राजन कार्की - -
राजनीतिले सभ्य समाजको सिर्जनामा ध्यान दिनुपर्ने हो । समाज झन झन पछाडि गइरहेको छ । समाज बदलने प्रक्रियामा राजनीति साधन बन्नै सकेन । राजनीति व्यवसाय बनेकाले शासन भ्रष्ट हुनपुग्यो, समाज विकृतिको रोगी बन्न पुगेको छ ।
रोगी समाजको उपचार बन्नुपर्ने राजनीति हिजो पनि रोगग्रस्त थियो, परिवर्तनको १६ वर्षमा झन झन रोगग्रस्त भइरहेको छ । यसकारण शान्ति, समृद्धि, सुशासन स्थापित हुन नसकेको हो । भन्नलाई लोकतन्त्र ल्याइयो, लोकले अझै अपनत्व ग्रहण गरेकै छैनन् । चुनाव हुनुमात्र लोकतन्त्र होइन, लोकतन्त्रका अङ्गप्रत्यङ्ग भनेका संवैधानिक निकायहरू हुन् । प्रत्येक संवैधानिक निकाय भ्रष्टाचार, अनीति र राजनीतिकरणको नाली बनेका छन् । नालीमा लाम्लेकिराले बास गर्छन्, किरा भनेका व्याधि हुन्, महारोगका कारण हुन् । महारोग पालेर स्वस्थ समाजको, विधिको शासन र स्वस्थ सरकारको कामना गर्न सकिन्न ।
परिवर्तनका ८ वर्ष संविधानसभाको निर्वाचन र संविधान निर्माण गर्दैमा सकियो । ०७४ को आवधिक निर्वाचनपछि अब त सुधार होला कि, परिवर्तन जनताले अनुभूति गर्न पाउलान् कि भनेको ५ वर्ष राजनीतिक अस्थिरतामा सकियो । ०७९मा अर्को आवधिक निर्वाचन भएको छ । यो निर्वाचनपछि जे देखियो, अनैतिकता देखियो । राष्ट्रपतिको निर्वाचनमा जे देखिएको छ, त्यो दृश्य अराजकता नै हो । अझ बढी अराजकता, अस्थिरता र सत्तालोलुपताका दृश्यहरू देखिन थालेका छन् । यस्तो लज्जा पनि लज्जित हुनेखालको राजनीतिले समाज परिवर्तन र सभ्य हुनसक्दैन । हरेक दल सिद्धान्तहीनता र नैतिकहीनतामा रमाउन थालेका छन् । यो दृश्य दुर्भाग्यपूर्ण छ ।
देश बनाउने राजनीतिक, प्रशासनिक सिपाही छैनन् । देश बनाउने सिपाही नभएपछि बचाउने समस्या बढ्छ । देश आज अस्थिरताको भूमरीमा पर्नु र आन्तरिक मामिलामा विदेशीको हैकम देखिनुको कारण पनि यही हो । देश हाम्रो, हैकम अरूको । शासन प्रशासन हाम्रो, निर्णय विदेशीको ।
योभन्दा गए गुज्रेको शासन पद्धति, शासक अरू हुनै सक्दैन ।
इतिहासबाट पाठ सिकेर, अन्य मुलुकका संक्रमण, निकासजस्ता घटनाबाट शिक्षा लिएर नेताले, सरकारले, नागरिक समाजले, अधिकारकर्मीले राष्ट्रलाई दिशानिर्देश गर्नसक्नुपर्छ । जब राजनीति सही मार्गमा चलाइन्छ, तव कानुनव्यवस्था, शासन प्रशासनमा सुधार आउँछ । प्रष्ट छन् कानुन, प्रष्ट छन् संविधान, तर कार्यान्वयन शून्य छ । कानुनका छिद्र खोजेर राजनीतिलाई अपराधिकरणमा चोपल्ने र अपराधी शासन र कानुन बनाउने सत्तामा, शासनमा पुग्नु भनेको कुशासन हो । संविधान, पद्धतिको असफलता हो । यसकारण प्रश्न उठेको छ, देश बनाउने राजनीतिक, प्रशासनिक सिपाही कहाँ छन् ? लोकतन्त्र ल्यायौं, परिवर्तन ल्यायौं भन्ने नेताहरू संसदमा छन्, सरकारमा छन्, तिनकै हातमा शासन व्यवस्था छ । के तिनले यो परिवर्तन, यो लोकतन्त्रको स्वामित्व लिएका छन् ? छन् भने एउटा आलंकारिक राष्ट्रपतिको चुनावमा आत्मनिर्णय गर्न किन सकेनन् ? हिजो राष्ट्रपतिलाई राजनीतिकरण गरेर बदनाम गरियो, आज पनि राष्ट्रपति पद राजनीतिकरण हुनपुगेको छ ।
राष्ट्रपति पद कूटनीतिकरण पनि हुनपुग्यो । शक्ति राष्ट्रहरूको चासोको विषय, प्रभावको विषय राष्ट्रपति पद, प्रधानमन्त्री पद र मन्त्री तथा निर्णयहरूमा विदेशी प्रभाव देखिनु भनेको नेपालको राजनीतिको सबैभन्दा ठूलो हार हो । अराजनीति हो । नेपालमा जे भइरहेको अराजनीति, व्यवसायभ इरहेको छ । राजनीतिक व्यवसाय देश र जनताको हार, नेताहरूको भोरजूवा बन्न पुगेको छ । यो भोरजूवामा कहिले कांग्रेस, कहिले एमाले, कहिले माओवादी केन्द्र, कहिले ससाना पार्टीहरूले च्याँखे बल्झाउने गरेका छन् । यथार्थमा यो राजनीतिक जूवा खेलाउने खाले विदेशी दबाब, प्रभाव र साधन स्रोत नै हुने गरेको छ । विदेशी चास्नीमा डुबेर हाम्रो नेतृत्व पटक पटक आत्महत्या गरिरहेका छन् । विश्वासको संकट छ । विश्वासघात भएपछि केको संविधान, केको विधि ? घातीका लागि सबैभन्दा महत्वपूर्ण भनेको उसको स्वार्थ हो । स्वार्थमा डुबेपछि ऊ विवेकहीन हुन्छ । विवेकहीन हुनु भनेको मान्छे मान्छे नरहनु हो । देशभित्रका राजनीतिक घटनाक्रम हेर्दा लाग्छ, हामी अँध्यारो सुरूङभित्र बाँचिरहेका छौं । यहाँ जहिलेसुकै जे पनि हुनसक्छ । राजनीतिक व्यवसायका दिउँसै रात पर्नसक्छ, रातमा राजनीतिक घाम लाग्न सक्छ ।
व्यवस्था परिवर्तन, जनयुद्ध, जनआन्दोलन गर्नेहरूले ठूलै क्रान्ति गरेको फुइँकी लगाउन छाडेका छैनन् । त्यतिठुलो परिवर्तनले चेतना ल्यायो, चेतना देशका लागि निर्णायक बन्न सकेन । आँखा चिम्लेर हरेक सवालमा राजनीतिकरण हुने गरेको छ । आमनागरिकलाई पनि विभाजन र राज गरको नीतिमा पार्टीहरूले स्वार्थसिद्ध गरिरहेका छन् । मान्छेहरू बथानका बथान बनेर दलका नारा लगाइरहेका छन् । नारा नेताका लागि, पार्टीका लागिमात्र होइन, राजतन्त्रका लागि समेत लागिरहेको छ । किन नारा लगाएको, नारा लगाउने नागरिकलाई अत्तोपत्तो छैन । कस्तो अन्यौलपूर्ण राजनीति हो यो ? शान्ति, समृद्धीको कुनै राजमार्ग खन्न कोही तैयार छैनन् । भएका भत्काउन सबै तैयार छन् । असन्तुष्टि बढेको छ । असन्तुष्टहरूसमेत विभाजित छन् । देश बनाउने बचाउने राजनीतिक र सुरक्षाकर्मी सिपाहीले हो । सिपाही चरित्रले हो । सिपाही भनेको युवा हुन्, युवाको विश्वास गरिखान पाइएन भनेर हरेक दिन लाइन लागेर विदेशीने गरेका छन् । युवा निकासी गरेर तिनले पठाएको रेमिटान्स अर्थतन्त्र कुनै पनि बेला दुर्घटना पर्नसक्ने खतरा अर्थविद देखाइरहन्छन्, कोही पनि भययुक्त भएको छैन ।
