Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

राजनीति विदेशीको सिगान पुछ्ने रुमाल हो र ?

२५ सोमबार , पौष २०७९२ बर्ष अगाडि

राजन कार्की - -
देशको डिप्लोमेसी, डिफेन्स र डेभेलपमेन्ट सबै क्षेत्र अराजक बनेको छ । नीति, पद्धति केही पनि ठिकसँग चलेको छैन । डिप्लोमेसी नसुधारे वैदेशिक सम्बन्ध सङ्कटमा पर्छ, डिफेन्स नसुधारे मुलुकको स्वराजमा खलल पर्छ, डेभेलपमेन्टका गति नबढाए अनेक सङ्कट र समस्याका पहाडले थिच्छ । नेपालको राष्ट्रियता र राष्ट्रिय नीति यतिबेला अमूर्त कलाजस्तो भइसकेको छ, यो अवस्थालाई मूर्त स्वरूप प्रदान गर्न नेतृत्वले ठूलै कसरत गर्नुपर्ने आवश्यकता छ । तर नेतृत्व अहिले पनि हाँस न कुखुराको चालमा देखिन्छ ।
यो दुर्भाग्यजनक परिस्थितिलाई सुधार्न नेतृत्व अघि सर्नुपर्छ, त्याग र बलिदान दिन सक्नुपर्छ । तीतो सत्य के छ भने सबै सत्ता र शक्तिका पछाडि दगुरेका छन्, बिग्रेको बनाउने चासो र चिन्सा कुनै नेतामा पनि छैन ।
नागरिक समाज छन्, थिङ्क टेङ्क पनि छन्, बुद्धिजीवी पनि छन् तर तिनमा विवेक भएर पनि बोल्दैनन् । जुन देशमा विवेक लोभलालचको नालीमा नाक गाडेर पार्टीकरण हुन्छ, त्यो देशमा विवेक अन्धो हुनछ । डाइनामिक नेता पनि छन्, तिनको त्यो गुण सत्ता, शक्ति र सम्पत्तिमा यसरी गिजोलिएको छ कि मानौं राजधानीमा उठ्न नसकेको फोहरको डङ्गूर हो ।
मुख्य सवाल भनेको १५ वर्ष अघि गरिएको पविर्तनअघि के बिग्रेको थियो, परिवर्तनपछि के सच्चियो भन्ने हो ? समयचक्र हो, परिवर्तन भयो, परिवर्तनपछि देश र जनताले के पाए ? के पाएका थिएनन्, अहिले के पाएर समृद्ध नेपाल र सुखी नेपाली भए ? यसको समीचिन जवाफ दिने जिम्मेवार नेतृत्व खडा भएर बोल्नै सक्दैन । मानौं, यो १५ वर्षमा शिखर नेतृत्व हड्डीविहीन थलथले भइसकेको छ ।
नेपालको गरीबीलाई आधार बनाएर गरीबी निवारण र नेपालमा रहेका अनेक कुरीति, अन्धविश्वास मेटाएर सशक्तिकरण र अग्रगमनतिर लैजाने नाममा उत्तर, दक्षिण, पश्चिम अथवा युरोपीय राष्ट्रहरूले नेपाललाई सहयोग गरिरहेका छन् । उनीहरूले डिप्लोमेसी, डिफेन्स, डेभेलपमेन्टका नीति नेपालमा स्थापित गरिरहेका छन् । ती शक्तिशाली मुलुकका रणनीति नेपालको भूराजनीतिमा कति मेल खान्छ, नेपालले तिनका रणनीतिलाई कति र कसरी धान्छ ? सिङ्गो मुलुक भूराजनीतिको गोलचक्करमा फसिसक्दा पनि बहस हुँदैन । कसैले चिन्ता गर्दैन । पहिरो नजाँदै छेकवार गरे पो बचिएला, पहिरो गइसकेपछि त थाप्लोमा हात राखेर पछुताउनु बाहेक के बाँकी रहला र ? बोल्दैन, विवेक छ, विवेकशील बोल्दैनन् ।
नेपालमा बुद्धि पनि पार्टीवादी छ । विवेक पनि पार्टीकरण भएको छ । बुद्धि त राष्ट्रका लागि, जनताका लागि, समाजका लागि हुनुपर्ने हो । आवाजविहीनहरूको आवाज भएर बोल्नुपर्ने हो । विवेक र बुद्धि नै पार्टीको झोला बोकेर प्रवक्ता बन्छ भने लथालिङ्ग हुनुको अरू कारण खोजिरहनु पर्छ र ?
पार्टीमा लागेका बुद्धी र विवेकले पार्टीको वकालत गर्छन् । जो पार्टी स्वार्थमा लागेको हुन्छ, उसले सही र गलत छुट्याउनै सक्दैन । यसकारण नेपालमा स्वतन्त्र विवेक छ कि छैन ? छ भने संसद बरालिदा, सरकार पथभ्रष्ट हुँदा, प्रशासक भ्रष्टाचारमा लिप्त हुँदा, पार्टी र नेताहरू अपराधका संरक्षक बन्दा, न्यायालय नै सडकमा छरपस्ट हुँदा, संविधानमाथि नै बलात् अत्याचार हुँदा विवेक बोलेको देखिदैन । जब विवेक पार्टीको बन्धकमा परेका हुन्छन्, त्यो देश वर्तमान कालखण्डका नेपालजस्तै हुन्छन् । हो, बोल्न पाइन्छ, बोलीको सुनवाई कहीं हुँदैन । जता हेरे पनि बाहुबली, बल मिचाइमात्र छ । यस्तो लोकतन्त्रले समृद्धि र सुख होइन, बिनास र अस्तित्वलाई खियाले खाएझैं खान्छ, खाइरहेको छ ।
निरङ्कूशता र सर्वसत्तावाद चाहिंदैन भनेर ल्याएको लोकतन्त्रको असक्षम डाक्टरले हालेको कोरामीनको कुरामा सिमित भयो । लोकतन्त्र लोकमा स्थापित हुनसकेन, लोकतन्त्र नेता र तिनका पारिवारिक मौजा हुनपुग्यो । 
राष्ट्रियताको अनुपस्थितिमा प्रजातन्त्र मौलाउन सक्दैन भनेर लेख्ने गुननार्गिदेलले नोबेल पुरस्कार पाएका थिए । राष्ट्रियता र प्रजातन्त्र सँगसँगै लैजानुपर्छ भन्ने बीपी कोइरालाको सिद्धान्त र मेलमिलापको नीति कांग्रेसभित्रै देखिदैन । कम्युनिट त कम्युन्यालिस्ट र कमाउनिस्ट भइहाले । सर्वहाराका कुरा गर्नेहरू शिक्षा, स्वास्थ्य, रोजीरोटी, बासमै व्यापार गर्ने तिल्के मारवाडी बनिसके । परिवर्तन हामीले ल्यायौं भन्ने यिनको राजनीतिले न माटो मलिलो पा¥यो, न जनताको मुखको माड बन्यो । नेपालको राजनीति स्वतन्त्रता र स्वाधीनताका लागि ढलेको धरहरामात्र हो । १५ वर्षको लोकतन्त्रको पाना पल्टाउँदा देखिने अनियमितता र अनैतिकतामात्र हो । विकास देखिन्न । सतहमा सुनिएको समृद्धी र शान्तिको भाषण आक्रोश दबाएर रोइरहेको छ ।
 सत्तामा पटक पटक गएर के गर्नु ? देशमारा विषालु तत्वहरूसँग तिघ्रा जोडेर मार्सी चामलको भात खानेहरूलाई विश्वले देखेको छैन र ? यी हलेदो हुन्, यिनको आँखा नै कमलपित्ते छ । कमलपित्तेहरूले देख्ने भनेको पहेंलोमात्र हो । देशै कमलपित्ते रोगले पहेंलपुर भइसक्यो, सुधार्ने सहारा एकजना पनि राजनीतिमा देखिदैन । मंसिर ४ को निर्वाचनले केही युवालाई अग्रसर त गराएको छ, यिनीहरू कुहिराको काग हुने हुन् कि कुहिरो फार्न त्याग गर्न पनि तत्पर हुन्छन्, आगामी केही समयले नै बताउला ।
साहित्य एकेडेमीको सर्वोत्कृष्ठ पुरस्कार अस्वीकार गर्ने अरून्धती रोयले लिसनिङ टु ग्रास हपर्स पुस्तकमा भारत विश्वको ठूलो डेमोक्र्य्रासी होइन, डेमनक्रेजी हो भनेर किन लेखिन्, यत्ति कुरा पनि नेपाली नेता बुझ्दैनन् र गरीब नेपालीको ढाड चढेर विदेशीको बुई चढेर नेपालमाथि शासन गर्न उत्साहित हुन्छन् । योभन्दा ठूलो अराजनीति र अराजक मानसिकता के हुनसक्छ ? जिवित नेपाल र नेपालीमाथि कति परजीवीको शासन ?
