आधुनिक नेपाल कुनै सङ्घर्ष नगरी विकसित भएको मुलुक होइन । यसको इतिहास अत्यन्त गौरवशाली छ जसमा हाम्रा पुर्खाहरूले मातृभूमिको अस्तित्वका लागि ठूला–ठूला बलिदान दिएका छन् । हो, धेरै अघि प्रशासनिक, आर्थिक वा यातायातको अभावले यो देश विभिन्न भागमा आफ्नै–आफ्नै किसिमले छुट्टिएर बसेको थियो तापनि परस्परमा केही न केही सम्पर्क भएकै हुनाले आर्थिक र सांस्कृतिक कारणले यी खण्ड–खण्डमा रहेका भूभागहरू र जातजातिहरू एउटै सूत्रमा बाँधिएकै थिए । राजनैतिक रूपले यी टुक्रिएका खण्डहरू एक हुनु र आफ्नो अस्तित्व सुदृढ पार्नु ऐतिहासिक आवश्यकता थियो । यसै ऐतिहासिक आवश्यकतालाई भविष्यदर्शी ऐतिहासिक पुरूष पृथ्वीनारायण शाहले राम्ररी विश्लेषण गरी कार्यरूपमा परिणत पनि गरे जसको फलस्वरूप आधुनिक नेपालको जन्म भयो । सम्पर्कको भाषा उच्च वर्गहरूमा नेपाली नै थियो र बहुभाषी जनता त्यही माध्यमलाई ठोस पार्न चाहन्थे । पृथ्वीनारायण शाहको उदयपछि राजनैतिक रूपले मात्र यी जातजातिहरूको एकीकरण नभई भाषिक, सांस्कृतिक र हार्दिक रूपले पनि सहजतासाथ हुनगयो । यही एकीकरणले गर्दा नेपालीहरू आफ्नो वीरता प्रदर्शन गर्नमा विश्वविख्यात भएर पहिला त पृथ्वीनारायण शाहको नेतृत्वमा विश्वको अजेय र अद्वितीय शक्तिशाली मानिएको बेलाइती साम्राज्यमा कहीं पनि घाम अस्ताउँदैन भन्ने अङ्ग्रेजी घमण्डलाई चकनाचूर पार्ने नेपाली वीरता नै हो । हामीले राजन कार्कीका यी राष्ट्रप्रेम भनेपछि हुरूक्क हुने सवल रचनाहरूलाई यसै पृष्ठभूमिमा अध्ययन गरेमा कुरो छर्लङ्ग हुनेछ ।
नेपाल गौरवको जयगान गाउनु हामी हरेक देशभक्त नेपालीको कर्तव्य हो तापनि आज आएर सङ्कीर्ण व्यक्तिगत वा पारिवारिक स्वार्थमा डुबेका हाम्रै दाजुभाइ–दिदीबहिनीहरूले हाम्रो इतिहासलाई नै अपमानित गर्न तम्सिएको देख्दा निबन्धकार कार्कीको स्वाभिमानमा पहिरो गएकाले यी रचनाहरू स्वाभाविक रूपले र स्वच्छन्दताका साथ भुलभुलिएका छन् । यो निष्ठा, यो उत्साह र यो राष्ट्रप्रेम समग्र सचेत नेपालीहरूको हो र यसैलाई लेखकबाट पठनीय र सशक्त शैलीमा यहाँ प्रस्तुत भएको छ ।
यी लेखहरूमा तीक्ष्ण व्यङ्ग, कठोर प्रहार र सशक्त आलोचना पाइन्छ । पाठकले दिनहुँ अनुभव गरेका मार्मिक पीडाहरूको यति राम्रो चित्रण, राष्ट्रिय चोट सहनुपर्दाका असीम वेदनाको निर्धक्क विश्लेषण तथा बाहिरी हस्तक्षेपको तार्किक व्याख्या अरूतिर पाउन दुर्लभ छ । यिनै सब कारणले गर्दा यो ग्रन्थ पठनीय, मननीय र अनुसरणीय छ भन्ने मेरो प्रवल धारणा छ । हाम्रा समस्त राष्ट्रिय आस्था तथा स्नेहको केन्द्रस्थल काठमाडांैलाई युग–युगदेखि जीवनदान दिँदै आएको पवित्र आमातुल्य बागमतीलाई प्रतीक बनाएर हामीभित्रको मातृभूमिप्रतिको श्रद्धालाई प्रकट गराउने यस ग्रन्थको शीर्षकले मात्रै पनि आफ्नो उद्देश्य पूर्ण गरेको छ भन्ने मलाई लाग्छ ।
डा. तारानाथ शर्मा, कामनपा– ५०५, सरस्वतीनगर