राजन कार्की - -
परिवर्तनको १६ वर्ष, हातलाग्यो शून्य भयो । परिवर्तनकारीले यो काम ग¥यौं भनेर देखाउने केही पनि छैन । तैपनि परिवर्तनकारीले धक्कु लगाउन धक मानेका छैनन्, कठै नेतृत्व ?
१७ हजारको चिहानमाथि सत्ताको छिनाझप्टीको प्रतिस्पर्धाका कारण परिवर्तनकारी प्रत्येक नेता र नेतृत्व इतिहासको कठघरामा उभिएका छन् ।
हाम्रा लोकतन्त्रवादीहरु किन जिम्मेवार हुनसकेनन् ? रक्तपातले पार नलाग्ने रहेछ भनेर शान्तिबाटिका निर्माणमा लागेका हाम्रा नेताहरु संक्रमणको अन्त्य गर्न छाडेर फेरि रक्तपातकै आवेग निकाल्न थालेका छन् । यो लोकतान्त्रिक प्रवृत्ति होइन । यस्तो प्रवृत्तिले इतिहासको चेकपोष्ट पार गर्न सकिदैन । स्मरणरहोस्, १९१७ मा जन्मिएकी इन्दिरा गान्धीले जवानीका दिनहरु भारतको स्वतन्त्रताका लागि खर्च गरिन् । भारतलाई स्वतन्त्र बनाउन बाँदर सेना गठन गरेर भारतको स्वतन्त्रता आन्दोलनमा सघाइरहिन् । उनको विवाह १९४२ मा भयो तैपनि उनले बाँदर सेनालाई सक्रिय पारेर अंग्रेजविरुद्धका सूचना संकलन गरेर बाबु जवाहरलाल नेहरुसम्म पु¥याउने र स्वतन्त्र भारतको गान्धी आन्दोलनमा मलजल गरिरहिन् । १९४७ मा भारत स्वतन्त्र भयो, नेहरु प्रधानमन्त्री बनेपछि उनले राष्ट्रको स्वतन्त्रताका लागि गठन गरेको बाँदर सेनालाई बिघटन गरिदिइन् । फेरि त्यो सेनाको धमास कहिले झिकिनन्, जे कर्तव्य थियो, त्यो पूरा गरिन् । १९६६ देखि १९८४ सम्म भारतको लागि ‘आइरन लेडी’का रुपमा शासनसमेत सम्हालिन् ।
नेपालकै इतिहास हो, २००७ सालमा नेपाल पनि राणाशासनबाट मुक्त भयो । रामदल, मुक्तिसेना गठन भएका थिए। रंगविक्रम, पहलसिंह लामाहरुको संगठन थियो यो । उनीहरुले पनि यो सशस्त्र समूहलाई यथावत राखेनन्, समूहका लैन छोकडाहरुलाई राज्यशक्तिमा समाहित गरिदिए । समयक्रममा गठन भएका खुकुरी दलहरु पनि बिस्तारै अस्तित्वमा रहेनन् । तिनले पहिलेको आक्रोशपूर्ण समयको फूर्ति कहिले लगाएनन् ।
माओवादीले जनयुद्धका लागि घर दिन्छु, जग्गा दिन्छु, समानता दिन्छु, जागीर दिन्छु, जसलाई जे जे चाहिएको छ, त्यही त्यही दिन्छु भनेर लडाका तैयार ग¥यो र सपना बेचेर १० वर्ष लामो जनयुद्ध हाँक्यो । १७ हजारभन्दा बढी सहादत भए । महारथी, रथी, कमाण्डरहरुले सत्ता, सुख, सुविधा भोग गर्न सफल भए । हत्केलामा ज्यान बोकेर जनयुद्ध सफल पार्न हिडेका ती लडाक युवायुवतीले के पाए ? कति खाडी मुलुकमा मरिरहेका छन्, मरेर बाँचिरहेका छन् र जहानपरिवारका लागि हातमुख जोर्ने जोहो गर्दैछन् । कति महिला देशदेखि विदेशसम्म यौन बेचेर प्राण धानिरहेका छन् । कुनै तथ्य तथ्यांक छैन माओवादीसँग । माओवादीलाई आज पनि सत्ता र शक्तिकै पिरलो छ । उसले अझै सम्पूर्ण रुपमा लडाका दस्ता बिलय गराएर देशको स्वाधीनता, शान्ति र सम्पन्नताका लागि आफूलाई लोकार्पण, लोकतान्त्रिकरण गरिसकेको छैन भन्ने तिनका अभिव्यक्तिबाट बुझ्न सकिन्छ । अझै अतिवादी आक्रोस फुकिरहेको छ, आफ्ना लडाका ब्रिगेडलाई सकृय पारिरहेको छ । केही पीडितले मुद्दा के हालेका थिए, माओवादीहरु ०५२ सालमा फर्किने, अर्को जनयुद्ध गर्न पछि पर्दैनौं, खुकुरीमा खिया लागेको छैन, जिस्क्याएको भनिरहेका छन् । नैतिकताको ऋग्वेद मार्गमा उभिन त उभिएका छन् तर झुक्याएर हान्ने र बन्दुकको नालबाट शक्ति निकाल्ने माओको रातो कितावमै भुलिरहेका जस्तो लाग्छ ।
बम पड्काएर बिनासमात्र हुन्छ, दूधको नहर बग्दैन भन्ने बुझेर पनि कम्युनिष्टहरु ‘सत्ताको चटके कमाल’ देखाउन किन लालायित भइरहेका होलान् ? र, हामी सोझा जनता किन चटक हेरेर रमाइरहेका होलाउँ ? सत्तापक्ष र प्रतिपक्षी गर्न‘पर्ने कर्तव्य पूरा गरिरहेका छैनन्, हामी सामान्य जनता तमासा हेरिरहेका छौं । हामी जनयुद्धले जागरण ल्यायो, चेतना ल्यायो भन्ने मान्यता राख्छौं, जनतामा आएको चेतना यही हो त ? माओवादी जनयुद्धकालीन ६५ हजार उजुरीको छिनोफानो गर्न १७ वर्षमा नसक्नेहरु रातारात बिधेयक ल्याएर आममाफी र क्षतिपूर्ति दिने भूमिका तैयार गर्दैछन् । विश्वले, परम्पराले, न्यायव्यवस्था र प्रचलनले के भन्ला भन्ने हेक्का राखेको देखिदैन ।
हो, जनताले शान्ति खोजेकै हुन् । जनताले संक्रमणकालीन मुद्दाको छिनोफानो होस् र शान्तिपूर्ण समृद्धिमा लाग्नुपर्छ भन्ने चाहेकै हुन् । किन नेतृत्व जनचाहनामा खरो उत्रन छाडेर भ्रमजाल तैयार गरिरहेको छ ? यो अर्को सुनामीको छनक त होइन ? सारा विश्वले हेरिरहेको छ, बुझिरहेको छ भन्ने नभुलौं । नेपाली सोझा छन् सहलान्, विश्वले सहला कि नसहला ?
देशभक्तहरु देशको हित हेर्छन्, व्यक्ति वा समूहगत स्वार्थभन्दा माथि उठ्छन् । ‘राजनेता’ बन्न का लागि जनवल आर्जन गर्दै काँधमा देश बोक्छन् । हाम्रा नेताहरु देशभक्तिका नाममा सत्ता, शक्ति, दबाब, अनैतिकता, सिद्धान्तहीनता, भ्रष्टाचार बोकिरहेका छन् । पक्कै हो, जुनसुकै राजनीतिक शक्ति होस्, सार्वभौम जनतालाई मतपत्रमा सिमित राखेर निर्णायकत्व बन्दुक र बिदेशीलाई बनाउनेहरु कायर हुन्, करिया हुन् । पखेँटा काटेर पिन्जरामा बन्दी बनेको सुगा न उड्न सक्छ, न स्वाधीन भएर बाँच्न ? नेपाली राजनीतिमा परिवर्तनहरु त भए तर आयामहरु उन्मुक्त हुन सकेनन् । नयाँ प्रकारको गुलामवाद जारी छ, नेतृत्वतहमा चरित्रहीनता बढ्दैछ । राजनीति र प्रशासकहरुले बनारसको तवाईफभन्दा पनि नांगोपनले बेशर्मको हद नाघ्दै गएको छ । नागरिक सर्वोच्चताको डिङ हाँक्नेहरु स्वयम् अर्काको कमैयाभन्दा भिन्न भूमिकामा नदेखिएपछि भन्नैपर्छ, स्वतन्त्र नेपालको झण्डा त फरफराइरहेको छ, स्वतन्त्रता बन्दकी राखेर पेटपाल्ने विवेकहीन जीव पो बनेछन् हाम्रा विधाता र शासकहरु, नेतृत्वहरु ।