योग्यता हुँदो हो त १५ वर्ष लामो समय हो । राजा महेन्द्रले ०१७ देखि ०२८ सालको १२ वर्षमा भारूमा चल्ने नेपाललाई नेरूमा मात्र होइन,  राष्ट्रसंघमा उभ्याइदिए । ०७९ सालमा समेत हामी महेन्द्रले खडा गरिदिएका विकासका पूर्वाधारमा उभिएका छौं । ०६३ सालदेखि ०७९ को कालखण्ड क्रान्तिकारी, परिवर्तनकारीले खाएर र नाचेरै बिताए । अझै पनि ऐना हेर्दैनन् नेताहरू ?
आफूसामु उभिएको यक्ष प्रश्न पढुन्– समाजवाद, माओवाद, माक्र्सवाद, जनवाद, राजतन्त्रवाद, हिन्दुवाद ः यी सबै बादभित्र राष्ट्रबाद कहाँ छ ? छ भने राष्ट्रबाद यति कमजोर किन हुँदै गयो ? नेपालको सर्वसम्मत राष्ट्रिय नीति र परराष्ट्रनीति के हो ?
भारतीय अतिक्रमणको विरोध गर्ने नेपालीलाई भारतले मार्ने क्रम जारी राखेको छ । सुस्ता गयो, कालापानी गयो, लिम्पियाधुरा–लिपुलेक गयो, भारतसँग जोडिएका २३ जिल्लाका ६६ हजार हेक्टर भूभाग अतिक्रमणमा परिसक्यो । अनेक वाद र संविधानको आरती उतार्नेहरू आफ्नो राष्ट्रबादको बारी अर्काले खनजोत गरेको देख्छन्, बोल्दैनन् ? एकधरो कपडाको राष्ट्रिय झण्डा, एक इन्च भूमिका लागि युद्ध भएका छन् । लुटतन्त्र चलाउने लोकतान्त्रिक चङ्खेहरूले लोकलाई लाटो बनाए । आफू विदेशीको खेताला बने । खेतालाले देश बचाएर बाँच्दैन ।
लोकतन्त्र अनैतिकताको पोखरीमै डुबेर मर्ने भयो । ०७९ मंसिर ४ को निर्वाचनपछि राजनीतिक परिदृश्य फेरि पनि यस्तै छ ।
स्मरणीय के छ भने देउथलको युद्धमा लमजुङे बाघ अर्थात सरदार भक्ति थापाले लडे । फरक यत्ति छ, चर्को भाषण र क्रान्तिकारी, परिवर्तनकारी धेरै छन् तर जो देउथलजस्तै नेपालको अस्तित्वरक्षाको आधुनिक युद्ध मैदानमा छन्, त्यो नेतृत्व तह नै परचक्रीको खोकिलामा मुख लुकाएर लोकतन्त्र लोकतन्त्र भट्याइरहेका छन् । देश संक्रमणबाट संकटमा फस्यो । बाघका अनुहारका बिराला ७ सय ६१ सरकार बनाएर लुटतन्त्रमा अभ्यस्त भइरहेका छन् । किनकि यिनीहरू व्यवसायी हुन्, राजनीति गर्दैनन् । यिनीहरूबाट यी आफै बदलिन्छन्, समाज बदलिदैन ।
