Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेपालमा खेल्न गाह्रै होला

०२ सोमबार , माघ २०७९२ बर्ष अगाडि

शाश्वत शर्मा - -
काठमाडौंको लप्सिफेदीमा विद्युत परियोजनालाई लिएर स्थानीयले अमेरिकाको विरोध गरे । अन्तमा ३ बुँदे सहमति भएको छ । सो परियोजनाको माग र सम्झौता गर्ने माओवादी हो भने व्याख्यातमक टिप्पणीसहित पास गर्ने संसद हो । यो परियोजनाका बारेमा अहिले पनि नेतृत्वले जनतालाई बुझाउन सकेको छैन । यो सम्झौता सरकारले स्वीकार गरेको छ, किन स्वीकार गर्नुप¥यो, यसबाट लाभ के कति छ भनेर नबुझाउनु गलत हो ।
पूर्व र वर्तमान राजदूतले समेत यो परियोजनाबाट अमेरिकी सेना आउने कुरा कपोलकल्पित भएको पटक पटक बताइसकेका छन् । फेरि यही परियोजनालाई लिएर अमेरिकालाई मुछ्नु किन ? परियोजना पास गर्नेले बुझाए भइहाल्यो । जसरी नेपाली दिमागमा भारतविरोधी भावना छ, त्यसैगरी अमेरिकाविरोध भावना विकसित गराउने किन ? यो सबै नेतृत्वको असक्षमताका कारणले नै हो । दक्षिणी छिमेकीले नेपाली भूभाग हडप्दा, नाकावन्दी गर्दा, राजनीतिमा हस्तक्षेप गर्दा जसरी नेपाली प्रतिक्रिया देखिन गर्छ, त्यस्तै प्रतिक्रिया ७५ वर्षदेखिको मित्रशक्ति अमेरिका विरूद्ध देखिनु कदापि उचित होइन । अमेरिकाले लादेको होइन, नेपालले मागेको हो । मागेपछि अमेरिकाले सर्तसहित दियो, सर्त संसदले मान्यो । अर्थात् सरासर गुणदोषको जिम्मेवारी संसदको, नेपाली जनप्रतिनिधिको हो । आफ्नो जिम्मेवारी बहन नगरेर मित्रलाई विवादमा घिसार्नु उचित थिएन । यी कथित गणतन्त्रवादी नामका सत्ता र शक्ति स्वार्थीहरूले नेपाललाई शक्तिराष्ट्रहरूको द्वन्द्वभूमि बनाइदिए । अचम्म त के छ भने बेला बेलामा चीन, भारत, पाकिस्तानमात्र होइन, उत्तरकोरियाविरूद्ध समेत नारावादी, पम्पलेटवाजी र ज्ञापनपत्रवाजी हुनेगर्छ । नेपाली पार्टीहरू भाषा, जात, नीतिमामात्र विभाजित छैनन्, मित्रराष्ट्रहरूको सवालमा समेत विभाजित छन् । अधिकारकर्मीहरू, नागरिक समाज समेत कसैले उचाल पछार गर्दा चूप लाग्ने र उफ्रिने काम गरेर दुनो सोझ्याउँछन् ।
पूर्वराजतन्त्रको समयमा समदूरी, असंलग्नताको नीति थियो । अहिले न हाँसको, न कुखुराको चाल छ । शीतयुद्धकालमा समेत सबैले सम्मान र सहयोग गर्ने नेपाल आज विभाजित अवस्थामा पुगेको छ । अस्पष्ट हुँदैछ । दक्षिण एसियाको अर्को अफगानिस्तान भनेको नेपाल हो । अर्को श्रीलंकाको बाटोमा छ भनिदैछ । वर्तमान युरोपको युक्रेन र नेपाल एउटै मार्गमा विश्लेषण गर्न थालिएको छ । अब के गर्ने छ ? नेपाल जनमानस पनि विभाजित छ । भ्रष्टाचार, षडयन्त्र, राष्ट्रद्रोहलाई सहेर बस्ने कि यसका मतियारलाई