राजन कार्की - -
प्रेम आचार्यले आत्म दाह गरे । यो समाचार कम नागरिक विद्रोह हो । हरेक दिन कुनै न कुनै जिल्लामा नागरिकले आत्महत्या गरेका समाचार आउँछन् । नागरिकले ज्यानै फाल्ने निर्णय गर्नु भनेको लोकतान्त्रिक व्यवस्थाको अन्त्य हुँदैगएको हो । किन नागरिकले हार मानेर ज्यान फालिरहेका छन् ? भन्ने विषयमा चिन्तन, मनन गरिएन भने यो हार विद्रोहमा परिणत हुन बेर लाग्नेछैन । सुनामी आएपछि सुनामीले कुनै नेता, पार्टी कति बलियो छ भनेर हेर्दैन । सुनामी आउनु भनेको समाप्त हुनु हो ।
१० वर्षे जनयुद्ध बेकार भयो । १९ दिने जनआन्दोलनमा जनयुद्धलाई मिसाएर बाढी बनाएपछि बल्ल राजतन्त्र झुक्यो र परिवर्तन भयो । परिवर्तन निरङ्कूशता हटाउने थियो तर विदेशीको इसारामा चलेका लम्पसावादीहरूले उनीहरूको सङ्केत र उक्साहटमा लागेर गणतन्त्र नै घोषणा गरिदिए । हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष नै बनाइदिए । लामो समयको एकछत्र राजमा रहेका जनताले योभन्दा राम्रो गर्लान् कि ? सुख समृद्धि देलान् कि ? सुशासन कायम गर्लान् कि भनेर आश गर्दागर्दै परिवर्तनकारी राजनीतिक नेतृत्वले १५ वर्ष शासन गरिसक्यो ।
यो अवधिमा जनताको हातमा केही परेन । हिजो नपाएको नयाँ केही पाएनन् । सुखानुभूति, परिवर्तनको कुनै दृश्य देख्न पाएनन् । हिजो राजतन्त्र थियो, आज नेतातन्त्र छ । हिजो एउटा राजा र उनका केही नातेदारको चकचकी देखेका जनताले बिगत १५ वर्षदेखि हजारौं नयाँ राजाको चकचकी देखिरहेका छन् । हिजो कानुन थियो, आज राजनीति छ । हिजो कानुनले काम गथ्र्यो, आज राजनीतिक प्रभावले काम गर्छ । हिजो अलिकति लोकलज्जा बाँकी थियो, आज राजनीति व्यवसाय बन्न पुगेको छ । राजनीतिले नीति बिर्सेको छ, राजनीतिमा नैतिकता बाँकी छैन । नगरवधुभन्दा गएगुज्रेको अवस्थामा राजनीति पुगिसक्यो । यो भनेको परिवर्तनको चिहान हो । परिवर्तन मृत्यको सन्नाटा बन्नपुगेको छ ।
परिवर्तन पुरातन हटाएर आधुनिकताको अवतरण हुनुपथ्र्यो, भएन । परिवर्तन कुशासनमाथि सुशासन भएर आउनुपथ्र्यो, आएन । जे आयो, नेतातन्त्र आयो । सेटिङतन्त्र आयो । दल र नेताहरूले भागबण्डा गरेर शासन चलाउने परम्परा आयो । संवैधानिक निकायमा जो छन्, ती राजनीतिक पार्टीका झोलेहरू छन् । झोलेले खाने जनताको कर नै हो । तिनले गर्ने पार्टीको आदेशको काम नै हो । अनि कसरी विधिको शासन स्थापित हुनसक्छ । सर्वोच्च अदालत, नेपाल बार भनेको सर्वदलीय अदालत, सर्वदलीय बारजस्तो छ । जहाँ न्याय बोल्दैन, न्याय छैन, प्रधानन्यायाधीश नै न्याय नपाएर कलंक बोकेर अवकाश हुने देशमा राजनीतिक व्यापार चम्किरहेको छ । देश हार्ने र नेता जित्ने, जनादेश असफल हुने र पार्टी सफल हुने देशमा विधिको शासन साइनबोर्डमात्र हो ।
