डा. केशव देवकोटा - -
नेपालको पुराना पार्टीमध्येको एक नेपाली कांग्रेस संसदमा पहिलो पार्टी भएर पनि प्रतिपक्षको भूमिकामा पुगेपछि सो पार्टीभित्र र बाहिर बिभिन्न किसिमका टिकाटिप्पणीहरू थालिएका छन् । खासगरी पुस २२ गते बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक र त्यसको संभाबित परिणामलाई लिएर बिभिन्न आंकलनहरू भैरहेका छन् । जुन बैठकमा छलफलको मुख्य बिषय मंसिर चारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा र समसामयिक राजनीति रहेको छ । सो बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई आमन्त्रण गरिएको छ । नेपाली कांग्रेसमा सभापति देउवाको आलोचना तीब्र बनेको छभने धेरैले देउवाले पार्टीको सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने माग गरिरहेका छन् । देउवाको बचाउमा सीमित नेताहरूमात्र रहेको देखिन्छ । देउवाको राजीनामा उहाँको नैतिकता र जिम्मेवारी बोध गरेमामात्र हुनसक्ने बिषय हो । अन्यथा उहाँलाई सभापति र पार्टीको संसदीय दलको नेताबाट राजीनामा गराउनसक्ने तागत नेपाली कांग्रेसमा छैन । देउवाले नैतिकताका आधारमा पद छोड्ने कुरा धेरै टाडाको बिषय हो । जसले आफ्नो राजनीतिको केन्द्रबिन्दू पदलाई बनाउँदै आएको छ, उसैसँग पद छाड्ने अपेक्षागर्नु ब्यर्थ छ । एउटा संभावना हालको अवस्थामा नेपाली कांग्रेस बिभाजित भएमा देउवाको बिपक्षमा रहने समूहले ठूलो पार्टी निर्माण गर्नसक्ने अवस्था रहेको छ । नेकांबाट अलग भएर बनेको नेकां (बिपी) र पार्टी संगठन बाहिर रहेका नेकांका पुराना नेताहरूको जमात नयाँ पार्टीमा गोलबन्द हुनसक्ने संभावना प्रबल छ । त्यसैगरी सो समूहमा गैह्रबामपन्थी अन्य कतिपय समूहहरू पनि संगठित हुनसक्ने अवस्था छ । देउवाले नेतृत्वगर्न थालेपछि न त नेपाली कांग्रेसको कुनै उन्नति प्रगति भएको छ, न देशकै भन्ने धेरैको बुझाई रहेको देखिन्छ । नेपाली कांग्रेसमा यो अवस्था किन आयो त भन्नेबारेमा बिहंगम दृष्टि लगाउनु पर्ने अवस्था छ । बाहिरबाट सरसर्ति हेर्दा नेकां संसदको सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्षमा पुग्नु सामान्य घटनाझै देखिएपनि यसको गहिराईमा पुगेर ब्याख्या र बिश्लेषणगर्ने होभने यो धेरै गहन र बिचारणिय बिषय भएको छ । जसलाई निम्नरूपमा लिन सकिन्छ ः
१.बैचारिक स्खलन ः इतिहासलाई केलाएर हेर्दा नेपाली कांग्रेस पनि एउटा खास बिचारका आधारमा संगठित पार्टी हो । जसको आफ्नै आदर्श, रणनीति र कार्यनीति रहेको थियो । ००७ देखि ०४६ सालको राजनीतिक परिवर्तनसम्मका घटनाक्रमहरूलाई हेर्ने होभने धेरै कुराहरू स्पष्ट हुन्छन् । तर ०४६ सालको राजनीतिक परिवर्तनपछि र खासगरी पार्टीमा गिरिजाप्रसाद कोइरालाको नेतृत्व शुरू भएपछि सत्ता र शक्तिमा रहेकाले जे गरे पनि हुन्छभन्ने प्रबृत्तिको शुरूवात भएको देखिएको छ । ०४६ सालको राजनीतिक परिवर्तन भारतीय पार्टी र नेताहरूको साथ सहयोगमा भएको थियो । त्यसैले उनीहरूले आफ्नो स्वार्थ साधनाका लागि नेपाली कांग्रेसलाई भरपुर प्रयोग गरे । त्यसक्रममा पार्टीका घोषित सिद्धान्त, मूल्य, मान्यता र आदर्श सबै तोडिन पुगे । हुँदाहुँदा नेपाली कांग्रेस सत्ताका लागि बिपरित राजनीति भएको माओवादीसँग