Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

गोविन्दनारायणहरुको विश्वास र अविश्वासको खेल

०६ सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

राजन कार्की - -
००७ सालपछि नेपालको क्याविनेटमै दिल्लीले गोविन्द नारायण सिंहहरू पठाएको थियो । हरेक निर्णय तत्काल दिल्ली पुग्थ्यो । दिल्लीको इसाराबिना क्याविनेटमा कुनै निर्णय नै हुने थिएन । यो त अति भयो भनेर राजा महेन्द्रले लठ्ठी पनि नभाँचियोस्, सर्प पनि मरोस् भन्ने नीति अख्तियार गरेर दिल्लीका दूतलाई क्याविनेटमा जानबाट रोक लगाएका थिए । त्यसपछि राजा महेन्द्रले विकास र सुधारका जे जे निर्णयहरु गरे, त्यसैको बोनसमा आज पनि हामी उभिएका छौं, आज पनि हामी भोगिरहेका छौं । .राजा महेन्द्रको आलोचना गर्नेहरुले आजसम्म एउटा पनि उदाहरणीय काम गर्न नसक्नु परिवर्तनकारी शक्ति हुँ भन्नेहरुका लागि डाडुमा पानी तताएर मरेसरह हो । बोल्न पाउनुमात्र प्रगति हो भने, बहुलाले पनि चिच्याएर हिड्छ । चिच्याउनु ठूलो कुरा होइन, राष्ट्रको जीवनमा परिवर्तन देखिनुपर्छ । यहाँ जे जति परिवर्तन देखिएका छन्, ती सबै नेताको मुहार र तिनका परिवारजनको जीवनमा मात्र देखिएको छ ।
फरक यत्ति छ, ती दिनमा दिल्लीले गोविन्दनारायण सिंहहरु पठाउँथ्यो । आज विदेशीले आफ्ना गोविन्दनारायणहरु पठाउनु परेको छैन । नेपाली अनुहारका नेतृत्व, प्रभावशाली व्यक्तिहरु नै गोविन्दनारायणभन्दा इमानदार चरित्रका बन्न तैयार छन् । विदेशी तलुवामा लम्पसार पर्ने यही रानजीतिक चरित्रको विकासले गर्दा नेपालको स्वाधीनता खुम्चिदै गएको छ ।
नेपालको पछिल्लो परिवर्तनको निर्देशन गर्ने निर्देशक को थिए ? इतिहासको यो प्रश्न अझै स्पष्ट भइसकेको छैन । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठक डाकियो, कांग्रेसका वृद्ध नेता कुलबहादुर गुरूङले सभापतित्व गर्ने निधो पनि भयो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । प्रचण्डले गणतन्त्र नेपालको पहिलो राष्ट्रपति तपाईं भनेर गिरिजाप्रसादलाई पूर्ण विश्वास दिलाइसकेका थिए । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफै अग्रसर हुन नसकेर उनका तर्फबाट चुनाव हारेका कृष्णप्रसाद सिटौलाले गणतन्त्र कार्यान्वयनको प्रस्ताव टेबुल गरे, सबैले टेबुल ठोके, प्रस्ताव पास भयो । अर्थात् अबैध तरिकाले गणतन्त्रको प्रस्ताव संविधानसभामा पेश भयो, पारित भयो ।
अवैध तरिकाले गणतन्त्र आयो, किन, केका लागि, कसको अभिष्ट पूरा गर्न आयो ? जनआन्दोलनको निरङ्कुशता विरोधी जनादेश कसरी राजतन्त्र उन्मूलन गर्ने एजेण्डा बन्यो ? यो एजेण्डाका लागि दबाब दिने को को थिए, कहाँ कहाँबाट दबाब आएको थियो । कुलबहादुर गुरूङ ज्यूँदै छन्, उनी भनिरहेका छन्– मैले दबाब रोक्न सकिन, मलाई बाध्य पारिएको थियो । यो रक्तपात विहिन कोतपर्व कसकसको दबाबमा सम्पन्न गरियो ? निर्देशक अदृश्य गोविन्दनारायण को थिए ? त्यसपछि लोकतन्त्रको कोखबाट नयाँ नयाँ जंगबहादुर जन्मिए, जो शासन र सत्तामा सेटिङ् र गठबन्धन राणा शासन चलाइरहेका छन् । अदृश्य गोविन्दनारायण आज पनि निर्देशन गरिरहेका छन् । यहीकारण समाजवादी माओवादीसँग, माओवादी जनवादीसँग, जनवादी प्रजातन्त्रवादीसँग असैद्धान्तिक गठबन्धन गरिरहेकै छैन । यिनीहरु एकअर्कालाई खुइल्याउने धन्दा पनि चलाइरहेका छन् । स्पष्ट छ, कुनै विदेशी गोविन्दनारायण छ, जसले असैद्धान्तिक गठबन्धन गराएर कहिले कसलाई, कहिले कसलाई उचाल्ने र पछार्ने धन्दा चलाइरहेको छ । नेपाललाई अराजकता र अस्थिरताको भुमरीमा हालिरहेको छ । नेपालको अस्तित्व संकटमा पारिरहेको छ । यति हुँदा पनि नागरिक समाज, बुद्धिजीवी, चेतनशील बर्ग तमासा हेरेर बस्नु भनेको वीरका सन्तानको मरेको जुनी होइन र ?
विदेशी चलखेल अर्थात गोविन्दनारायणका नारायण नारायण भजनले आर्थिक, सामाजिक, राजनीतिक सङ्कट बढ्यो । सीमा अतिक्रमण र कूटनीतिक हस्तक्षेप पनि बढेको छ । भारतले नेपाली भूमि आफ्नो नक्सामै हाल्यो । नेपाली भूमिमा कलभर्ट, बाँध बनाएकै थियो, अव राजमार्ग नै बनाउन थाल्यो । नेपालमा डेढलाख पेन्सनरलाई पेन्सन बितरण गर्ने नाममा नेपालभरि फैलिएका क्याम्पमा खटिएका भारतीय सिभिल डे«सका सैनिकहरू सूचना लिइरहेकै छन् । पहिले मन्त्रीले नै मन्त्रिपरिषदको निर्णय चुहाउँथे । पुङमाङ् राजनीतिका कारण प्रवुद्ध समूहको गोप्य रिपोर्ट गोप्य नै छ, तर चीन र भारतसँग त्यसका प्रतिलिपिहरू पहिले नै पुग्यो । हाम्रो राजनीति विदेशीले दिने लाभका सामु ‘यस् सर’ गरिरहेका छन् । अचम्म लाग्छ । कस्तो परिवर्तन आएछ ।
बुद्धिजीवीहरू भन्छन्– अब एसियाबाट विश्वयुद्धको छनक आउन थाल्यो । अबको युद्ध आणविक युद्ध नै हो । एसियामा विश्वशक्तिहरू झुम्मिन थालिसकेका छन् । यसमा नेपाल केन्द्रविन्दुमा रहेको छ । नेपालको राजनीतिक बर्ग कमजोर भइदिंदा यो खतरा बढेर गएको छ । नेपाल जोखिममा परेको छ ।
नेपाल नेपालनीतिमा होइन, उत्तर, दक्षिण, पश्चिमाको रणनीतिमा लठ्ठिएर स्वाँ स्वाँ गर्न थालिसकेको छ । जनता अहिले नब्यूँझिए कहिले ब्यूँझने ? गोविन्दनारायणहरुले जय नेपाल पारिदेलान् है ?