Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

भ्रष्ट नेता, निराश जनता

२३ सोमबार , माघ २०७९२ बर्ष अगाडि

शाश्वत शर्मा - -
समस्या ज्यूँका त्यूँ छन्, बहस रवि लामिछानेमा अड्किएको छ । यो समस्यापछि राष्ट्रपति, उपराष्ट्रपतिको चुनावमा राजनीति केन्द्रित हुनेछ । यसपछि संवैधानिक निकाय, आयोग, राजदूतको भर्ति खुल्नेछ । सत्ताका लोभीपापीहरू यस्तै स्वार्थन्धतामा मुग्ध हुनु स्वभाविक हो । पीडित जनताको समस्यामा कसैलाई चासो छैन । अराजकता र महगी जति बढोस् मतलव छैन । यस्तै खेलमा जनता मजा लिइरहेका छन् । रगत चुसाएर आनन्द लिने भनेको यस्तै होला ।
ायिनले कस्तो आश्वासन दिएर, घोषणापत्रमा भुलाएर चुनाव जितेका थिए, सत्ता र संसदमा पुगेका थिए, कसैले हेक्का राखेका छैनन् । के गर्छौ भनेर जनताले सोध्दा पनि सोध्दैनन् । देशका समस्या सम्झाउनुको साटो मतदाताहरू पक्ष विपक्षका सत्ता खोसाखोस, लुटालुटको खेलमा समेल भएको देखिन्छ । २० खर्व ७ अर्व टाउकामा ऋण बोकेर राजनीतिक गोटी हुनसक्ने नेपाली रहेछन् । यो ऋण कुन कुन काममा खर्च भयो भनेर कुमारीचोकमा बुझाउ भन्दैनन् जनता । अर्थविदहरू भन्छन्– समस्या विकराल बनिसक्यो । व्यापारी र उद्यमी लाभमाथि लाभ लिदैछन्, चितवनतिरका कृषक सडकमा कृषि उत्पादन फालिरहेका छन्, कतिले आफैलाई सम्हाल्न नसकेर आत्महत्या गर्न थालेका छन् । तर सत्ताधारी र ठूला पार्टीहरू आफ्ना मान्छेलाई कसरी राष्ट्रपति बनाउने र आफू सर्वेसर्वा हुने भन्नेतिर चासो राखेर दौडादौड गरिरहेका छन् । यी सबैमा संवेदन मरिसक्यो ।
ओली र प्रचण्डको आफ्नै खेल छ । कांग्रेस गृह र राष्ट्रपति पाए सरकारमा जाने भनेर प्रजातान्त्रिक मर्यादा भुलिसक्यो । माओवादी, एमाले, कांग्रेस यिनै हुन् ठूला दल, यिनमा कहाँनेर छन् जनता, कहाँनेर छ देश ? पूर्वतिरका उद्यमी भनेर चिनिएका दुर्गा प्रसाईले पूर्वराजासँगको भेटमा देश बेहाल भएको कथा सुनाएछन्, पूर्वराजा चिन्तित भएको प्रसाईले सुनाएका छन् । यहाँका नागरिक समाज र बुद्धिजीवीको त के कुरा गर्नु ? ती भन्छन्– भारतले देवराज घिमिरेलाई सभामुख बनायो, अब राष्ट्रपति अमेरिका र उपराष्ट्रपति चीनले बनाउँछ रे । आमनागरिकलाई सुसूचित गराउने, मार्ग भुलेकालाई सचेत गराउने यिनको कर्म छैन, यिनीहरू यस्तै यस्तै बकवासमा रमाउँछन् । हो, कमजोर भएपछि विदेशीले खेल्छन्, तर हरेक विषयमा विदेशीलाई जोडेर आफै किन हलुका हुन्छन् ? यस्तो अवस्थामा लोकतन्त्र सुदृढ गर्नुपर्छ भन्छन् । के लोकतन्त्र र गणतन्त्रले लाभ दिएको छ । कुन जनताले लाभ पाएका छन् ? जनतालाई पार्टी पार्टीमा विभाजित गरेर र आफै विभाजित भएर नागरिक समाज र बुद्धिजीवीले के गरिरहेका छन् ? यस्तो चाल र तालले नेपाली जनता जागरूक हुने चाहिं कहिले ?
