Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

दलका राष्ट्रिय सहमति र पूर्वराजाको सहकार्यका कुरा

०८ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

डा. केशव देवकोटा - -
नेपालमा पछिल्लो समयमा राजनीतिक संकट जति बढ्दो छ, त्यतिनै बिभिन्न पार्टी र शक्तिहरूका बीचमा राष्ट्रिय सहमति र सहकार्यका बारेमा घनिभूतरूपमा आवाजहरू उठ्न थालेका छन् । त्यसमा पनि हालै फागुन सातगते राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, राजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्रि पुष्पकमल दाहाल लगायतका बिभिन्न पार्टीका नेतातथा ब्यक्तित्वहरूबाट ब्यक्त बिचारहरूलाई केलाएर हेर्ने होभने ति आफैमा अर्थपूर्ण रहेका छन् । राष्ट्रपति भण्डारीले जनतानै राज्यशक्तिको सम्पूर्ण श्रोत हुन्भन्ने मान्यतामा आधारितरही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताउनुभएको छ । वास्तवमा राष्ट्रपति भण्डरीको भनाई समसामयिक हुनुका साथै यथार्थपरक रहेको छ । हाल सत्ता र शक्तिमा रहेकाहरूले जनतालाई राज्य शक्तिको सम्पूर्ण श्रोत मानेको भए पछिल्ला गुनासाहरू कुनैपनि सुनिरहनु पर्ने अवस्था आउने थिएन । त्यसैगरी देशमा लोकतन्त्र स्थापना भएको भनिएपनि लोकतान्त्रिक आचरण पनि स्थापित हुनसकिरहेको छैन । जनस्तरबाटै देशमा स्थापना गरे÷गराइएको राजनीतिक ब्यवस्थाको चरित्र र ब्यबहार लोकतान्त्रिक हुन नसकेके आवाज उठिरहेको छ ।       बाँकी २ पेजमा
पहिलो पेजको बाँकी.......हालै प्रजातन्त्र दिवसको सन्दर्भमा ब्यक्त बिचारहरू पनि राष्ट्रपति भण्डारीकाभन्दा फरक रहेका छैनन् । किनकी उहाँले पनि जन चाहनाअनुसारको शासन पद्धति र बिभिन्न पार्टी तथा शक्तिहरूका बीचमा सहकार्यमै जोड दिनुभएको देखिएको छ । उहाँले आफ्नो मन्तब्यमा जनचाहना बमोजिम राजसंस्थाले गद्दी दाउमा राखेर प्रजातन्त्रका लागि जनतासँग हातेमालो गरेको आठौँ दशक पुग्दैगर्दा यसका सबल र सुधार गर्न‘पर्ने पक्षको समीक्षाका साथै ऐतिहासिक क्षणको बिस्तारित एवं यथार्थपरक संस्मरण नयाँ पुस्ताको ज्ञान र प्रेरणाका लागि आवश्यक भइसकेको बताउनु भएको छ । उहाँले अहिले कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको जुन कुरा बताउनु भएको छ, त्यसलाई कसैले पनि नकार्न सक्ने अवस्था छैन । उहाँले विगत २० वर्षमा दशौँ लाख युवाहरू विदेश पलायन र फराकिलो डायस्पोराको निर्माण, बिप्रेषण समाज र अर्थतन्त्र दुवै ठूलो मात्रामा आश्रितहुँदा सकारात्मक र नकारात्मक असरबारे आगामी उज्यालो भविष्यको लागि राष्ट्रिय बहस जरूरी भइसकेको पनि बताउनु भएको छ ।  
