भनिन्छ नि, आमा जगत् जननी र साक्षत भगवान हुन् । जसरी धर्तीले मानव जातिका लागि बोझ थामेकी हुन्छिन् । सन्तानका लागि आमाले त्यतिकै कष्ट गरेकि हुन्छिन् । नौ महिनासम्म अनेक दुःखकष्ट थिचोल्दै आफ्नो सन्तानलाई उनले जन्म मात्र दिन्नन् । आफु मरेर पनि सन्तानलाई बचाउछिन् ।
यस्ता थुप्रै उदारहणहरु हामिले देख्दै आएका छौँ । यस्तै बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्राम निवासी बोमबहादुर पुनको गण्डकी अस्पताल पोखरामा आमा कमला पुनले छोरालाई मिर्गौला दान दिएपछि हालै मात्र सफल प्रत्यारोपण भएको छ । पुनले छोरालाई मिर्गौला दान दिएर पुनर्जन्म दिएकी छिन् ।
छोराको जीवनरक्षाका लागि आफूले मिर्गौला दिने निर्णय गरेको बताउँदै पुनले आफूले जन्म दिएको छोरा बाँचेको हेर्ने रहर पूरा भएको बताइन् । दुवै मिर्गौला फेल भएर जीवनमरणको दोसाँधमा पुगेका २५ वर्षीय बोमबहादुरले जन्मदाता आमाको मिर्गौला पाएर पुनर्जीवन पाएका हुन् । मृत्युसंग संघर्ष गरिरहेका बेला आफैँले जन्म दिएको छोरालाई आफैँले मृत्युबाट बचाउन सफल हुदाँ कुन आमा खुसि हुन्नन् र ?
तर बिडम्बना आज पनि हाम्रा समाजमा कतिपय आमाहरु बृद्धाआश्रम र साहारा विनाको एक्लो जीवन बिताईरहेका छन् । एकछिन सोचौँ त यदि त्यहि ठाउँमा आमालाई पर्दा छोरा त्यसरी नै तयार हुन्थे हो त ?