य श्रीराम ! रामको मूर्ति बनाउनका लागि कालीगण्डकीको शीला जनकपुरधाम हुँदै भारतको अयोध्या पठाइएको छ । नेपाल–भारतवीच धार्मिक, सास्कृतिक तथा आध्यात्मिक अनुपम सम्बन्धको सुन्दरपक्ष हो यो । भारत नेपाललाई हिन्दुराष्ट्र मान्छ, तपोभूमि मान्छ । तर त्यही भारतसँग नेपालका अनेकन दुखेसो पनि छ, त्यो चाहिं भारतले कहिले सुनेन ।
कालीगण्डकी नदीका दुई ठूला ढुंगा किन लगिँदैछ भारतको अयोध्या ?
म्याग्दीको बेनी बजार निकट कालीगण्डकीको किनारबाट दुई ठूला ढुङ्गा भारतको अयोध्या पठाइएको हो, यी ढुङगाबाट राम मन्दिरमा राख्ने मर्यादा पुरूषोत्तम रामको प्रतिमा बनाइनेछ ।
यी २६ र १४ टनका दुई ढुङ्गा म्याग्दीको गलेश्वरमा मोटरमा लोड गरियो र पठाइयो, बाटा बाटामा मानिसहरूले पूजा गरेर आस्था प्रकट गरे । यी दुई ढुङ्गासँगै एउटा अर्को शिला पनि थियो, जसलाई जनकपुरमा राखिएको छ ।
जानकारीअनुसार यी दुई शिलामध्ये एउटालाई कुँदेर रामको बालस्वरूप ‘रामलला’ बनाइनेछ, जुन मूर्ति कमलको फूलमाथि बिराजमान हुनेछ । अर्को शिलाबाट मन्दिरका अन्य मूर्ति बनाइने कार्यक्रम रहेको छ । यी दुई ढुङ्गा रामको मन्दिरमा स्थापित गर्नका लागि नेपालले पठाउनु पाउनुलाई संघीय र प्रदेश सरकारमात्र होइन, बेनी नगरका मेयरले समेत खुशी प्रकट गरेका छन् । यी दुई शिला निकाल्नु र पठाउनु पूर्व क्षमापूजा गरिएको थियो । स्मरणीय छ, अयोध्याको ‘राम मन्दिर निर्माण समितिले रामलला बनाउन हाम्रो पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिसँग कालीगण्डकीको शिला लैजान पाए हुन्थ्यो भनेका रहेछन्,’ त्यसपछि नेपालले स्वीकृति दिएको हो ।
कम्तिमा हजार वर्ष टिक्ने शिला पठाउनु पूर्व आवश्यक प्रक्रिया पूरा गरिएको थाहा भएको छ । यसका लागि तिर्नुपर्ने राजस्व म्याग्दी उद्योग वाणिज्य संघले तिरेको छ । खबर छ, दुईटा शिलाको मूल्य ५ हजार ८ सय ७ र कर ८ सय सन्ताउन्न लागेको थियो ।
हिन्दु धमअनुसार रामलाई विष्णुको अवतार मानिन्छ । विष्णुका ४ अवतारमध्ये पिपल, कुश, तुलसी र शालिग्राम मानिन्छ । रामको मूर्ति शालिग्राम पाइने कालीगण्डकीको ढुंगाबाट बनाउन उपयुक्त भएकाले अयोध्याको राम मन्दिर निर्माण समितिले नेपालको कालीगण्डकीबाट लैजान चाहेको थियो । जसलाई नेपालले उपहारका रूपमा आस्थासहित पठाएको छ । शिलासहित अष्ट धातुले बनेको धनुष पनि पठाइएको छ । रामले सीतासँग विहे गर्नका लागि धनुष उठाएको र तीनटुक्रा हुनेगरी भाँचिएको प्रसङ्ग रामायणमा छ ।
यद्यपि नेपालमा धेरैजसो मन्दिरमा भारतबाट ल्याइएका मूर्ति देखिन्छन् । अयोध्याको राम मन्दिरमा नेपालको शिलाबाट राममन्दिर बन्ने छ । यसको उचित प्रचार हुनसके नेपालका मठ मन्दिर, घाटहरूमा धार्मिक पर्यटनको व्यापक सम्भाबना बढ्नेछ ।
त्यसै पनि हिन्दुहरू भारतका अनेक तीर्थ जान्छन् । भारतीयहरू पनि नेपालमा तीर्थयात्रा गर्न आउने गर्छन् । हिन्दु विश्वास के पनि छ भने देवी देवताको अङ्ग भारतका अनेक स्थानमा भए पनि शिर भने नेपालमा छ । भगवान पशुपति नाथ शिरका रूपमा रहेको विश्वास गरिन्छ । शिला छान्न आएका भूगर्वविदले छानेको शिलाबारे ५ वटा शिलापत्र बनाइएको छ । ती शिलापत्र पोखरा, काठमाडौं, जनकपुर र राम मन्दिरमा पनि राखिने छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वाकांक्षी योजना हो राम मन्दिर । अयोध्यामा राम मन्दिर बनेपछि दैनिक १ लाख पर्यटक आउने विश्वास छ भारतको । यसबाट नेपालले लाभ लिनसक्ने र यसका लागि विशेष योजना अहिलेदेखिनै लागू गरिनु उचित हुने पर्यटनविदहरूले बताएका छन् ।
लामो समय अयोध्याका विषयमा मुस्लिम र हिन्दुवीच विवाद रह्यो । उक्त ठाउँमा मुगल सम्राटले सन् १५२८ मा बाबरी मस्जिद बनाएका थिए । सन् १८५९ मा तत्कालीन ब्रिटिस शासकले मस्जिदमा मुस्लिम समुदायले प्रार्थना र बाहिर हिन्दु समुदायले पूजा गर्ने व्यवस्था मिलाएको विषयले ठूलै रडाको मच्चियो । तर, भाजपा लगायतका हिन्दुहरूले आक्रमण गरेपछिको डरलाग्दो हिन्दु मुस्लिम झडपमा २ हजार भन्दा बढीले ज्यान गुमाए । सन २०१९ नोभेम्बर ९ को ४० दिने बहसपछि सर्वोच्च अदालतको फैसलाअनुसार मन्दिर बनाउन पाउने भनियो र सोही स्थानमा राम मन्दिर बनाउन लागिएको हो ।