राजन कार्की - -
परिवर्तन परिवर्तन परिवर्तन । इतिहासका कालखण्डमा अनेकपल्ट परिवर्तन भए । परिवर्तनबाट देशले के पायो, जनताले के पाए ?
जसले नेपाल बनाइदियो, उसलाई राष्ट्रनिर्माता भन्न डरलाग्ने ? जसले दिव्य उपदेश दिए, त्यो मान्न नसक्ने ?
पृथ्वीनारायण बाहले देश दिए, युगद्रष्टा थिए, दिव्योपदेश दिए । उनका रक्षा, विदेश, अर्थ, सुशासन, समृद्धि, दण्ड सजाय, स्यावासी पुरस्कार र एकता सम्बन्धित अनेकन निति सिद्धान्त छन्, जुन आज पनि नेपालका लागि अपरिहार्य नीति बन्नसक्छन् ।
हामी आफ्ना वीर पुर्खालाई नकार्छौं, विदेशी माक्र्स, लेनिन, माओ, गान्धीको पूजा गर्छौ, तिनलाई आदर्श मान्छौं । जबसम्म आफ्नै माटो सुहाउँदो पृथ्वी विचार अँगाल्दैनौ तबसम्म देशको ओरालो यात्रा रोकिदैन । विदेशी विचारले देश हाँक्न सक्दैन भन्ने पटक पटक प्रमाणित भइसक्यो । अझै पनि देशलाई स्वार्थको प्रयोगशाला बनाइरहने ?
यी कस्ता नेता हुन्, जसलाई मतदान गर्ने जनताले नै दया गर्छन्, घृणा गर्छन् । माया गर्दैनन्, सम्मान दिदैनन्, कुनै पनि नेताले जनताको सम्मान आर्जन गर्न सकेनन् ।
पाएको मतादेशप्रति सम्मान छैन । संसदमा सिप छैन, सरकारमा संस्कार छैन, नेतामा नेतृत्व छैन, राजनीतिले लिनुपर्ने स्वामित्वमा अडान छैन, जता हेरे पनि पहिरो छ, वर्षे पहिरो, हिउँदे सुख्खा पहिरो । पहिरो रोक्ने पहल छैन । उभिएको भूमिप्रति प्रतिवद्धता छैन । लेनदेन छ, स्वार्थको गाँठो छ, सेटिङ् छ । नीति, सिद्धान्त र नैतिकता छैन । यस्तो बहुलठ्ठी राजनीतिले देशलाई भीरबाट खगार्छ । खगारिरहेछ ।
संविधानसभा चाहियो, गणतन्त्र ल्याइयो । संघीयता चाहियो, धर्मनिरपेक्षता घोषणा गरियो । न संविधानले काम ग¥यो, न गणतन्त्र फलिफाप हुनसक्यो । संघीयता र जुकामा भिन्नता रहेन, जनताको रगत चुसिरहेछ । धर्मनिरपेक्षता भनेको धार्मिक विभेद बढाउने र गरीबलाई धर्मान्तरण गराएर नेतालाई धनाध्ये बनाउने व्यवसाय बन्यो । आचरण रहेन । संस्कार र संस्कृतिका बिरासत ढल्दै गए । आफ्नो पहिचान मेटाउने यस्तो बहुलठ्ठी राजनीतिले देशलाई बिखण्डन र विभाजन गराउँछ, गरिरहेछ ।
हामीले अपनाएको पद्धति भनेको वेष्ट मिनिष्टर पद्धति हो । यो पद्धतिमा लिखित संविधानभन्दा बढी नैतिक बलले काम गर्छ । बेलायतमा १७०७ मा स्थापित भएदेखि यो पद्धति संसदमा सत्तापक्ष र प्रतिपक्ष अर्थात सिटिङ र वेटिङ सरकार हुन्छ । मंसिर ४ को निर्वाचनपछि पुस १० गते तेस्रो दलले सरकार बनायो, पुस २६ गते विश्वासको मत लिंदा ९९.२५ प्रतिशत सांसदले सरकारलाई विश्वासको मत दिए । यो विश्वमै अचम्मलाग्दो परिदृश्य हो । प्रतिपक्ष नै रहेन संसदमा । संसदीय इतिहासमै कतै नभएको व्याख्या गर्दै प्रतिपक्ष बन्न पुगेको प्रजातन्त्रको बिडा उठाएको भन्न रूचाउने नेपाली कांग्रेसले भन्यो– विश्वासको मत दिए पनि हामी प्रतिपक्ष हौं ।