कमैया मुक्तिको घोषणा ०५७ साल साउन २ गते भएको हो । यो घोषणाले कानुनी आधार २०६६ सालमा पायो । विदेशभक्त सबै ठूला दलभित्र बिराजमान छन् । २०७१ साल माघ १६ गते खुलामञ्चको जनसभाबाट सिधै दिल्ली हान्निएका माओवादी नेता बाबुराम भट्टराईले भारतका राष्ट्रपति, परराष्ट्रमन्त्री र नेपाल नीतिकारहरुसँग गुहार लगाए– ‘भारतले १२ बुँदे सम्झौता गराउँदाजस्तै भूमिका अहिले लिनुपर्छ, भारत १२ बुँदे सम्झौताको एक पक्ष हो । नेपालमा अर्को द्वन्द्व हुन नदिन नेपालको राजनीतिक समस्या समाधान गर्न भारतले सक्रिय भूमिका निर्वाह गर्न‘पर्छ ।’ त्यो मान्यता बोक्नेहरुले यसपटकको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको निर्वाचन र विश्वासको मत दिंदा अथवा एमालेबाट फुटाएर कांग्रेससँग १० दलीय गठबन्धन बनाएर भारतले कुन प्रकारको भूमिका खेल्यो, सबैले देखेकै छन् ।
हामी कति स्वाधीन छौं, हाम्रो स्वराज संविधान, संसदमा छ कि विदेशतिर ? कोही उत्तर, कोही दक्षिण, कोही पश्चिमतिर मुख फर्काएर निर्देश लिइरहेका देखिन्छन् । पहाड, हिमाल, तराईतिर फर्केर निर्णय गर्ने शक्ति कति छ ? हरेक सत्ता विदेशीको समर्थनमा बन्छ, हरेक गठबन्धन विदेशीको उचाल पछारमा बन्छ र भत्किन्छ । यस्तो राजनीतिले देश बनाउँछ कि देश भताभुङ्ग पार्छ ? यति ठूला ठूला परिवर्तन भएपछि पनि हामी कप्तान अर्थात ‘हस् बहादुर’ बाट माथि उठ्न नसकेकै हो कि नचाहेको ? राजनीतिमा इच्छाशक्ति र त्याग गर्न सकिएन भने मुनाफामात्र खोज्ने व्यवसाय बन्छ । हाम्रो राजनीति व्यवसाय बन्नुको कारण यही हो । परिवर्तनपछि केही लाहुरे नेताले दिल्ली मै पुगेर ‘हस्तक्षेप गरिदेउ’ भनेको पनि देखिएकै हो । तिनै संसदमा छन्, तिनै सरकारमा छन्, हाम्रो अग्रगमन सिंहदरवार पुग्न दिल्ली दरवारको परिक्रमा गर्नुमात्र हो ?
र, हाम्रा नेतृत्वतहले अझै बुझेनन्– भारतका सर्वशक्तिमान प्रधानमन्त्री मोदीले केही वर्षअघिदेखि अनेक प्रयास गर्दा पनि डा.बाबुराम भट्टराईलाई किन भेटेनन् ? छिमेकीको समर्थन लिएर विश्वशक्ति बन्ने तैयारीमा जुटेको भारतले नेपालमा खुला हस्तक्षेप गर्छ र माओवादीको चुनौति बेहोरिरहेको भाजपाले नेपालका माओवादीलाई सर्वशक्तिमान बनाउन यतिबेला पश्चिमासँग मिलेर किन मद्दत गरेको होला ?
