नाइजेरियामा पढेलेखेका एकजना युवा पनि बस्न चाहदैनन् र उनीहरू धमाधम पलायन हुँदा ‘ब्रेन ड्रेन’ को डरलाग्दो समस्या देखिएको छ । नेपालमा प्लस टु पास हुनु भनेको विदेश जाने लाइसेन्स बन्न थालेको छ । अन्य पढेलेखेकाहरूसमेत नेपाल बस्न लायक रहेन भन्दै विदेशीने हतारमा छन्, शिक्षा मन्त्रालयदेखि हरेक दूतावासमा भिसाका लागि लागेको लाइन र एयरपोर्टमा हरेक दिन विदेश उड्ने युवाहरूको ताँती देख्दा नेपाल बुढाबुढी र बालबालिकाको देश हुने खतरा बढ्यो ।
विश्व बैंकले केही वर्ष अघि नै रिपोर्ट दिएको थियो, २० वर्षपछि नेपाल बुढाबुढी र केटाकेटीको मात्र देश रहनसक्छ । उता नाइजेरियामा जुन समस्या छ, नेपाललाई त्यही समस्याले गाँज्यो ।
कोरोनाले विश्वअर्थतन्त्र नै डावाँडोल बनायो । नेपाल विकासशीलमा उठ्ने तरखरमा थियो, अविकसितमै थच्चियो । राजनीतिक अपराधिकरण झन बढ्यो, यसका कारणले कुशासनमा बृद्धि भयो । ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टले समेत नेपाल अति भ्रष्टाचारीको मुलुक भनिसक्यो, सुधार गर्न राजनीतिक प्रतिवद्धता छैन, हरेक नेता, प्रशासक कमाउन लागिपरेका छन्, न्याय व्यवस्थापनसमेत भ्रष्टाचारकै पोखरीमा डुबेको देखिन्छ ।
बीआरआईको रूपमा चिनियाँ ऋणको जालो खतरनाक हुने प्रमाण देखिएका छन् । एक त सर्वत्र अराजकता, त्यसमाथि गृहयुद्धको सम्भाबना, वैदेशिक ऋणको जालो, देश कसरी उठन्े ? उठाउने नेतृत्व भ्रष्टाचारमा रमाउन थालेपछि ।
अफ्रिकाको ठूलो अर्थतन्त्र भएको नाइजेरिया अफगानिस्तान, श्रीलंका, पाकिस्तानको हालतमा पुगेको छ । जीवन चलाउन गाह्रो भएपछि युवाहरू विदेशीनु स्वभाविक हो । बीबीसीले लेखेको छ–
युवाले नाइजेरिया छाड्नुको मुख्य कारण त्यहाँ बढेको महँगी र बेलायतको तलब नै हो ।...त्यहाँ केही प्रशासनिक झन्झटले गर्दा ६ देखि नौ महिनासम्म तलब नपाएको अवस्था समेत आएका छन् । धेरै वरिष्ठ चिकित्सकहरू गाडीमा पेट्रोल हाल्न तथा बच्चाहरूको विद्यालयको शुल्क तिर्न पनि नसक्ने अवस्थामा पुगी सकेका छन् ।...जीवन यापन नै कठिन बनेकै कारण धेरै नाइजेरियालीले आफूलाई दुर्भाग्यशाली ठान्न थालेका छन् ।
नेपालको हालत पनि यस्तै छ ।