चुस्ता लगाउँदैमा कोही सिपाही हुँदैन । भाषण गर्दैमा कोही राजनेता बन्दैन ।
विचारले, स्वाभिमानले, स्वराजको गौरवले नागरिक सिपाही बन्छन्, राजनेता बन्छन् । नेपालमा विद्यमान गरीवीका कारणले नेता जन्माउने उर्वर भूमि बन्यो । त्याग, तपस्या, बलिदानी भाव नभएकाले राजनेता छैनन् । राजनीति छ, नीति छैन । संविधान छ, विधि छैन । नेता छन् व्यवहार छैन । भाषण छ, शान्ति, सुशासन, समृद्धि छैन । राजनीतिमा नेताहरू गोरू जुधेझें जुधिरहेका छन् । एकले अर्कोलाई सकेसम्म घाइते पारिरहेका छन् । लाभ पाउने ठाउँमा मिल्छन्, लाभ लिन्छन्, फेरि जुध्छन् । नेताहरू आफै जुधेका होइनन्, यिनलाई जुधाउनेहरू देश विदेशी शक्तिहरू छन् । देश बनाउँछु भन्नेहरू आफू आफूमै जुध्नु भनेको अर्काको रिमोटमा नाच्नु हो । राजनीति रमिता भयो ।
यी पराधीन हुन् । स्वाधीनहरू यसरी अस्थिरतामा नाच्दैनन् । देश बाढी आए बाढीपहिरोमा पर्छ, सुख्खा लागे सुख्खा पहिरोमा परिरहेकै छ । पहिरोबाट देश र नागरिकलाई बचाउनेहरू यसरी राजनीतिक पहिरो निम्त्याउँदैनन् । देशमा बढ्दो अराजकतामा यसरी हाँस्दैनन् । खुशी हुँदैनन् । नेतृत्व लायक भएन । नेतृत्व न नीतिमा स्थिर छ, न सिद्धान्तमा अडिग । नेतृत्व छ, स्वार्थलम्पट नेतृत्वको कुनै भर र भरोसा गर्नु भनेको दुर्भाग्य निम्त्याउनु हो नेता नेताजस्तो होइन, फौबञ्जारजस्तो भउकाले देश देशजस्तो नभएर शनि हाटबजारजस्तो भयो । नैतिक सीमा हुन्छन्, देशको सीमा हुन्छ, संविधानको सीमा हुन्छ, लोकाचार हुन्छ ।
यतिबेलाको शिवरात्रिका नागाबाबाजस्तै नाचिरहेका छन् । २१औं शताब्दीमा फड्को मार्ने जमर्को कुवाको ब्याङ् भएर सम्भव छैन । संसारकै जेठो मुलुक मध्येको नेपाल निराश, उदास हुनपुग्यो । यसको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्छ, जनतालाई जवाफ दिनुपर्छ ।
इतिहासमा वर्णित छ– औरङ्गजेबको व्यक्तिगत हतियार थियो– खञ्जर (छुरा) । सार्वजनिक रूपमा दण्डित गर्नुपरे काँडे कोर्रा (बागन्याक–फलामको काँडे पञ्जा) थियो । जसले स्वराजप्रति घात गर्छ, त्यसलाई औरङ्गजेवले फलामको काँडे पञ्जा छाती र भुँडीमा धस्थे । त्यसैले त सन १६५७ देखि १७०७ सम्म सोल्जरको जीवन बाँचे, स्वराज भन्दै मृत्युवरण गरे ।
