२०६४ सालको संविधानसभाको निर्वाचनमा ३१ लाख मत पाएर एकछत्र राज गरेको नेकपा माओवादीले संविधान बनाउन सकेन, अर्को संविधानसभाको निर्वाचन भयो । मतसंख्यामा साँघुरिदै गयो, २०७४ को निर्वाचनमा झन साँघुरियो भने २०७९ मंसिर ४ को निर्वाचनमा ११ लाख ७५ हजार मतमा साँघुरिएर बल्ल बल्ल राष्ट्रिय पार्टीमा गनिन सक्ने अवस्थामा आइपुग्यो । यो निर्वाचनमा त राजधानीमा माओवादीले एक सिट पनि जित्न सकेन, रास्वपाजस्ता नयाँले जितेर देखाए ।
मतदाताको मनस्थिति बुझेर हुनसक्छ । विदेशी प्रजातान्त्रिकरणका अगुवाहरुले नकारात्मक सोच बनाएकाले तिनलाई सकारात्मकतामा बदल्न पनि हुनसक्छ, नेकपा माओवादीले कम्युनिष्टको नाम र चुनाव चिन्ह बदल्ने र कम्युनिष्टले लिने, लिनसक्ने र लिएका नीतिहरुलाई समेत बदल्ने अठोटमा अध्यक्ष प्रचण्ड पुगेका छन् । प्रचण्डको यो प्रजातान्त्रिक छलाङलाई सबैले उचित निर्णय भनेको सुनिन्छ ।
नेकपा माओवादी केन्द्रले नाम र चुनाव चिह्न बदल्ने निर्णयमा पुगेको छ । अमेरिकी उच्चाधिकारीहरुको भ्रमणपछि यस्तो निर्णय लिएकाले कतै भू–राजनीतिक दवाव, स्वार्थ र सर्तका कारणले त होइन ? भन्ने प्रश्न उठेको छ ।
यद्यपि नेकपा माओवादीले जनवाद जनवाद भने पछि धनवादमा लागेको दृश्य देखिएको छ । यसकारण नाममात्रको कम्युनिष्ट ब्यानर झुण्ड्याउनुको कुनै तुक नरहेको कम्युनिष्ट विषयमै विद्यावारिधि गरेका डा.सुरेन्द्र केसीले बताएका छन् ।
हुन त नेपालमा कम्युनिष्ट नाम गरिबीका कारणले फाप सिद्ध भएको हो । यद्यपि चीन अथवा उत्तर कोरियाको जस्तो शासन व्यवस्थामा जानसकिने अवस्था छैन । जब उत्तर कोरिया अथवा चीनमा जस्तो शासन व्यवस्था, कानुन व्यवस्थामा टिक्न सकिदैन, ल्याउन सकिदैन भने कम्युनिष्टको नाम र चुनाव चिन्ह राख्नुको अर्थ नै के रहन्छ र ? प्रचण्डको प्रस्ताव अघि आएपछि विश्लेषकहरुले यो राम्रो निर्णय भनेका छन् । यद्यपि नेपालमा कम्युनिष्टहरु खुलापन र पुँजीवादी भएसकेका छन् ।
पछिल्लो १२ देखि २१ माघसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले नाम, चुनाव चिह्न बदल्ने प्रस्ताव गरेका थिए । प्रचण्डको उक्त प्रस्ताव अनुसार माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न बदल्ने भएको हो । अब स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डको प्रस्तावलाई पास गरेपछि पार्टीको नाम र चुनाव चिह्न बदलिने छ । यो समाचारसँगै नेकपा माओवादी केन्द्रको नाम र चुनाव चिन्ह के कस्तो हुनसक्ला भन्ने नयाँ बहस सुरु भएको छ ।
प्रचण्ड बेला बेलामा छलाङ लगाउने डाइनामिक नेता हुन् । उनको यो डाइनामिजमलाई केही विश्लेषकहरुले अवसरवादको नामसँग जोडेका छन् । तथापि २०६३ सालको जनआन्दोलन र परिवर्तनपछि नेपाली शासन सत्ताको केन्द्रमा प्रचण्ड रहदै आएका छन् । ०७९ मंसिर ४ को निर्वाचनपछि संसदको २७५ मा जम्माजम्मी समानुपातिकसहित ३२ सिट रहेको नेकपा माओवादीका अध्यक्ष प्रचण्ड यतिबेला प्रधानमन्त्री पदमा आसिन हुनपुगेका छन् । यसैबाट थाहा लाग्छ, प्रचण्ड कति चलाख राजनीतिका खेलाडी हुन् भनेर । अब पार्टीको नाम, चुनाव चिन्ह, संरचनागत, विधि र पद्धतिका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्ने प्रचण्डको प्रस्तावले माओवादीभित्र ठूलै ज्वार उठेको छ ।
प्रचण्डको यो निर्णयले उनको पार्टीको हैसियत ह्वात्तै बढाउन सक्ला र ? तर अपेक्षा यस्तै गरिएको देखिन्छ ।