संसद जिवन्त रहेन । स्पष्ट मार्गचित्र नभएकाले सरकार जिवन्त छैन । संघीयता पार्टीका नेता कार्यकर्तालाई पेटभरि खानदिने पञ्चदेवको हण्डी बन्यो । न्यायपालिका मन्दिर होइन, राजनीतिक रछ्यान बनाइयो । नेता, संसद, सरकार सुध्रने र न्यायपालिका सुधार्ने एजेण्डा सार्वजनिक हुनसकेन । यस्तो टीठलाग्दो विशिष्टखालको प्रजातान्त्रिक अभ्यास भनेको १९७५ को सिक्किमको जस्तै प्रजातान्त्तिक मोडल भन्न थालेका छन् विश्लेषकहरूले । अब नेपाल कता लाग्छ, हरेक राजनीतिक र कूटनीतिक मामिलामा लडेको नेपाल उठ्ने सम्भाबना कम छ, कसरी र कतातिर लतारिदै जाने हो, भयग्रस्त बन्यो राष्ट्रको भविष्य । अनुभवीहरू भन्छन्– नेपाली राजनीतिमा कायरहरूको राज चल्यो । कायरताकै कारण नेपाल विश्वशक्तिको भूराजनीतिको रण्डखाल बन्यो ।
विद्वानहरूले भनेका छन्– विजय उसैलाई प्राप्त हुन्छ, जो विजयी हुने साहस राख्छन् । सायद यही विषयमा हेलेन केलरले लेखेका थिए– अन्धो हुनु नराम्रो हो तर आँखा भएर पनि नदेख्नुृ झन खराब हो । त्यसपछि मान्यता बस्यो– अमर हुन रहर गर्नेले आफूमा भएको खुबी देखाउन सक्नुपर्छ । नेपालमा परिवर्तन गर्न रहर गर्नेहरूले परिवर्तन ल्याउन सफल भए, यसमा राजतन्त्रले जनइच्छा परिवर्तन नै हो भने स्वीकार छ भनेर सघायो । तर परिवर्तनको १५ वर्षको परिदृश्यको आधारमा भन्न सकिन्छ– परिवर्तन गर्न रहर गर्नेहरूमा विजयी हुने साहस देखाए तर विजय कायम राख्ने नैतिकता सत्तास्वार्थसँग साटे । राष्ट्रलाई असफल पार्ने भए ।
१८६९ मा प्रकाशित वार एण्ड पिसका लेखक लियो टल्सटोय लेखेका थिए– समाजमा हल्ला गरेर, कराएर, गुनासो गरेर, निन्दा गरेर, पार्टीहरू खोलेर, आन्दोलन गरेरमात्र सुधार हुनसक्दैन । त्यसका लागि भावनाको जागृति र विचारहरूमा प्रगतिको आवश्यकता पर्दछ । नेपालमा हल्ला, निन्दा, आन्दोलन भइरहेको छ, विचार र भावनामा जागृति छैन, सबै पुरातन र स्वार्थको दुनियाँमा बाँचिरहेका छन् । यसकारण हाम्रो स्वराज र स्वाधनीता खिइँदै गएको छ ।
जुन नेता राष्ट्रलाई प्रेरणा दिन्छ, जनताको अपेक्षा पूरा गर्छ, त्यो नै महान नेता हो । यस दृष्टिमा हामीसँग एकजना पनि नेता छैनन् । किनभने विगत १५ वर्षमा जनताका लागि न कुनै नेता प्रेरणाको स्रोत बने, न जनताको अपेक्षा र आशा परिपूर्ति गर्न अग्रसर भए । जनता मात्र निर्वाचित सरकार जन्माउने अजिव लाग्ने चुनावी कारखाना बनाइएका छन् ।
२०३७ सालको जनमत संग्रहले पञ्चायतमा सुधार आउन सकेन । २०४६ सालमा दलमाथिको प्रतिवन्ध हटाउँदा भ्रष्टाचार र नैतिकपतनको कालखण्डको जन्म भयो । २०५२ साल फागुन १ गतेदेखि १० वर्ष लामो जनयुद्ध सुरू गर्ने माओवादी दिल्लीमा १२ बुँदे सम्झौता गरेर जनआन्दोलनमा मिसिन आइपुग्यो । यसपछि बहुदलको नाम फेरेर लोकतन्त्र राखियो । त्यसपछिको १५ वर्षे कालखण्डमा न स्वराज बाँच्यो, न स्वाधीनता जोगियो । नेपाल दिनदिनै जोखिममा फस्दै गएको छ ।
