Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पूर्वराजाले बुझ्नुपर्ने कुरा...

०९ सोमबार , माघ २०७९२ बर्ष अगाडि

शाश्वत शर्मा - -
राजनीतिक फाँटमा राजपरिवारका सदस्यमध्येबाट हिमानी शाहलाई राष्ट्रपति बनाउँदा ठिक हुन्छ भन्ने तर्कहरू जोडतोडले चलेका छन् । केही प्रायोजित मिडिया र हण्डीवालाहरूले यस्तो बताइरहेका छन् । केपी ओलीले आफू सत्तामा भएका बेलामा राजा ज्ञानेन्द्र शाहलाई गणतन्त्र दिवसको समारोह सदस्य बनाउन चाहेको बताएका थिए । हिमानी शाहको चर्चामा जानी नजानी केही राजतन्त्रवादी पनि लहैलहैमा लागेको देखिन्छ । आवधिक चुनावमा आएकाजस्तो राजा वा राजपरिवार आएका वा आउने कुरै भएन । यो यथार्थका वीचमा राजपरिवारबाट राष्ट्रपति बनाउने चर्चाको अन्तर्य के हुनसक्छ ? निश्चित पनि असफल हुँदै गएको यो गणतन्त्रनामको भाँडतन्त्रलाई मजबुत बनाउननै हुनसक्छ ।
अर्कोतिर राष्ट्रपति बनाएपछि राजतन्त्र पुनःस्र्थापनाको टण्टै साफ । त्यसो त राष्ट्रपति विद्या भण्डारीको छोरीको विहेको निम्तो मान्न जाँदा पूर्वराजाले गणतन्त्र स्वीकार गरे भन्ने हल्ला गरिएको थियो । नेपालमा राजतन्त्र आवश्यक छ भन्ने घटनाक्रमले सिद्ध गरिसकेको वातावरणलाई धमिल्याउने र राजतन्त्रवादीहरूमा भ्रमको सिर्जना गर्न पनि यस्ताखले चर्चा हुने गरेका छन् । यस्तै भ्रमपूर्ण चर्चा थियो राजतन्त्रका बारेमा जनमत सङ्ग्रह गराइनुपर्छ भन्ने वहस पनि । यी भ्रम छर्नेहरूको मिसन एउटै छ– राजतन्त्रको बहसलाई सदाका लागि समाप्त पार्ने । जसले भएको गद्दीलाई जनतामा शान्ति र प्रगति हुन्छ भने भनेर त्याग गरिदिए, १५ वर्षदेखि जनप्रतिनिधिले गर्छन् भने राम्रो गरून् भनेर सहयोग नै गरिरहेका छन्, त्यस्ता देशभक्त राजपरिवारको जनआस्था घटाइदिने दुस्प्रयास । यिनले बुझ्नुपथ्र्यो– जसले गोर्खालाई नेपाल बनाइदिए । नेपाल निर्माताका उत्तराधिकारीले नेपाल बनाउने र बचाउने भार बोकेका छन्, त्यस्तो संस्थालाई विदेशी पैसाको भरमा, भ्रमित पारेर बदनाम गर्ने ? जसले गद्दी त्याग गरेको छ, त्यो परिवारलाई आवधिक राष्ट्रपतिको लोभ हुनैसक्दैन । अपराधी, भ्रष्ट, असक्षम, नैतिकहीनलाई चुनाव जिताउन बाध्य पारिएका जनताले यस्ता हल्लाका पछाडि नलागेकै बेश । जो यस्ता हल्ला फिजाउने गरेका छन्, जनता ब्यूँझेका दिन किनारा लाग्नेछन् ।
