नेपाली कांग्रेसका नेता एवम् सांसद डा शशांक कोइरालाले पुनः भनेका छन्– नेपाल हिन्दू राष्ट्र हुनुपर्छ । उनको विचारमा जनमत संग्रह गरेर नेपाललाई हिन्दुराष्ट्र कायम गराउनु जरुरी भएको छ ।
कोइरालाले आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी भएर आफूले नेपाल हिन्दू राष्ट्र हुनैपर्ने अठोट लिएको खुलासा गरेका छन् । कोइरालाकै शब्दमा ‘जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गराउनु पर्छ । यस आश्रमका लागि स्तरोन्नति गर्न आफू, सरकार, दातृ निकाय र भातृ निकायमा समेत पहल गर्ने आश्वासन दिएका छन् ।
यो महायज्ञ श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रमको आयोजनामा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गरेका छन् ।
यो आश्रमस्थलको बृहत् गुरु योजनाअनुसार समावेशी गुरुकूल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशालालगायत विविध भौतिक संरचनाको निर्माणका लागि यो महायज्ञ फागुन १ गतेसम्म लगाइएको थियो । महायज्ञमा यस क्षेत्रकामात्र होइन, अन्य टाढा टाढाका भक्तालुको व्यापक सहभागिता थियो ।
यो महायज्ञमा एक करोड २० लाखभन्दा बढी सङ्कलन भएको र अझै भक्तालुबाट सहयोग आइरहेको बताइएको छ । महायज्ञस्थलमा १६ करोड बराबरको पाँच तले धर्मशाला निर्माणका लागि शिलान्याससमेत भएको छ । संरचना निर्माण हुनेछ, हिन्दुराष्ट्र होला कि नहोला ? भन्न सकिन्न ।