) लाई संघीयतामा लग्दा कुन ढाँचामा लाने ? ९४ प्रतिशत ॐकार परिवार हिन्दु बसोबास गरेको मुलुकलाई धर्म निरपेक्षतामा किन लाने ? यो विषयमा नेपाली जनतालाई कुन तर्कले सहमत गराउने ? बुझाउने ? दिमागमा केही थिएन, केही आएन । अर्थात् एमाओवादीलाई आफ्नो मूल एजेण्डा अर्थात् गणतन्त्र लागु भएकोमा हर्ष छ भने कांग्रेस–एमालेलाई राजाले आफुलाई ‘गरिखान’ नदिएको रिसमा राजतन्त्रलाई हटाएर रिस फेर्न पाएकोमा हर्ष छ । १५ वर्षमा यिनै कारणले यो कथित गणतन्त्र भाँडतन्त्र बन्नपुगेको छ । दह्रो नेतृत्व हुन्थ्यो भने गणतन्त्र सस्थागत भइसक्थ्यो अथवा राजतन्त्रका पक्षधरहरु सशक्त हुन सकेको भए यो नाटकीय स्वरुपमा चलिरहेको गणतन्त्रविरुद्ध नेपाली जनता सडकमा उर्लिसक्थे । बिजोग छ गणतन्त्रको, बिजोग छ राजसंस्थावादी, हिन्दुवादीको । न त गणतन्त्रले सही मार्ग पहिल्यायो, न त असफल भइसकेको गणतन्त्रको विरुद्धमा हिन्दुवादी, राजतन्त्रवादी खेमाको कुनै एउटा दाह्रो नेतृत्व सडकमा, जनता माझ देखिन सक्यो । अर्थात् मुलुक त्रिशंकुको अवस्थामा झुण्डिएर बस्न बाध्य छ । अन्यौलग्रस्त छ मुलुक । यस्तो घिटीघिटी गणतन्त्र राख्नु किन ? गणतन्त्र चलाउने खाका सार्वजनिक हुनुपर्छ । हरेक नेता भ्रष्टाचारमा डामिएकाले तिनको छानबिन हुनुपर्छ । यस्तै लुटमारलाई लोकतन्त्र भनेर भ्रम छरिरहने हो भने अब भ्रमबाट मुक्त हुनुपर्छ जनता ।
बल्ल बल्ल संविधान बन्यो, संविधान घोषणापछिको २ आवधिक निर्वाचन पनि सकिएको छ । तर अनिश्चितता र अराजकता घटेन, झन बढेर गयो । संविधान कार्यान्वयन भयो भन्नेहरु हाँसिरहेका छन्, गणतन्त्र गजब भयो भन्नेहरु नेतामात्र हुन्, जनतालाई संविधान कौवालाई बेल पाकेसरह भएको छ, गणतन्त्रमा गण छैनन्, मात्र सत्ताधारीको हुलमुलमात्र देखिन्छ । यो कस्तो गणतन्त्र, संवैधानिक राज हो, जसको झल्को जनताको जीवनपद्धतिमा पटक्कै देखिदैन ? जनजन निरशा छन् । हरेक पार्टी आआफ्ना डम्फु बजाइरहन्छन्, त्यही आवाजलाई यिनीहरु संवैधानिकता, गणतन्त्र भनिरहेका छन् । यथार्थमा नेतृत्वतह भ्रमजाल फैलाएर सत्ता, शक्ति र सम्पत्तिको लुट मच्चाइरहेका छन् । गणतन्त्र लखनौ लूट बनेको छ । समष्टीमा भन्नुपर्दा, मुलुकमा अरु केही निश्चित छैन, जे निश्चित छ अराजकतामात्र ।