नेपालमा को छ स्वराज भन्ने ? एउटा विदेश सचिव आए भने लाइन लागेर राष्ट्रपति, प्रधानमन्त्रीदेखि नेताहरू लाइन लागेर देर्शनभेट गर्न पुग्छन् । देशका लागि होइन, आफ्नो लाभका लागि कुरा गर्छन् । देशका लागि लाभ हुन्छ भने कोरीको पनि पाउ मल्नु स्वाभिमान हुनसक्छ । व्यक्तिगत लाभका लागि देशको मान प्रतिष्ठा, नीति नियम, नैतिकता नाघेर विदेशीका सामु लम्पसार पर्नु नेतृत्वले गरेको जघन्य अपराध हो । यस्ता अपराध हरेक दिन भइरहेका छन् । अपराध बढिरहेकै छ, कसैले रोक्दैनन् ।
असंलग्नता किन कमजोर भयो, यसबारे कोही छलफल नै गर्दैनन् । सार्क किन मारियो, यो विषय कुनै मुद्दा नै बनेको छैन । भारतले दूत पठाएर सार्क सचिवालय रहेको नेपालबाटै सार्कको काम छैन, बिघटन गरिदिउँ भनेर गए एकजना नेताले जवाफ फर्काउन सकेनन् ।
धर्मनिरपेक्षता, गणतन्त्र किन ल्याइयो, १५ वर्षमा जनताले यो परिवर्तनबाट के पाए ? लोकतन्त्रको १६ वर्षमा के के परिवर्तन भयो ? कति रोजगारी बढे, कति उद्योगधन्दा खुले, युवायुवतीहरू विदेश किन जाने भनेर स्वावलम्बी बने, तिनले स्वदेशमै गरिखान पाए ? सुशासनको प्रत्याभूति कति बढ्यो ? इमान र विश्वासमा कति बढोत्तरी भयो ? जवाफ दिने ल्याकत र ह्याउ एउटा नेतामा पनि छैन । यस्तो पनि अग्रगमन हुन्छ ? राजमार्गको नाम लोकमार्ग राख्नुमात्र लोकतान्त्रिक उपलब्धि हो ? ठोस काम केही हुनसकेन ।
गोहीले आँसु झारी झारी मान्छे खानु र लोकतान्त्रिक राजनीतिमा नागरिक अन्यायमा पर्नु उस्तै उस्तै भएन र ?
केही समयअघि भारतको त्रिपुरा राज्यमा पुगेर गृहमन्त्री अमित शाहले अब नेपाल र श्रीलंकामा भाजपाको सरकार गठन गर्न बाँकी छ भनेर बोले । देशै उल्ट्याउने खालको यति गम्भीर मामिलामा राजनीतिक विरोध शून्यप्रायः देखियो । हुन त नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले खाइसक्यो । ती भूमि फिर्ता ल्याउने विषयमा संसदमा सबैले जिब्रो तालुमा टाँसेर बसेका छन् । सत्ता र भत्ता पचाइरहेका छन् । यस्तो संसद भन्छ– हामी सार्वभौम छौं । सांसदको यस्तो चरित्र स्वराज, सार्वभौम, स्वाधीन हुनसक्छ ? यसकारण– औरङ्गजेवले स्वराजविरोधीको छाती र भुँडीमा हानेजस्तो बागन्याक (काँडे कोर्रा) हानेजस्तो हान्न जरूरी छ । राजनीति, कूटनीति, थिङ्कट्याङ्क, प्रशासन, अदालतमा नेपाली माटोप्रति गर्व गर्ने सिपाही चरित्र नभएको देशमा काँडे कोर्रा हान्ने कसले ?
राजनीति लाजनीति बन्दै गयो । राजनीतिदेखि कूटनीति, शासनदेखि प्रशासन, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रहरू अतिक्रमणमा पर्दै गएका छन् । देशको स्वाधीनता, संवेदनशीलताका अङ्ग प्रत्यङ्गहरू हरेक दिन विदेशी बलात्कारमा पर्दै गएका छन् । यो स्थिति फिजीकरण, सिक्किमीकरण उन्मुख अवस्था हो । स्वराज रगतपच्छे छ ।
देश र जनताको छातीमा लागेका कसरी पाउन ? कसले गर्ने ? बेलैमा उपचार नभए मृत्यु वरण गर्नुपर्नेछ ।