राजनीतिक लाखेनाच १५ वर्षदेखि चलिरहेको छ । भन्नेहरू त यो गाईजात्रा हो, संवैधानिक असफलता हो । यो लथालिङ् चाला नसुधार्ने हो भने देश नै सङ्कटमा फस्दै जानेछ र अन्तमा अस्तित्वको जोखिममा पर्नेछ भन्छन् । भन्नेहरूले भनेर के गर्नु, बुद्धिजीवी, नागरिक समाज, अधिकारकर्मी सबै पार्टी पार्टीमा विभाजित भएका छन् । विवेक बोल्नुपर्ने र अन्यायका विरूद्ध आवाज उठाउनु पर्ने सचेत बर्ग अचेत भएपछि हुने राष्ट्रको असफलता नै हो । नेपालमा असफलताका सबै विशेषताहरू परिपक्व हुनथालेका छन् । यति हुँदा पनि नेतृत्वमा चेत फिरेको छैन ।
चेत नफिर्नु भनेको अफगानिस्तान हुनु हो । मनलागि गर्नु भनेको श्रीलंका हुनु हो । ऋणको भारले थिचिएर आर्थिक मेरूदण्ड भाँचिएको अवस्था भनेको कमजोर हुनु हो । साधन, स्रोत र राष्ट्रियताले भरिपूर्ण नेपालमा नेतृत्वको क्षमता, इच्छाशक्तिमात्र छैन । यसकारण नेतृत्वले जनयुद्ध र जनआन्दोलन किन गरिएको थियो भन्नेसम्म बुझ्न र बुझाउन सकेन, औचित्य सिद्ध गर्न सकेन । जनतामा विद्रोहको झिल्को देखिएको छ । यो झिल्को सल्कियो भने दावानल हुनसक्छ । त्यतिबेला नेताहरू अफगानिस्तान अथवा श्रीलंकाका नेता भागेजसरी भाग्न पनि भ्याउँछन् कि भ्याउँदैनन् ? भन्न सकिन्न । फेरि किन नेतृत्व भ्रष्टाचारको पोखरीमा पौडी खेल्नमा अभ्यस्त भइरहेका छन् । यिनको बुद्धि बंगरो पलाउँछ कहिले ?
राजनीतिक नेतृत्वले इतिहास पनि पढ्नुपर्छ । इतिहास वर्तमानलाई शिक्षा र भविष्यलाई मार्गदर्शन हुनेगर्छ । विश्वका अनेकन देशमा रक्तपातपछि शान्ति र स्थिरताको अपेक्षा पूरा नभएपछि इतिहास दोहोरिएर शान्ति र स्थिरताको खोज गरिएका अनेकन उदाहरण छन् । बेलायतको मात्र होइन, स्पेन र थाइलेण्डमा समेत त्यसै भयो । इतिहास दोहोरिन नसकेका मुलुकहरू अहिले पनि रक्तपातको आँगोमा झुल्सिरहेकै देखिन्छन् । परिवर्तन सहज भयो, परिवर्तनपछि शान्ति र स्थिरता असहज बन्दैछ । परिवर्तनकारीले मुलुक सम्हाल्न सकेनन्, यो इतिहास दोहोरिन सक्ने सङ्केत पनि हो । समयले अवसर दिन्छ, असफल भइरहने सुविधा दिंदैन । असफल हुनेहरूले दण्ड भोग्नैपर्छ । उखान पनि छ, भीरबाट लड्नेलाई रामराम मात्र भन्न सकिन्छ । नेपालको वर्तमान नेतृत्व भीरउन्मुख छ ।
इतिहासको एउटा कालखण्ड थियो, स्पेनका सडकमा गणतन्त्रको नारा लगाउने युवाजमातले सालीन राजतन्त्रको सातो लिन सफल भयो । अन्ततः सन १९३१ मा गणतन्त्रको नारा उराल्ने समूहबाट आजीत भएर, तिनको उच्छृङ्खलतालाई देख्न, भोग्न र सहन गर्न नसकेर, देश र दुनियाँको शान्तिका लागि भनेर स्पेनका राजा अलफोन्सोले देश त्यागेर हिंडे । स्पेनमा गणतन्त्र घोषणा भयो । बहुमत स्पेनी जनताले हारे, स्पेनमा गणतन्त्रवादीले शान्ति र स्थिरता कायम गर्न सकेनन् । स्वार्थ र भ्रष्टाचारलिप्त परिवर्तनकारीका कारण स्पेनले दुर्गतिमात्र भोगेन, लामो गुहयुध्दको सामनासमेत गर्न‘प¥यो । स्पेनमा राजतन्त्र र गणतन्त्रको व्दन्व्द, शान्ति र अशान्तिको व्दन्व्द, बिधि र मनपरीको व्दन्व्द चर्कदै गयो । ३८ वर्ष लामो गणतन्त्रको सूर्य अन्ततः लाखौंलाख जनताको ज्यान गएपछि, १९६९ मा अस्तायो । हुवाँ कार्लोसको रूपमा राजतन्त्रको पुनरोदय भयो । आजको सम्पन्न स्पेन, आजको स्वस्थ स्पेनको जग गणतन्त्रवादीको निरङ्कूसतापूर्ण सोचको नाभीबाट उत्पन्न भएको हो ।
