आज २५ गते राष्ट्रपतिको निर्णय हुनेछ ।
काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र आयोगले मतदान स्थल तय गरेको छ ।
निर्वाचन आयोगले मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको छ । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद (राष्ट्रिय र प्रतिनिधि) र प्रदेश सभाका सांसदहरु मतदाता रहेका छन् । संघीय र प्रदेश सभाका सांसदको मतभार भने फरक फरक रहेको छ ।
संघीय संसदका एकजना सांसदको मत ७९ मतभारमा गणना हुन्छ भने प्रदेशका सांसदको मतभार ४८ गणना हुन्छ । संघीय संसदमा ३ सय ३४ जना सांसद छन् । जसमा ३ सय ३१ जनाले मतदान गर्न पाउनेछन् । भ्रष्टाचार अभियोग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ ले मतदान गर्न पाउने छैनन् । त्यसैगरी चितवन २ बाट जितेका रबि लामिछानेको सांसद पद गएपछि रिक्त छ । जनता समाजवादी पार्टीकी समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ गते निधन भएको थियो ।
त्यसैगरी सातै प्रदेशमा गरेर ५ सय ५० जना प्रदेश सांसद रहेका छन् । संघीय सांसदको जम्मा मतभार २६ हजार १४९ छ । त्यसैगरी प्रदेश सांसदको कूल मतभार २६ हजार ४ सय हुन्छ । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २६ हजार २७५ मतभार ल्याउनु पर्ने हुन्छ । जम्मा मतदाता ८ सय ८१ जना रहेका छन् ।
राष्ट्रपतिका लागि दुईजना उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेस सहितको आठदलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उमेदवार छन् भने विपक्षी दल नेकपा एमाले एक्लैका तर्फबाट एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । आयोगका अनुसार मतदानका लागि संघीय संसदका सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको छ ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो पटकको कार्यकाल फागुन २८ गते सकिदैंछ । त्यस अघि नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।