समेत कार्यगत एकता र सत्ता गठबन्धनगर्ने अवस्थामा पुग्यो । कथंकदाचित नेपाली कांग्रेसले आफ्नो राजनीतिक धरातल नछाडेको भए सो पार्टी पनि भाँडिने थिएन र अन्य पार्टीहरू पनि आआफ्ना ठाउँमा रहेका हुने थिए । नेपालको पुरानो पार्टी नेपाली कांग्रेसले आफ्नो धरातल बिर्सिदिंदा देशको समग्र राजनीतिनै प्रदुषित हुनपुगेको छ । त्यसैले नेपाली कांग्रेसले आफ्नो भाबि राजनीति र पार्टी संगठनलाई जोगाउने होभने आफ्नो धरातल सुनिश्चित गरेर त्यसको दायराभित्र रहने अभ्यास गर्नुपर्दछ । नेपाली कांग्रेसले भारतीय कांग्रेसको पतनलाई नियाल्दा पनि राम्रो हुन्छ ।
नेकांको बर्तमान अवस्था ः घटनाक्रमहरूले कांग्रेस चौबाटोमा पुगेकै हो । उ अब कता जान्छ ? त्यो हेर्न बाँकी छ । कांग्रेसका नेता डा शेखर कोइरालाले भनेजस्तै यतिबेला सो पार्टीको सत्ता गुमे पनि शक्ति गुमेको छैन । गत मंसिर चारको निर्वाचनले नेकांलाई एमालेसँग थोरै संख्यान्तरले संसदको पहिलो पार्टी बनाएको छ । उसले जानेको भए निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्बजनिक हुनासाथ नजिकको पार्टीको साथ लिएर सरकार बनाउन सक्थ्यो । तर नेकांका नेताहरूको संगत माओवादी अध्यक्षसँग बढी भएका कारण उनीहरूमा त्यो सोच आएन । हुँदाहुँदा सो पार्टीका सभापति लगायतका केही नेताहरूमा अल्पमतको एकल सरकार गठन गरेर राष्ट्रपति लगायतका सबै पद आफै धारणगर्ने शोच पलाउन थाल्यो । नेकांले आफ्नो साथमा पदका भोका सहयात्री भएको कुरालाई बिर्सियो । ०४६ सालको जनआन्दोलनका लागि नेकां र एमाले मिलेको कुरालाई नेकांको पछिल्लो पुस्ताले मन्त्रकारूपमा लिएर बामपन्थीहरूसँग मिलेर अर्को १५–२० बर्ष सत्ता कब्जागर्ने सपना देख्दा आफ्नो अगाडि आएको सत्ता समेत गुम्यो । संसदीय राजनीतिमा समग्र राजनीतिलाई नै संभावनाको खेल भन्ने गरिन्छ । हुन त खासमा भन्ने होभने राजनीति बिचारको खेल हो । नेपालका राजनीतिज्ञहरू देश र जनताको हितका लागिभन्दा पनि सत्ताको तानातानमै बढी केन्द्रित रहने भएकाले नेकांले आगामी पाँचबर्ष भित्रमा फेरी सत्ता हात नपार्ला पनि भन्न सकिंदैन । तर यो पछिल्लो अवधीमा उसले आफूलाईबैचारिक र सांगठनिक रूपमा सुधार्नेतिर लाग्नु राम्रो ।
जनादेशको उलंघन ः देशले ठूलो धनराषि खर्च गरेर र लामो तयारीकासाथ मंसिर चारको निर्वाचन गरायो । तर त्यो निर्वाचनले दिएको जनादेशको कुनै पनि पार्टीले वास्ता गरेनन् । चुनाव हुँदैगर्दा जनतालाई बिभिन्न प्रलोभन देखाएर झुक्याए । निर्वाचन सकिएपछि जनालाईनै बिर्सिदिए । त्यसैले जनताले सरकारको नेतृत्वगर्न खटाएको नेपाली कांग्रेस प्रतिपक्षमा र प्रतिपक्षमा खटाएको माओवादी केन्द्र सरकारको नेतृत्वमा पुग्यो । जसलाई राजनीतिक अराजकता भन्ने गरिन्छ । यो अराजकता ल्याउने प्रेरणाको श्रोत नेपाली कांग्रेस नै हो । झण्डै ३३ बर्षदेखि कुनै न कुनैरूपमा सत्ता र शक्तिमा रहेको नेपाली कांग्रेसले देश र जनताप्रतिको आफ्नो दायित्व बिर्सिदिंदा यो अवस्था आएको हो । नेपाली कांग्रेसले मंसिर चारको जनादेशलाई समयमानै बुझेर त्यसअनुसार कदम उठाउन सकेको भए यो अवस्था आउने थिएन । सत्तामा जाने जनादेश नपाएकाहरूले त्यहाँ पुग्ने प्रयासगर्नु स्वाभाबिक हुन्छ । तर सत्तामा