मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ ।
पछिल्लो एक दशकयता विच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र एक हजार १० किमी पाइप विच्छाएको थियो । नयाँ पाइपमा पनि अरु निकायले काम गर्दा क्षति पुगेकाले चुहावट हुन थालेको निर्देशनालयको सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए ।
उनका अनुसार ढल तथा सडक बनाउँदा, विद्युत् अण्डरग्राउण्ड गर्दा पाइपमा क्षति पुगिरहेकाले पनि सडकमा धेरै ठाउँमा चुहावट पाइएको उनले बताए । ‘पुरानो पाइपमा त चुहावट हुने नै भयो नयाँ पाइपमा पनि चुहावटको समस्या भइरहेको छ’, उनले भने ।
निर्देशनालयले यसअघि विच्छाइएको पाइपको परीक्षण गरिरहेको छ । नयाँ पाइपमा परीक्षण गर्दा ठाउँठाउँमा चुहावट पाइएको र ती ठाउँमा मर्मत गरेर पुनःपरीक्षण गरिने उनको भनाइ छ । ‘अन्तिम परीक्षणमा पनि समस्या नभएको पाइए मात्रै नयाँ पाइपबाट पानी पठाउन सकिनेछ’, उनले भने ।