हो, नेपाली राजा अपदस्त भएर पनि नेपालमै छन् । नेपाली हुनमा गौरव गर्छन् । नेपालमा जन्मेर नेपालमै मर्छु भन्ने अठोट राख्छन् । यस्तो राजसंस्थालाई बदनाम गर्ने भनेको कुनियत मात्र हो । कुनै पनि राजनीतिक विवादबाट मुक्त भएर अलग्गै बस्दा पनि कहिले कुन नेता, कहिले कुन पार्टीसँग जोडेर बदनाम गर्ने गरिरहेकै छन् । राप्रपाले राजसंस्था पुनस्र्थापित गर्छौं भन्छन् भने यसमा पूर्वराजाको के दोष ? अहिले त हरेक दलभित्र राजसंस्था पुनस्र्थापित गर्नुपर्छ कि ? भन्ने बहस व्यापक बनेको छ । एउटा अभिभावक चाहिने रहेछ भन्ने सबैले अनुभूति गरिरहेकै छन् । त्यसमाथि उत्तर दक्षिणका छिमेकीले पनि नेपालमा भाँडभैलो राजनीति हुनाले असुरक्षित ठानेका छन् र नेपालमा राजसंस्था र हिन्दुराष्ट्र चाहिने रहेछ भन्ने अनुभूत गरेर चर्चा अघि बढाएका छन् । नेपालमै राजसंस्था चाहिन्छ भन्ने ठुलो जनमत छ । राजा घरबाहिर निस्कने हो भने जनताको नारावाजी र जुलुसलाई यो संविधान वा यी पार्टी वा सरकारले थाम्न थेग्न नसक्ने कुरा घामजत्तिकै छर्लङ्ग छ । कुनै सम्मानित स्थान नपाए पनि नेपाल निर्माताका सन्तान नेपाल नेपाल भनेर नेपालीकै सामु बसेका छन् । नेपाल रहेसम्म राजतन्त्रको छाप मेट्न कुनै पनि साजिस वा कसैले सक्नेछैन, सत्य यही हो ।
यसैवीच मनिषा कोइरालाले चाँडै नै हिमानी शाहलाई सम्वाद कार्यक्रम गर्नेछिन्, यो कार्यक्रमको भित्री उद्देश्य के हो ? कस्ता कस्ता कुरा सार्वजनिक गर्न खोजिएको हो ? यो पूर्वराजाको अनुमति लिएरै थालिएको हो कि होइन ? हेमविक्रम सिलवाल जस्ता एक युवा राजतन्त्रवादीले राजासँग भेट नपाउँदा आत्महत्या गरेको घटनाबाट पनि केही शिक्षा त पूर्वराजाको सचिवालयले लिएकै हुनुपर्ने हो । एकातिर हल्का मान्छेले राजा र राजपरिवारसँगको फोटो सेसन बाहिर आउने, अर्कोतिर राजतन्त्रवादी हुँ भन्ने सामान्य व्यक्तिले हण्डर खाँदै हिड्नुपर्ने । उता राजाका सहयोगीहरू ठोस कुरा भए राजालाई भेट्न सकिने लेखाउँदै हिडेका छन् । बुझ्नुपर्ने कुरा के हो भने आमनागरिकसँग आस्था हुन्छ, ठोस कार्यक्रम हुँदैन । आस्था भनेको देवता मानेजस्तै हो । एकथरि राजसंस्थाबारे भ्रमित पार्ने, अर्कोथरि राष्ट्रपतिको कुरा गर्दै हिड्ने, अर्कोथरि जनमत संग्रह गरेर यो विवादको सदका लागि अन्त्य गरिनुपर्छ भन्ने, अनि अर्कोथरिचैं राजाले नयाँ कार्यक्रम, ठोस कुरा भएकालाई जुनसुकै बेला दर्शन दिन सक्ने भनेर राजसंस्थाप्रतिको आस्था घटाउन खोज्ने, यी सबैथरि राजतन्त्रको पुनरोदयका बाधकहरू नै हुन् ।
बुझुन्, छातीमा पृथ्वीनारायण शाहको ब्याच लगाएर हिड्नेहरू आस्थाका साधकहरू हुन् । राजा आउ देश बचाउ भन्नेहरू अभिभावकको खोजीगर्नेहरू हुन् । पार्टीमा हरेक नेता वा कार्यकर्ताले सहजै आफ्ना नेतृत्वलाई भेट्न सक्छन्, राजतन्त्र चाहिन्छ भन्नेहरूको पहुँचलाई रोक्ने, रोक्न खोज्नेहरू को हुन् ?
अन्तमा फेरि पनि भनौं, यी सबे खालेहरू नेपालबाट राजसंस्थालाई विधिवत रूपमै समाप्त पार्ने साजिसकका सहायक हुन् । बाँकी पूर्वराजाले सोचुन्...।