महाभारतमा कौरव र पाण्डवपक्षको भीषण युद्धमा पिता द्रोणाचार्यको हत्या भयो । गुरूपुत्र अश्वस्थामा पाण्डवलाई सिध्याइदिन्छु भनेर पाण्डवको शिविरमा पस्छन् र लहरै सुतेका ५ जनाको हत्या गरिदिन्छन् । जो मारिए ती द्रोपदीका ५ पुत्र थिए, पाण्डव थिएनन् । थाहा पाएपछि अर्जुन जंगिए— अश्वस्थामालाई मार्न तैयार भए ।
कृष्ण पनि त्यही आइपुगे । द्रौपदीका ५ छोरा मार्ने हत्यारो अश्वस्थामालाई बध गरिदिन्छु भनेर अर्जुनले हतियार उठाए । द्रौपदीले अर्जुनलाई सम्झाइन्— आवेगमा नआउ अर्जुन । अश्वस्थामा ब्राम्हण हुन्, गुरूपुत्र हुन् । मेरा ५ भाइछोरा मारिए, अश्वस्थामालाई मारेर मेरा छोरा फर्कने होइनन् । अश्वस्थामालाई मारेपछि उनका पुत्रहीन पत्नी, पतिविहीन भएर बेसहारा हुन्छिन्, त्यो अर्को अधर्म हुन्छ । धर्मराज युधिष्ठिरले अर्जुनलाई द्रौपदीका सुझावमा ध्यान देउ भने । भीम, नकुल, सहदेवले पनि श्रीकृष्णतिर हेरे । श्रीकृष्णले अर्जुनलाई ज्ञान दिए— पार्थ, स्वत्वको परित्याग पनि मृत्यु नै हो । भौतिक शरीर मार्नुमात्र बध होइन । त्यसपछि अर्जुनले अश्वस्थामालाई चारपाटा मुडिदिए, शिरबाट मणि हरण गरे र उसको स्वत्व हरण गरिदिए ।