लखेट्ने ? नेपालको विकास साझेदार जो होस्, तिनलाई हाम्रो राजनीतिक समर्थन र विरोधको विषय किन बनाउने ? मित्र मित्र हुन्छन्, मित्रलाई नेपाली भूमिको दुरूपयोग गर्न नदिने नीति हुनुपर्छ । दोष हाम्रो नेतृत्वको छ, यस्तो अकर्मण्य नेतृत्वलाई दण्डित नेपालीले गर्नुपर्छ । नेपालमा अमेरिका, चीन, भारत, पाकिस्तान, युक्रेन, उत्तरकोरियाविरूद्ध नारावाजी । नेपाली राजनीति स्वार्थको पुतला, विदेशीका सामु लम्पसारवादी हुनपुग्यो । सुन्दा राष्ट्रवादी, जनवादी, प्रजातन्त्रवादी भने पनि यिनको कुनै बाद छैन । नीति सिद्धान्त केही छैन । जो नेपालको हुनसकेनन्, ती मित्रराष्ट्रहरूको कसरी होलान् ? यसकारण मध्यपूर्वमा, अरवमा, युरोपमा खेलेजस्तो नेपालमा सजिलो छैन । नेता त्यस्तै, जनता उस्तै । जतिसुकै र जस्तोसुकै अन्यायको कहर पनि सहने ?
त्यसो त, अघि इतिहासमा अंग्रेज हारेर फर्किएको पनि रेकर्डमा छ । तत्कालीन भोटसँगको यृद्धमा नेपालले जितेको इतिहास पनि छ । भ्रष्ट नेता, सहनशील जनता, यहाँको स्थिति र परिस्थिति यही हो । यहाँ सधैंभरि सबैको साथ पाउन सकिन्न । आफू र आफ्ना सन्तती, मुलुकलाई तहसनहस पार्नेलाई मत दिएर सत्ताको साँचो दिन्छन् जनता । यिनै नेता विदेशीको खेलौना बन्छन् । केही छिनका लागि केहीलाई किन्न सकिएला । नीति, पद्धति, सिद्धान्त अनि कार्यक्रम आदि केही नभएकालाई सधैंभरि आफ्ना बनाउन सकिन्न । यी आज एकातिर लाग्छन्, स्वार्थ पूर्ति हुने भए रातारात अर्कोतिर ढल्किन्छन् । यसकारण त जनवादी, राजावादी, राष्ट्रवादी, समाजवादी, प्रजातन्त्रवादी सत्ताका लागि मिल्न सक्छन्, एकले अर्कोलाई भोट हाल्न सक्छन्, स्वार्थ पूरा गर्न जे पनि गर्न तम्तयार हुन्छन् । जसो जसो बाहुन उसै उसै स्वाहा । जस्तो नेतृत्व, उस्तै जनताको मन र मत ।
यो परिदृश्यको स्थितिमा महाशक्ति राष्ट्रहरूलाई निशुल्क सल्लाह के छ भने– यहाँका नेता र जनतासँग सक्दैनौं तिमीहरू । नेपाली नेता, नेतृत्व, नीति र मतदान सबै नाङ्गाभुङ्गा नै छन् । कागले कान लग्यो भन्नासाथ कान नसमाती, काग खोज्दै हिड्छन् सबै । आज एउटाका पछि लाग्छन्, भोलि भड्काएपछि भड्काउमा लागिहाल्छन् । त्यसकारण नेपालका मित्रहरू हो, सावधान, सावधान ।
हाम्रा नेता एमसिसी माग्छन्, ध्वनी मतले पास गर्छन् र जनतालाई आफैले उराल्छन्, उफार्छन् । लप्सिफेदीको रोग अन्यत्र पनि सल्किन सक्छ । फेरि पनि भनौं, चलाख हुँ भन्ने नेपाली नेता र सहनशील, नेताका पछाडि लाग्ने जनता उस्तै उस्तै हुन् । महाशक्तिहरू जो नेपाललाई सहयोग गर्न तम्सिएका छन्, आफ्ना रणनीति लिएर अग्रसर छन्, तिनले सोचुन्, स्थिति सहज छैन नेपालमा ।