राष्ट्रसंघ, भारत, अमेरिका, युरोपियन, चीनका अनेक दवाव, प्रभावका घटनाहरू हुँदै गए । राजतन्त्रलाई किनारा लगाएर धर्मनिरपेक्षता र संघीयतासहितको संविधानले राष्ट्रलाई भ्रष्टाचारको पोखरी बनाइदियो । ०६३ सालदेखि परिवर्तन हामीले ल्याएका हौं भन्ने महारथीहरूकै शासन छ, तिनले ल्याएको पद्धति नै चलेको छ, देशका लागि सतिसालको मूलथाम बनेर कुनै नेतृत्व चट्टान जसरी उभिन सकेनन् । समाजवाद र सर्वहारीवाद दुबै सत्ता र सम्पत्तिका लागि मिल्न सक्छन्, पुँजीवादी समाजवादको बाटो क्रान्ति सम्भव छ भन्न पनि सक्छन् र भ्रष्टाचारको एउटै कुण्ठमा सँगसँगै डुबुल्की मार्न पनि सक्छन् । यिनले भनेको समृद्ध नेपाल, सुखी नेपाली भनेको आफू नेपालको सदावहार जर्नेल बनिरहने राजनीतिमात्र हो । यस्तो राजनीतिले देश लुट्छमात्र । बिगत १५ वर्षको प्रगति लुटतन्त्रको जगजगीमात्र हो ।
राजा चाहिन्छ भन्नेसँग गणतन्त्र मिलेका छन् । प्रजातन्त्र अपरिहार्य छ भन्ने कांग्रेसले माक्र्स र माओवादलाई विश्वासको मत दिएका छन् । बिखण्डनवादीले समेत संसदमा प्रवेश पाए । ०१७ पछिको पञ्चायतजस्तो बहुपार्टीको एकदलीय संसद र सरकार स्थापित हुनपुगेको छ । धरातलीय यथार्थ भनेको परिवर्तन भयो, न्यायपालिकालाई समेत सर्वदलीय संस्थाजस्तो बनाइयो । संक्रमणकालीन न्याय स्थापित हुनसकेन । अपराधीलाई माफी दिने तैयारी सुरू भएको छ । विधिको शासन अन्धाले हात्ती छामेजस्तो हुनपुग्यो । संविधान, संसद, सरकार, संवैधानिक निकायहरू असफल भइसके । जवाफदेही हुन कोही तैयार छैनन् । राजनीति पैसा कमाउने माफियाकरण हुनपुग्यो । संसददेखि हरेक पद किनबेच हुनसक्ने पारियो । लोकतन्त्र भनेको चुनाव हो, जसरी पनि चुनाव जित्ने र लोकतन्त्रलाई खोरिया बनाएर फाँड्नेहरू आफूलाई देवताको अवतारका रूपमा अवतरण गर्नथाले । दुशासन प्रवृत्ति सच्चिने आशा कमजोर बन्दैगयो । नेतृत्वको स्वार्थलाई खेलाएर शक्तिराष्ट्रहरूले नेपाललाई शक्तियुद्धको अखडा बनाइदिए । आँखा देख्ने अन्धा र विवेक गुमाएका विवेकहीनहरू हरेक पार्टीमा छन्, नागरिक समाजमा छन्, प्राध्यापन, वकिल, पत्रकारिता, व्यापार, उद्योग सबैतिर छन् ।
यिनकै कारणले आमनागरिक, पार्टी कार्यकर्ता, बुद्धिजीवी जो देशप्रति नतमस्तक छन्, ती कमजोर पार्ने वातावरण सिर्जना गरिएको छ । लोकतन्त्र पोंगटे धानबाली बन्यो, जसलाई कुट्दा चामल निस्कदैन । भएका उद्योग बन्द गर्ने, नयाँ उद्योग स्थापना नै नगर्ने, युवायुवती निकासी गरेर रेमिटान्स अर्थतन्त्रमा सिमित हुनपुगेको नेपालको आर्थिक मेरूदण्ड भाँच्चिसकेको छ । जुन देशको बजेटभन्दा बढी व्यापार घाटा र २० खर्ब ७ अर्ब विदेशी ऋणभार छ, त्यो देश लथालिङ्ग नभए के हुन्छ ? लोकतन्त्र आउँदा भाग्योदय ठानिएको थियो, निराश पारिदिए नेताहरूले । नेपालका लागि परिवर्तन दुर्भाग्यमात्र भयो ।