विश्वासको मत पाएपछि प्रधानमन्त्री भारत भ्रमण गर्न हतारिएका छन् । भ्रमण गर्ने पहिलो निम्तो बंगलादेशले र अर्को निम्तो अमेरिकाबाट आइसकेको छ । तर प्रधानमन्त्रीलाई दिल्ली भ्रमण गर्न हतारिनुको कारण ‘धन्यवाद’ भन्नमात्र हो कि चुच्चे नक्सादेखि अनेक हस्तक्षेपका पाइला रोकिदिनुस् भन्न हो ? आशीर्वाद लिनेमा आँखा जुधाएर कुरा गर्ने साहस हुन्छ कि हुन्न होला ? नयाँ नेपाल र लोकतन्त्र यही हो ? बिधि निर्माण गर्ने सार्वभौम निकाय संसद । संविधानमा सार्वभौम अधिकार जनतामा निहित छ भनिएको छ । तर जनताको चाहनामा सरकार कहिले चलेन, चलेको छैन । आगामी दिनका लागि भारतादेश खोज्दै दिल्ली जानु भनेको नेपालको सार्वभौमिकतालाई खुम्च्याउने प्रयास हो । के व्यक्ति प्रवल हुन विदेशीको चाकरी गर्नैपर्छ ? कुनै दिन खुब चलेको गीत थियो– भन बाबुराम, लोकतन्त्र कुन चराको नाम ? आज त्यही प्रश्न १० दलीय गठबन्धन र प्रम प्रचण्डका सामु उठेको छ, भन प्रचण्ड, देउवा लोकतन्त्र कुन चराको नाम ?
यथार्थमा कमैयाकरण भनेको पराधीनता हो । बँधुवामजदुरकरण भनेको पराधीनता हो । प्रसियाका बिस्मार्कको बन्लान् भनेर अपेक्षा गरिएका हाम्रा अग्ला नेताहरु स्वार्थको फोहरी कन्टेनरमा कसरी लम्पसार पर्न सकेका ? सम्मानित तहमा स्थापित हुनुपर्ने राजनीतिक फाँट किन यसरी राजनीतिक रेडलाइट एरियाको लाउके बनिरहेको छ ? लाइबेरियाका चार्ल्स टेलरले पनि निर्वाचनमा अत्यधिक मत ल्याएर बिजयी भएका थिए । अन्तमा उनी तानाशाह बनेर पतन भए । कतै वर्तमान राजनीतिक फाँटका नेतृत्व कालिदास बनेर १२५ जातिको विशेषतायुक्त शान्तिको हाँगो हतपतको बन्चरो हानेर रगतले लतपत पार्न उद्दत त भइरहेका छैनन् ?
सिक्दैनन्, शिक्षा लिदैनन् हाम्रा नेतागण । इतिहासमा वीर नेपालीको गाथा छ । इतिहासमा पृथ्वीराज चौहानको देशभक्तिपूर्ण उज्यालो कथा छ । र जयचन्दजस्ता धोखेबाजको कालो बर्णन पनि पढ्न पाइन्छ । यी जयचन्दले आफ्नै शक्ति पृथ्वीराज चौहानलाई हराउन शत्रु बनेर आएका महमद गोरीलाई भारत पस्ने ढोका खोलिदिएका थिए । जसरी लेण्डुप दोर्जीले १९७५ मा सिक्किमलाई भारतमा मिलाउन राष्ट्रघात गरे, जयचन्द त्यही कोटीका राष्ट्रघाती मानिन्छन् । त्यस्तै राष्ट्रघात गरेका छन्– हाम्रा हरेक दलका नेताहरुले । बिप्पादेखि एयरपोर्ट व्यवस्थापनसम्म, नेपाल उत्तरदक्षिणतिर मर्ज, सर्वमर्ज हुनसक्ने अभिव्यक्तिसम्म दिएकै हुन् अब मान्छेको बसोबास नै पातलो भएको मुस्ताङ्मा बुद्ध विश्वविद्यालय खोल्नेसम्मको तैयारीमा लागेका छन् । के हो यो ? किन ? संसदमा न बहस हुन्छ, न मुद्दा उठ्छ । चीनलाई तह लगाउन कि नेपालमा रहेको उच्चकोटीको युरेनियमका लागि