उहाँले विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रको समृद्धिमा कुनै गहन योगदान दिन नसकेको कुरालाई पनि उठाउनु भएको छ । देश र जनताभन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभलालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरू फसेको उहाँको बिश्लेषण देखिएको छ । उहाँले शासकीय उत्तरदायित्व र गाम्भीर्यको कमी देशभित्रको सवालमामात्र होइन परराष्ट्र सम्बन्धमा पनि देखिन थालेको बताउनु भएको छ । उहाँले नेपालको सार्वभौमिक परिचयमानै आँच आउनेगरी कमजोर  मानसिकताकासाथ स्वार्थ केन्द्रित अपरिपक्व परराष्ट्र नीतिको अभ्यास गम्भीर चिन्ताको विषय भएको बताउनु भएको छ । उहाँले नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौनरहन सक्दैनौँ भन्दै पछिल्ला वर्षहरूमा देशको दीर्घकालीन शान्ति,स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरापर्न थालेकोमा चिन्ता ब्यक्त गर्नुभएको देखिएको छ । उहाँले अबका दिनमा देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्बगर्न‘ नहुने कुरा पनि उठाउनु भएको छ । जसलेगर्दा हाल सत्ता र शक्तिमा पुगेका बिभिन्न दलका नेता र राजाको बिचारमा सामन्जस्यता देखिएको छ । तर ब्यबहारमा भने पृथकताहरू रहेका छन् । नेपालजस्तो सानो र गरिव मुलुकमा शान्ति, मित्रता र राष्ट्रिय एकताले प्राथमिकता पाउनु पर्नेमा पछिल्ला दिनमा त्यसका ठीक बिपरितका गतिबिधिहरू भैरहेका छन् । खासगरी विदेशी शक्तिहरूको चलखेल नेपालमा बेरोकटोक बढेको देखिएको छ । नेपालमा मुख्य त चीन, भारत र अमेरिकाको चासो बढी देखिएको छ । चीनले आफ्नो सुरक्षाका लागि नेपालकाबारेमा बढी चासो दिएको देखिन्छ । चिनीयाँ नेताहरूले पछिल्ला कतिपय नेपाल भ्रमणहरूमा खुलेरै यहाँको राष्ट्रिय अखण्डतामा आँचआएको आफूहरूले देख्न नसक्ने र नचाहाने बताएको देखिएको छ । त्यसैका लागि चीनले नेपालका लागि आफ्नो बन्दरगाहसमेत खुल्लागरेको अवस्था छ । भारतले  नेपाललाई आफ्नो संरक्षित भूमी मान्दै आएको देखिएको छ । त्यसैले उसले खासगरी ००७ सालपछि नेपालको सुरक्षा, परराष्ट्र मामिला र प्राकृतिक श्रोतमा बढी आँखा लगाएको देखिएको छ । जसलेगर्दा नेपालमा निरन्तर साना÷ठूला घटनाहरू पनि हुँदैआएका छन् । नेपाल र भारतका जनताकाबीचमा कुनै समस्या छैन । तर भारत सरकारको बिस्तारवादी नीतिका कारण बेलाबखत दरारको अवस्था सिर्जना हुनेगरेको छ । त्यसैगरी अमेरिकालगायतका पश्चिमा मुलुकहरूले रणनीतिक रूपमा नेपालमा चासो बढाएको देखिएको छ । जो उनीहरूको उदियमान शक्ति चीनसँगको सम्बन्धमा केन्द्रित छ । 
उनीहरू नेपाली भूमिलाई प्रयोग गरेर आफ्नो स्वार्थ साधनागर्ने प्रयास गरिरहेका छन् । अमेरिका र भारतले नेपालको आन्तरिक मामिलामा आबश्यकताभन्दा बढी चासो दिएका कारण यहाँका सर्बसाधारण जनता उनीहरूप्रति आशंकित रहँदै आएका छन् । बेला बखत यहाँका केही राजनीति पार्टी र शक्तिहरूले भारत र अमेरिकासँग मिलेर आफ्नो निहीत सवार्थ साधना गर्ने÷गराउने प्रयासगर्दा राजनीतिक अस्थिरता बढ्ने गरेको देखिएको छ । हाल नेपालमा भैरहेको पनि त्यही नै हो । ०४५÷०४६ को परिवर्तनपछि नेपालमा बढेको विदेशी हस्तक्षेप ०६०÷०६१ मा पुग्दा नपुग्दै असफल भएको थियोभने त्यसपछि