जाने जनादेश पाएकाहरूले त्यसको सदुपयोगगर्न नसक्नु वा हेलछेक््रयाईंगर्नु गंभिर गल्ती हुन्छ । हाल भएको पनि त्यहीनै हो । हुन त यसअघि पनि नेकांले प्रमुख प्रतिपक्षमा रहिरहेको बेला माओवादी केन्द्रलगायतका बिपक्षी दलहरूले उचालेको भरमा आफ्नो राजनीतिलाई छाडेर सत्ता रोजेको थियो । आफ्नै नेतृत्वको गठबन्धन टिकाउन नसक्दा अप्रत्यासितरूपमा सत्ताविमुख भएको नेकांमा आन्तरिक कलह चर्किनु स्वाभाबिक हो । सभापति देउवा र उहाँनिकट केही नेताहरूको सत्ता स्वार्थका कारण केन्द्र र सातै प्रदेशको नेतृत्व गुमेको अवस्था छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफूहरूलाई निर्णय प्रक्रियामै सामेल नगराएकोभन्दै गंभिर प्रश्न उठाउनु भएको छ । कांग्रेसभित्र नेतृत्वको असक्षमताप्रति प्रश्न उठेपनि नैतिकरूपमा राजीनामा आउने संभावना कम छ । निर्वाचनअघि देउवालेनै बहुमत ल्याउनका लागि गठबन्धनमै जानुपर्छ भनेको कुरा धेरैले स्मरण गर्नेगरेका छन् । नेकांले आफ्ना सबै मूल्य, मान्यता र आदर्श बिर्सेर गठबन्धनको राजनीति गरेका कारण जनताले मंसिर चारको निर्वाचनमा पनि दण्डित गरेभने परिस्थितिले त्यसपछि पनि दण्डित ग¥यो । २२ गतेको बैठकले कांग्रेसमा झन संकट थप्नसक्ने आंकलन छ ।
देशभक्ति र अन्तराष्ट्रिय सम्बन्ध ः हरेक राजनीतिमा सामेल भएका पार्टी तथा नेताहरूको पहिलो शर्त देशभक्ति हुनुपर्दछ । त्यसपछि मात्र अन्तराष्ट्रिय सम्बन्धका कुराहरू आउँछन् । तर नेपाली कांग्रेस खासगरी ०४६ सालको राजनीतिक परिवर्तनपछि उपरोक्त कुराको ठीक बिपरित रहँदै आएको छ । देशभक्तिले देश र पार्टीसमेत अगाडि बढ्दछभने अन्तराष्ट्रिय भक्तिले ब्यक्तिको स्वार्थमात्र पूरा हुन्छ । ०४६ पछि केहीबर्ष नेपाली कांग्रेस भारत भक्तिमा रहेको भनिन्थ्यो । नेकांका नेताहरू भारतसँग साझा नदी र साझा मुद्रा भन्ने अवस्थामा समेत पुगेका थिए । पछिल्लो समयमा नेपाली कांग्रेसको संलग्नता अमेरिकातिर बढि भएको चर्चाभएको थियो । जसले असंलग्न परराष्ट्र नीति र अशल छिमेकी नीतिलाई समेत बिर्साउँदै लगेको राजनीतिक क्षेत्रमा मूल्यांकन हुनथालेको थियो । छल बल गरेर अमेरिकी बिवादास्पद योजना एमसीसी नेपालको संसदबाट पारित गरिएको नाटकीय घोषणाले धेरैको अनुहार उजागर गरिदिएको थियो । नेकांको जनप्रिय मत घट्नुको कारण पनि त्यही बन्यो । आज जुन घटनाक्रमको विकास भएर नेकां संसदको पहिलो पार्टी भएर पनि प्रतिपक्षमा पुग्नुपर्नाको कारण पनि त्यहीनै हो । नेपाल मामिलामा चीन र भारतलाई नजिक्याउने कारण पनि त्यही नै बन्यो ।
अन्त्यमा ः कांग्रेसले आफ्नो पार्टी र नेतृत्वको समग्र समीक्षा गर्नसक्र्छ । सबैले आफ्नो पार्टी र बिचारमा अडिएर काम नगरेसम्म देशको राजनीति सही ढंगले अगाडि बढ्न सक्तैन । अबसरवाद आफैमा राजनीतिक महारोग हो । अवसरवादको बोलवाला रहेसम्म कुनैपनि पार्टीमा अनपेक्षित राजनीतिक दुर्घटनाहरू भैरहन्छन् । हाल कांग्रेसमा भएको त्यही हो । राजनीतिको मूल आधार देशभक्ति र कार्यबिधि जनादेश अनुसार बनाउन सक्नुपर्दछ । सीमाना उत्तरमा चीन र दक्षिणमा भारत रहेसम्म अन्य देशहरूले नाजायज फाइदा लिन सक्तैनन् । उनीहरूको पछिलाग्नेहरूको पनि कहिल्यै भलो हुने छैन । यो बुझ्न सक्नुपर्छ ।