सत्तामा यिनै थिए, यिनले नेपालको पूर्वाधार विकासका लागि एमसिसी चाहियो भनेर मागे । अमेरिकाले ५० करोड डलरको यो आयोजना दियो । दिएपछि सडकमा अमेरिकालाई मूर्दावाद भन्ने यिनै निस्किए । जब अमेरिकाले प्रश्न ग¥यो, संसदबाट यिनैले पास गरे । यसपछि श्रीलंका र पाकिस्तानमात्र होइन, अनेक देशलाई ऋणको चेपोमा चीनले च्यापेका र सावाव्याज उठाउन नसकेपछि ती देशका आयोजनानै कब्जा गरेका घटना सार्वजनिक भए । नेपालले पनि ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनायो । उद्घाटन समारोहमा चीनका राजदूतले भने– यो आयोजना चीनको बिआरआई रणनीति अन्तर्गत हो भनेर खुलासा गरे, जुन सत्य नेपाल र नेपाल सरकारलाई पनि थाहा थिएन । यद्यपि यो आयोजना चीनको एक्जिम बैंकको २२ करोड डलर ऋणमा बनाइएको हो । यो एयरपोर्टबाट नेपालले कमाउने सकेन भने कसरी ऋण तिर्ने ? यही खतरा बुझ्नेहरूले भनेका छन्– पाकिस्तानको विदेशी मुद्रा खातामा ५ अरब डलर छ जुन एक महिना आयात गर्न पनि पुग्दैन । देशभर हाहाकार छ, सरकारले गहूँ आयात गर्न नसकेर । यो स्थितिमा पुग्नुमा चिनको पनि हात छ । तर चिन यतिखेर तमाशा हेरेर बसेको छ। चिनको पछि लागे नेपालको पनि यहि हाल हुने हो कि ? नेतृत्व विदेशी रणनीतिमा फस्दै र चुक्दैजाँदा नेपालको स्वराज र स्वाधीनता नजोगिने पो हो कि ? संशय बढ्दै गएको छ । जोगाउने देशभक्त नेतृत्वले हो, बहादुर शाह बन्ने ल्याकत कुनै नेतामा झल्किदैन । राष्ट्रनिर्माताप्रति एकमत छैन, राष्ट्रियनीतिप्रति एकमत छैन । अनि कसरी देशको स्वाधीनता र सार्वभौमिकता बलशाली हुनसक्छ ?
प्रत्येक नीतिनिर्माता, शासक प्रशासकले बुझ्नै पर्ने सत्य के हो भने नेपाललाई विकास चाहिएको छ । यो विकास चीनविरूद्ध अमेरिका, अमेरिकाविरूद्ध चीन अथवा भारतविरूद्ध चीनलाई नेपाली भूमिमा दाह्रासिंहको कुस्ती खेलाएर चाहिएको होइन । हिजो पनि नेपालले सयौं मुलुकसँग सहयोग लिएको थियो, आज पनि ऋण, अनुदान लिइरहेकै छ । हिजो कुनै विवाद थिएन, आज विवाद गर्ने किन ? नेपालका लागि ऋणभारभन्दा स्वावलम्बी बन्नसक्ने आधारहरू निर्माण गर्ने अनुदान बढी आवश्यक छ । योग्य नेतृत्वले लोकलाई लडाउने, भिडाउने र लड्डु लडे झिल्ली झडेजस्तो कुकर्मबाट परै बस्नुपर्छ । अहिलेसम्म जे भयो, त्यस्तो राजनीति अधर्म बन्न हुँदैन । हिजो के भूल भयो, भविष्यमा नेपाल र नेपालीको हितमा के कसो गर्दा राष्ट्रिय शक्ति सञ्चय निर्माण हुनसक्छ, त्यतातिर चिन्तन हुनुपर्छ । यो चासोलाई संवोधन गर्नु राज्यको, संसदको, नागरिक समाजको, बुद्धिजीवीवर्गको र आम नागरिकको कर्तव्य हो । हेक्का राख्नैपर्ने विषय भनेको न हिजो पञ्चायत खराव थियो, न बहुदल । आज लोकतन्त्र पनि खराव पद्धति होइन । खरावी व्यवस्था हाँक्ने र लोककल्याणकारी राज्यको सिद्धान्तमा मेलअनुसार चलाउन नसक्ने नेतृत्वमा छ । नेतृत्वमा सीप भएन भने स्वर्गको टुक्राजस्तो नेपाल कसरी असरल्ल हुनपुग्यो ? यो प्रश्नमा हरेक नेपालीले घोत्लिनैपर्छ ।