भारो पश्चिमाशक्ति मुस्ताङ आरोहणको तैयारीमा लागेको हो ? यो मुद्दा अनुमति दिएको छ छैनको होइन, नेपालको भूराजनीतिसँग सम्बन्धित विषय हो । नेपाल ग्रे सूचीमा परिसकेको छ, योबेलामा अपनाउनु पर्ने सावधानी छाडेर अर्काको रणनीतिक चालमा फस्नुपर्ने कारण नेतास्वार्थबाहेक देशहितमा छ र ? मह लेपन भएको विषजस्तो विषयमा नेपाल किन झिंगा बनेर झुम्मिनथालेको हो ? नेतृत्व लोभी भयो भने देशहित स्वाहा हुन्छ भनेको यस्तै यस्तै परिदृश्यले हो । अझै सावधानी नअपनाउने ? दुईतिर खुट्टा राख्ने र दुईजिब्रे नेताको भर हुन्न भनिन्छ । नेपालको राजनीति यस्तै भरहीन हुनपुगेको छ ।
अझै जनता चाहन्छन्– हरेक पार्टीका नेतृत्व देशभक्तिमा खरो उत्रियुन् । जाति, भाषा, भेषमा होइन, सिङ्गो मुलुकलाई जुरुक्कै उठाउन् । स्मरणरहोस्, माओले सांस्कृतिक क्रान्ति सम्पन्न भएपछि ७० को दशकमा घुँडा टेकेर जनतासँग माफी मागेका थिए । माओले पनि जनता नै अन्तिम सत्य मानेको प्रमाणिक इतिहास हो त्यो । वीपी वा मदन भण्डारीले पनि जनतालाई प्रधान माने, देशको आवश्यकतालाई कहिले अस्वीकार गरेनन् । प्रजातन्त्रलाई अन्तिम सत्य बनाउन लागिपरेका वीपी कोइरालालाई कांग्रेसले बिर्सियो । मदन भण्डारीका लाइनलाई एमालेले भुल्यो । माओवादलाई नेपालवादमा रुपान्तरण गर्न कस्सिएका माओवादीहरुले माओले भनेजस्तो– द्वन्द्ववाद व्यवहारका उतारेनन् । सबै ठूला शक्तिको यथार्थ सत्ता, शक्ति, सम्पत्ति र प्रभुत्वमा सिमित हुनपुग्यो । यसकारण त जनयुद्धपछि सत्ताको नेतृत्व गरेको कम्युनिष्टले १९५० को सन्धि खारेज गर, २०६२ मंसिर ७ को १२ बुँदे दिल्ली सम्झौता बदर गर, सीमा अतिक्रमण रोक, चुच्चे नक्सासहितको भूमि फिर्ता गर, कालापानीबाट फिर्ता जाउ भन्न सक्दैनन् । संसदको निर्णायकत्व स्थापित गरेर सार्वभौमिकतालाई मजबुत पार्न कोही पनि तैयार छैनन् । माटोमा उभिएर विदेशीको इसारा पर्खनु भनेको अरौटे हुनु हो । कहिलेसम्म विदेशी तोक्मा टेकेर स्वदेशमा राज गर्ने राजनीतिक शक्ति र व्यक्तिहरु हो ?
राजनीतिका महारथीहरु, विदेशमुखी नेताहरुलाई हेक्का रहोस्– नेपालभन्दा साना १९ मुलुकहरु सुरक्षित, स्वतन्त्र र सार्वभौम सम्पन्न छन् । नेता देशभक्त भइदियो भने मुलुक सार्वभौम हुनसक्छ भन्ने यो उदाहरण हाम्रा होनहार नेताहरुले अहिले नै बुझिदिए वर्तमान र भावी पुस्ताले बाँचुन्जेल जिन्दावाद र मरेपछि यिनको सालिक बनाएर पूजा गर्ने थिए । इतिहासकारहरुको कोर्टमार्शलबाट बच्ने हो भने समयमै राजनीतिका फिल्डमार्शलहरुलाई चेतना रहोस्– समयले कसैलाई पर्खदैन । अहिले पनि हाम्रा हरेक दलका नेताहरुलाई सुध्रिने र नीति, सिद्धान्तमा चल्ने अवसर छ ।