केही समय अघि श्रीलंकाका राजापक्ष बन्धुहरूलाई तिनका दरवारबाट श्रीलंकाली आमनागरिकले घरघरबाट थुतेर निकाल्दा यहाँ पनि सोही घटना दोहोरिने आँकलन गरिएको थियो । अचम्म, आवधिक चुनावमा तिनै नेताहरूले चुनाव जिते । जनतामा चेतना छ, चेतना जागरूक भएकै रहेनछ । भइरहेको अन्याय, अत्याचार सहने, बस्ने, आफू र आफ्नो देश जरजर भएको देखेर पनि नबोल्ने यी कस्ता नेपाली जनता हुन्, जो हरेक चुनावमा भ्रष्ट प्रवृत्तिलाई जिताइरहन्छन् ?
सहयोग लिंदा भ्रष्टाचार, ऋण लिंदा कमिशन, शासन प्रशासन–हरेक आयोजनामा लेनदेन, लोकतन्त्र डरलाग्दोसँग भीरमा पुगिसकेको छ । आमनागरिक कहाँ छन् ? खाली सत्ताको खेलमा रमाएर सुखी भइन्छ, समृद्धि आउँछ ? सोझा जनतालाई नेतृत्व दिने र जुकाजस्ता नेतृत्वलाई नूनचुक लगाउन सिकाउने कसले ?
जनयुद्धमा के भनियो, जनआन्दोलनमा के कस्ता आश्वासन दिइयो ? परिवर्तनपछिको १५ वर्षमा के के भयो ? हुँदैछ ? भुसुक्कै बिर्सन सकिन्छ ? भ्रष्टाचारभन्दा डरलाग्दो तरिकाले राष्ट्रघात भइरहेछ, जनमतको अपमान सामान्य भइसक्यो, यी सबै डरलाग्दो भविष्यको संकेत हो । जनतामा बढ्दो नैराश्यता पनि हो । कसैले पनि कुनै कुनाबाट देश र जनताका लागि सकारात्मक कार्य नगरेपछि यस्तै मूर्दा शान्ति देखिने गर्छ । यति हुँदा पनि तिनै भ्रष्ट घातीहरू पटक पटक चुनाव जित्ने, सत्तामा पुग्ने, पक्ष विपक्ष हुनेको कारण जनताले निराशा व्यक्ति गरेकाले नै हो । जो आए पनि कानै चिरिएका त हुन् नि भन्ने भावना बढेको छ । त्यसो हो भने जनताले यस्तै त हो नि भनेर रमाइलो लिएका मात्र हुन् त ? केही जानकारहरू यस्तो तर्क पनि दिन्छन् । संविधान छ, कानुन छ, विधि व्यवहार र सामाजिक बन्धनहरू पनि छन् । कुनै नेताले त्यसको आचरणमा बसेका छैनन् । जति मिचे पनि हुन्छ भन्ने बाहुबली सोच नेतृत्व र शासक वर्गमा बढेको छ । कुनै विरोधको आवाज उठ्दैन, अदालतसमेत यस्तैको पक्षमा पर्खाल बनेर खडा देखिन्छ । यस्ता महामारीजस्ता नेता र तिनको स्वार्थन्ध राजनीतिलाई चिर्दै सही नेतृत्व दिन कोही पनि उभिएको देखिदैन । नेता थुप्रै छन्, स्वार्थी नेता । राजनेता कोही पनि छैन । कुनै नेता त्याग र बलिदान दिन तैयार छैन । हरेक क्षण कसरी स्वार्थ पूर्ति हुन्छ भन्ने मात्र छन् । केही नयाँ संसद पुगेका र सत्तामा साझेदार बन्दा पनि तिनले समेत केही लछारपाटो लगाउन सकेको देखिदैन । रत्नपार्कको चटकजस्तो भयो राजनीति । जनता यिनैलाई हेर्ने र रमाइलो मानेर भविष्य सुनिश्चित होला त ?