उनीहरूले नयाँ चरणको शुरूवात गरे÷गराएका थिए । नेपालमा ०४६ को राजनीतिक परिवर्तनबाट प्राप्त भएको खुकुलो राजनीतिक वातावरणमा देशभित्रकै शक्तिहरूले आपसमा एकता गरेर देशलाई विकास र परिवर्तनको गतिमा अगाडि बढाउन सकिने अवस्था थियो । तर केही पार्टी र शक्तिहरूले विदेशीको पक्षधरता लिइदिंदा ०४६ को राजनीतिक परिवर्तन औचित्यहीन भएको थियो । ०६२ मा नेपालका संसदवादी सात दल र माओवादी बीच १२ बुँदे सहमति भई तत्कालीन जुनयुद्धलाई संसदीय राजनीतिमा रूपान्तरण गरिएको थियो । फलस्वरूप ०६३ को राजनीतिक परिवर्तन भएको हो । तर ०६३ को राजनीतिक परिवर्तनले पनि नेपालमा विदेशी हस्तक्षेपलाई निषेधगर्न सकेन । बरू विदेशी हस्तक्षेपलाई नेपालका गाउँ गाउँसम्म पुग्ने÷पु¥याउने वातावरण बन्यो । कम्युनिष्ट समूहहरूले देशभक्तिको आफ्नो कर्तब्यलाई भुलिदिँदा आजकोजस्तो अवस्था आएको हो । ०६३ को परिवर्तन असफल भसकेको छ । 
देश फेरी राजनीतिक परिवर्तनका लागि छटपटाउन थालेको छ । तर के देखियो भने ०६३ को राजनीतिक परिवर्तनपछि कम्युनिष्टहरू कम्युनिष्टजस्ता रहैनन्, कांग्रेसहरू कांग्रेस जस्ता भएनन् । सबैले आफ्ना मूल्य, मान्यता र आदर्शहरू भुलेको र त्यसको ठाउँमा स्वार्थ केवल स्वार्थलाई स्थापित गराएको देखियो । हाल आएर कांग्रेस र कतिपय कम्युनिष्ट पार्टीहरूले अस्वाभाबिक ढंले आफूहरूलाई मित्रशक्ति घोषणा गरेका छन् । संसारमा प्रकृतिको नियमनै छ दायाँ र बायाँ कहिल्यै पनि एक हुन सक्तैन । नेपालमा आबश्यकता भन्दा बढी चासो दिंदैआएका शक्ति राष्ट्रहरूकै बीचमा पनि मत्यैक्यता कायम हुनसकेको देखिएको छैन । त्यसैले हाल नेपालको सत्ता र शक्तिमा रहेकाहरूका बीचमा पनि स्वार्थ बाझिन थालेको छ । त्यसैले हाल आएर उनीहरूले आपसमा राष्ट्रिय एकताको नारा दिन बाध्य हुनु परेको छ । राष्ट्रिय एकता सुन्दा जति कर्णप्रिय र सरल छ, त्यतिनै ब्यबहारमा जटिल रहेको छ । जबसम्म नेपालका राजनीतिक दलहरूले राष्ट्रिय राजनीतिबाट अवसरवादलाई हटाउने प्रयास गर्दैनन्, तवसम्म राष्ट्रिय एकता र सहमतिभन्ने हुँदैन । हाल राजनीतिको महारोगनै अवसरवादी प्रबृति भएको छ । स्वार्थमा लागि जो जतिबेला पनि धोखाघडीगर्न तयार रहेका छन् । पछिल्लो आम निर्वाचनमा नेपाली जनताले कसैलाई पनि स्पष्ट बहुमत नदिनुको कारण पनि यहीनै हो । हाल देशमा रहेका बिभिन्न पार्टी र शक्तिहरूकाबीचमा समयसापेक्ष छलफल हुने हो र देशको बस्तुगत ठोस परिस्थितिको ठोस सबिष्लेषण गरेर राज्यको संरचना तयार गर्न÷गराउन सक्ने होभने देश फेरी पनि अगाडि बढ्नसक्ने अवस्था रहन्छ । एकले अर्कोलाई निषेध गरेर राजनीति कदापि अगाडि बढ्न सक्तैन । त्यसैले हालैको राष्ट्रिय प्रजातन्त्र दिवसका अबसरमा सबै पक्षबाट ब्यक्त भएका बिचारहरूलाई संश्लेषण गरेर अगाडि बढ्नु आजको आबश्यकता हो । त्यसैमा राजा ज्ञानेन्द्र, राष्ट्रपति बिद्या भण्डारी र अन्य नेताहरूबाट ब्यक्त बिचारले सार्थकता पाउने छ ।