कतै नेपालको राजतन्त्रको पुनरोदय गणतन्त्र र धर्मनिरपेक्षताको नाभीबाट नटुसाओस् । जो राजतन्त्र मन पराउने थिएनन्, उनीहरू राजतन्त्रबिना नेपालको भविष्य सुरक्षित छैन भन्न थालेका छन् । जो गणतन्त्र जिन्दावाद भन्थे, तिनीहरू गणतन्त्र र धर्मनिरपेक्षतामा नेपालको स्थिरता, समृद्धि, शान्ति र राष्ट्रियता कायम नरहनसक्छ भन्न थालेका छन् । हरेक दिन युवाहरू विदेशीने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीका लागि व्यापक प्रतिस्पर्धा चलिरहेको छ । यहाँसम्म कि जो विदेशबाट फर्केर स्वदेशमै केही गर्छु, भन्थे । तिनीहरू आत्मदाह गर्ने अवस्थामा पुगेका छ्न् । तिनले लेखेका स्टाटसले राज्य नागरिक मैत्री नभएको स्पष्ट देखाएको छ । यति हुँदा पनि राज्य सुशासन दिन तत्पर देखिदैन । देशका घरबारी, खरबारी, पहाड, तराई, हिमाल नाङ्गै छन् । युवाहरू विदेशतिर र बालबालिका र बुढाबुढीमात्र घर घरमा भेटिन्छन् । यो दर्दनाक दृश्य देखेर पनि नेतृत्व जिम्मेवारी लिन र जवाफदेही पूरा गर्न तत्पर छैन । देश डुब्दैछ । परिवर्तनकारी नेतृत्वले देश डुबाउँदैछ । यो स्थिति भनेको अर्को परिवर्तनको आहट हो ।
इतिहास भन्छ– स्पेनको हावा थाइलैण्डमा पनि पुग्यो । राजा विरोधीहरूले १९३० देखि राजतन्त्रविरोधी आन्दोलन छेडे । थाइलैण्डमा राजालाई मार्नसम्म तम्सिने काम भयो । आतङ्ग र अराजकताबाट बच्न राजावादीले नै राजालाई सत्ता त्याग गर्न सल्लाह दिए । राजाले थाइलैण्ड छोडेर भाग्न बाध्य हुनुप¥यो । राजाबिनाको थाइलैण्ड चल्यो तर शान्ति आउन सकेन । मनलागी र मनपरी बढ्दै चढ्दै गयो । गृहयुध्दको आगोमा झुल्सिएको थाइलैण्डको माटो जनताको ज्यान र रगतले भिज्यो । रगताम्मे भयो । अन्ततः १९५८ मा राजालाई खोजेर ल्याउनु प¥यो । राजतन्त्रलाई सम्मानका साथ राखेर थाइलैण्डले शान्ति र स्थिरताको निश्वास फे¥यो । त्यसपछि थाईलैण्डले लिएको प्रगतिको पथमा मारेको फड्को प्रशंसनीय छ । बौध्दमार्गी थाइलैण्ड बुध्दलाई शान्तिको प्रतीक र राजसंस्थालाई प्रगतिका प्रतीक ठान्छन् । थाइलैण्डमा दल छन्, जनताको शासन पनि छ, प्रगति पनि छ । त्यहाँ जनअधिकार पनि छ, लोकतन्त्र पनि छ । राजाको सम्मान घटेको छैन । आमनागरिक राजाका सामु शिर झुकाउन गर्व गर्छन् । राजा नागरिक समृद्धिका लागि लागिपरेकै छन् । अर्थात राजा र नागरिकको समष्टि शक्ति राष्ट्रिय शक्ति बनेको छ ।
१० वर्षे भारत प्रायोजित जनयुद्धपछि नेपालमा २०६३ सालमा राजा झुके, आन्दोलनकारी शक्तिद्वारा अवैधानिक तरिकाले २०६५ सालमा गणतन्त्र कार्यान्वयन गरियो । जालझेलपूर्ण तरिकाले धर्मनिरपेक्षता लेखियो । तर यो संविधानलाई जनताले अपनत्व ग्रहण गरेकै छैनन् । राज्य माफिया, तस्कर, भ्रष्टाचारी, अपराधीहरूको हत्केलाको खेलौना बन्यो । चुनाव यिनैले जित्ने, संसद यिनैले चलाउने, सरकार यिनैले हाँक्ने । यो संविधानको असफलता हो । जसका कारण द्वन्द्व बढ्दै गएको छ । अस्थिरता, अराजकता र कूशासन गणतन्त्रका विशेषता बन्न पुग्यो । यसकारण परिवर्तनको १५ वर्षमै नेपालमा स्पेन र थाइलेण्डमा जस्तो इतिहास दोहोरिन सक्छ ।