युगद्रष्टा शेखरले लेखेको यो पंक्ति सम्झना आउँछ– मान्छेले अरूको अनुभवबाट सिक्छ, धेरै कुरा सिक्न सक्छ । पशुले आप्mनै अनुभवबाट मात्र सिक्छ । हाम्रो राजनीतिका डिठ्ठा सावहरू मान्छे हुन् कि पशु ? आफै निर्णय गरून् ।
समाज बदल्ने साँचो हो राजनीति । देश सुधार्ने अत्याधुनिक मेसिन हो लोकतान्त्रिक पद्धति । मेसिन राम्रो भएर के गर्ने साँचो चलाउने नेता योग्य नभएपछि । यसकारण लोकतन्त्र आलु खाएर पेडाको धाक लगाएजस्तो भयो ।
२०६३ सालदेखि खुशी आउने भयो भनेर खुब झ्याली पिटाइयो । झ्याली मान्छे जन्मिदा, जात्रामा, शव चिहान लैजादा पनि बजाइन्छ । लोकतन्त्रमा बजेको झ्याली जीवन र जात्रा कम, मृत्यु धून ज्यादा लाग्छ । धर्मनिरपेक्षताको आवरणमा भेटिकनले हिन्दुराष्ट्र नेपालमा धर्मपरिवर्तनको बम खसालिसक्यो, हिन्दुवाद मौन छ । ९४ प्रतिशत ॐकार परिवार बेहोस छन् ।
नेपाल पनि देश हो र ? अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नजानेर सोधेका होइनन् । नेपालका गलत नेता र गलत नीतिप्रति व्यङ्ग थियो त्यो । जो आफै व्यङ्ग थिए, उनले समेत व्यङ् गर्ने नेपाल कहाँबाट कहाँ झरेछ ?
इमानका सम्बन्धमा बेलायतको एउटा घटना ७ सय ६१ सरकार सञ्चालनको सिंहदरवार पुगेका सबै सांसद र पदाधिकारीले पढुन्–
मन्त्रीको घरको गार्ड बसेको एउटा सिपाही । रातभरि गस्ती गथ्र्यो । उसको बुटको आवाजले मन्त्राणी सुत्न सक्दैनथिन् । सुत्नै नसक्नेभएपछि मन्त्राणीले मन्त्रीलाई कुरा लगाइन् । मन्त्रीले सिपाहीलाई गाली गरे । गार्डले मेरो काम गस्ती गर्नु हो भन्ने जवाफ दियो । श्रीमतीको कचकच भइरह्यो, मन्त्रीले फेरि पनि गाली गरे । गार्डले गस्ती गर्न छाडेन । पटक पटक गाली खाएपछि सिपाहीले कुम्लो कुटुरो बाँध्न थाल्यो, उसले सोचेको थियो– आफ्नो जागीर गयो । अकष्मात उसको बढुवाको चिठी आयो, स्यावासी पनि आयो । सिपाही छक्क परेर फेरि आफ्नो गार्ड र गस्तीको ड्युटीमा खटिनथाल्यो ।
अर्थात नेतृत्वमा कर्तव्य, जवाफदेही र इमान चाहिन्छ । नेतृत्वमा इमान नभएरै नेपाल नेपाली राजनीति छिमेकी र शक्तिराष्ट्रको सिँगान पुछ्ने रूमालजस्तो भयो । प्रत्येक नेपालीले यो अवस्था सच्याउन दबाब सिर्जना गर्नुपर्नेछ ।