शाश्वत शर्मा - -
राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति तथा नागरिक बचाऔं भन्ने नारा दिएर गत सोमवारदेखि झापाको काकडभिट्टाबाट एक महाभियानको सुरूआत भएको छ । नेकपा एमालेका सदस्य तथा झापास्थित अस्पतालका सञ्चाल दुर्गा प्रसाईले सुरू गरेको उक्त महाभियानलाई राजा र राजपरिवारले पनि साथ दिएका छन् । उक्त महाभियानको उद्घाटन नै पूर्वराजाले गर्नु भएको छ । अब यो महाभियानलाई देशव्यापी रूपमा लैजाने भनिएता पनि खाका अझे प्रष्ट भएको छैन । गत हप्ताको सोमवार झापाबाट सुरू गरिएको महाभियानको कमान करीव एकहप्ता समय बितिसक्दा पनि थामिएको छैन । कारण राजा र राजपरिवारका सदस्यको उपस्थिति नै हो । त्यसो त विभिन्न समयमा विभिन्न खाले व्यक्ति, संघसंस्थाले यस्ता खाले गतिविधि गरिरहेकै हुन् । तर राजा र राजपरिवारको उपस्थिति देखिएको थिएन । यसपटक विशेष उत्साह देखियो ।
युवराज पारस र अधिराजकुमारी प्रेरणासमेतको केही छिनको उपस्थितिले पनि राष्ट्रिय चासो, अन्तर्राष्ट्रि खुल्दुलीको विषय बन्यो महाभियानको उद्घाटन कायृक्रम । के राजा अब यो महाभियानमार्फत स्वयम् मैदानमा ओर्लनु भएको हो त ? त्यस कार्यक्रममा राजा र राजपरिवारका सदस्यले केही बोलेनन् । तर राजनीतिक दलका लालबुझक्कडहरूले वर्तमान व्यवस्था उल्टाउनै लागेको निष्कर्ष निकलो । एमाले नेता शंकर पोखरेलले प्रेतात्मा ब्यूँतिन खोजेको भने, प्रधानमन्त्री प्रचण्डले प्रतिगमनले टाउको उठाउन खोजेको भनेर बुझे । त्यस्तै बिना ढेउवाके उर्फ माधव नेपालको कथन पनि त्यस्तै रह्यो । झापा एमालेले राजपरिवारलाई त्यस्तो कार्यक्रममा निम्त्याएको भनेर कारवाहीको सिफारिस गरिएको छ । पूर्व माओवादी, वर्तमान एमाले दुर्गा प्रसाईलाई यो व्यवस्था उल्टाउन राजाले साथ दिएकै हुन् त ? यो व्यवस्थाले नेपाल र नेपालीका लागि भलो नगरेको पक्कै हो । यही व्यवस्था र अवस्था रहने हो भने मुलुक नै नरहने अवस्था आइसक्यो । जनअसन्तोष सडकमा पोखिनु अस्वभाविक होइन । सवाल यो महाभियानले गति लेला त भन्ने हो ? २० गते काठमाडौंमा समापन हुने यो महाभियानको सुरू र अन्त्य, त्यसपछिको गति मति थाहा पाउन सकिने छ । राप्रपादेखि केशर विष्टको मोर्चा, शिवसेनादेखि वीर गोर्खालीसम्मले अघि अघि यस्ता कार्यक्रम गरेकै हुन् । मौसमअनुसार चले, ताते अनि सेलाए । एकदिनको रमझममात्र हो भने राजपरिवार बिटुलिन जरूरी थियो र ? निम्तो केपी ओलीदेखि अन्य राजनीतिक व्यक्तिहरू उक्त कार्यक्रममा किन गएनन् ? सर्वस्वीकार्य कार्यक्रम गर्न खोज्दा हुनसकेन । अझ ओलीलाई हजुरबा मान्ने दुर्गा प्रसाईको कार्यक्रम झापामा र झापामै रहेका ओलीले उपस्थिति जनाएनन् । नागरिक कार्यक्रम नै बहिष्कार ?
देश बर्बाद भइसक्यो, किन टुलुटुलु हेरेर बस्नुहुन्छ भन्ने दुर्गा प्रसाईको प्रश्नमा प्रभावित भएर पूर्वराजा कार्यक्रममा गएर जनतासँग साक्षात्कार गरे । जनता के चाहन्छन्, यसको छिनोफानो यो महाभियानको आगामी कायृक्रमहरूमा देखिएला ? अरू त अरू, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसमेत गएनन्, कार्यकर्ता नेतालार्य नजान निर्देश जारी गरेको समाचार आयो । भन्नेहरू दुर्गा प्रसाई देशको अवस्थाले भन्दा पनि बैंकको ऋणको प्रताडनाबाट बच्नकार्यक्रम गरेको भनिन्छ । उत्साहित जनता राजा आउने कुराले आकर्षित भए, आए, कार्यक्रम भयो, नागरिकको बेहालका कुरा र दललाई गाली गरियो, कार्यक्रम समापन भयो ।
अब राष्ट्रपतिको निर्वाचनको चटारो परेको छ पार्टीहरूलाई । त्यसपछि अर्को मुद्दा आउँछ, त्यतातिर विषयान्तर गरिनेछ आमनागरिकलाई । स्वयम पूर्वराजाले राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव गरिसकेको अवस्था पनि छ । यो स्थितिमा महाभियानले के कति प्रभाव पार्ला, देखाउला ? साँचो भन्ने हो भने नेता, व्यवस्थाबाट हरेक दिन पीडित भएका जनता आफै सडकमा उत्रनु पर्ने हो । राष्ट्र, राष्ट्रियता, अस्तित्वप्रति चिन्तित, जागरूकता जनतामा देखिएन । नेतृत्व नै चाहिने भए पूर्वराजाभन्दा राष्ट्रिय नेतृत्व कसले लिन सक्थ्यो र ?
आफ्नी बहिनीलाई धक्कामुक्काबाट बचाउन पूर्व युवराजले अलिकति भीड ठेलेको विषयमा प्रहरी कुटेकोसम्मको दुस्प्रचार हुनपुग्यो । दलसम्बद्ध मिडियाहरूले युवराज पारसको त्यो आत्म र आफन्त सुरक्षाका लागि गरिएको कार्यलाई नकारात्मक ढंगले प्रचार गरिरहेका छन् । एकथरिको विचारमा जानीजानी राजा र युवराजलाई बदनाम गराउन प्रहरीको दुरूपयोग गरिएको हो । समष्टिमा भन्नुपर्दा, दलहरूको कब्जामा बस्न रूचाउने जनताले जबसम्म आँखा उघार्दैनन्, तबसम्म यस्ता तामझामले केही हुनेवाला छैन । विदेशी धाप पाएका दल र तिनका कार्यकर्ताहरूले नैपालको झण्डा लिएर नारा लगाएको त्यति सार्थक नहोला । हो, मुलुक बचाउन नेतृत्व चाहिन्छ । दुर्गा प्रसाई उपयुक्त पात्र हुनसक्लान र ?
राष्ट्र, राष्ट्रियताको संरक्षणका लागि राजा नै अघि सरेर, नेतृत्व लिनु उत्तम विषय हुनसक्छ । मुख्य कुरा दल दलमा बिभाजित जनतालाई देश र अस्तित्वप्रतिको चेतना जगाएर आकर्षित गर्न सक्नुपर्छ । अन्यथा यस्ता कार्यक्रम एउटा पर्वका रूपमा आउँछन् र जान्छन् । पर्वले परिवर्तन ल्याउन सक्दैन ।