शाश्वत शर्मा - -
ओहो, राजाका सहयोगीहरु अझै उस्तै रहेछन् । भोलि पुनस्र्थापना भइहाल्यो भने यिनले के गर्न बाँकी राख्लान् ? एकजना हक्की राजावादी, हिन्दुवादी हेमविक्रम सिलवालले हार खाएर मृत्युवरण गरेको कारण थाहा पाएपछि पुराना राजावादी यसै भन्दैछन् । सिन्धुपाल्चोकतिरका सिलवाल जो राजाका लागि लडिरहेका थिए, ज्यान फाल्न तैयार देखिन्थे, राजाका लागि विरोधीहरुसँग बहस गर्थे, हरेक दिन यूट्यूव र प्रेस मिटहरुमा राजतन्त्रको वकालत गर्थे, तिनले ‘४ वर्षदेखिको प्रयासमा पनि दर्शनभेट नपाएको’ झोकमा आत्महत्या नै गरे । उनले मृत्युवरण अघि लेखेको फेसबुक वाल पढ्ने सबैलाई मर्माहत पार्नेखालको छ । राजा, राजा भनेर हिंडेका सिलवालले दर्शनभेटसम्म पाएनन् र जीवन त्याग गरे । उनका अनुसार राजाका सहयोगीलाई बारम्बार आग्रह गरेका रहेछन् । एकले अर्कोलाई देखाउने, अर्कोले अर्कोलाई । यसरी झुलाइरहँदा दिक्दार भएर उनले प्राण त्यागेका रहेछन् । आफूले आस्था राखेका व्यक्तिलाई भेट्न समेत नपाउने, उनलाई भेट्न सम्म नदिएको घटना अपराधसरह नै मानिएको छ ।
राजावादीहरुमा सिलवालको चर्चा छ । कोही उनलाई मूर्ख भन्नेहरु छन् । खरा राजावादी भन्छन्– देवप्रकाश त्रिपाठी, युवराज घिमिरे, भूषण दाहाल अनि रातपरेपछि ब्रिफकेस समाउन जानेहरुमात्र चाहिन्छ । शुद्ध, सोझा, राष्ट्रभक्तहरु राजाका सहयोगीहरु देखिसहदैनन् । सत्य के हो भने जो शुद्ध देशभक्त छन्, देश बचाउन चाहिने तिनीहरु हुन् तर राजाका सहयोगी त्यस्तालाई उचाल पछार गरिरहन्छन् । नचाइरहन्छन् । यहीकारण हो, राजतन्त्र पुनस्र्थापनाको आन्दोलनले उचाइ लिन नसकेको । अधिकांश नागरिक अब अभिभावकीय दायित्वका लाग राजतन्त्रको आवश्यकता ठान्छन् । तर राजाका सहयोगीहरु कहाँबाट सञ्चालित छन् कुन्नी, राजतन्त्रवादीहरुलाई कत्ति पनि संरक्षण, सहयोग, समर्थन गर्दैनन् । एउटा पार्टीको कार्यकर्तालाई आवश्यक परे पार्टीले, पार्टी सरकारले समाल्छ, एउटा राजावादीले दर्शनभेटसम्म नपाएर अकालमा ज्यान फाल्नुपर्छ । चाकडीमात्र खोज्ने दरवारियाले राजतन्त्र पुनस्र्थापना गराउन वातावरण बनाउँदैनन् ।
यथार्थमा राजतन्त्रवादी भएर आन्दोलनमा लाग्नु भनेको अन्धकार यात्रा हुनपुग्यो । ०४६ सालपछि ओह्रालो लागेको मुलुक जनआन्दोलनपछि रसातल नै पुगिसक्यो । तैपनि तिनै नेता, तिनै दल सत्तामा कायम छन् । किन त ? कारण दरवारियाहरुसँग स्पष्ट मार्गचित्र नै छैन । एकथरि पञ्चायत भनिरहेका छन्, अर्कोथरि ०४७ सालको संविधान । मुलुकको आवश्यकता के हो ? कता लाने मुलुकलाई ? खाली दल र नेताको असफलताको कुरा काटेर राजतन्त्र, हिन्दुराष्ट्र पुनस्र्थापनाको सपना देख्नेहरुका कारण मुलुक बेथिति र लथालिङ्ग भइरहेको छ ।
राजसंस्था अपरिहार्य भइसक्यो, तर राजाका सहयोगीहरु वातावरण बनाउनतिर होइन, बनेको वातावरण धमिल्याउन लागिपरेका छन् । आफ्नै स्वास्नीलाई छुरा रोप्न लगाएर पैसा खाने लोभीपापी सहयोगीहरुबीच बसेर राजाले आफ्नोमात्र होइन, मुलुकको भार लाग्नेगरी सत्यानास गरिरहेका छन् । सही कुरा गर्ने, मुलुकको हित चिताएर काम गर्नेहरुलाई राजाका सहयोगीहरु फुटेको आँखाले देख्न सक्दैनन् । अब त राजा र राजपरिवारले आँखा खोल्नुपर्ने हो । सही पहिचान गर्नुपर्ने हो ।
यथार्थ धरातलमा उत्रिनुप¥यो । सन्देश, अन्तर्वार्ताहरुमा पीडावोध गरेरमात्र केही हुँदैन । यो समय ०१७ साल होइन, न त ०२७ देखि ४६ सालजस्तो नै हो । आजका जनतालाई भावी योजना, नेतृत्व, भरविश्वास खोज्छन् । अन्यथा नेताहरुले चुनावका बेलामा रक्सी, मासु, पैसाले भोट किनिरहनेछन्, जितिरहनेछन् र लोकतन्त्रको डम्फु बजाएर देश र जनतालाई लुटिरहनेछन् । पार्टीका कार्यकर्ता बन्यो भने सत्तासम्म उसको पहुँच हुन्छ, राजतन्त्र र हिन्दुवादी अकालमा मर्नुपर्छ । राजा जिन्दावाद भन्न पनि राजाका वरिपरिकालाई खुशी पार्नुपर्ने कस्तो दिन आयो ?
यिनै दरवारियाको झुण्डले बारेको छेकवार नै हो, जो स्वेच्छाले राजाको फोटो लिएर हिड्छन्, त्यसमा समेत आफूले गराएको धक्कु लगाउँछन् । राजाको कविता आफैल लेखेर, भाषण अरुलाई लेखाएरसमेत कमिशन खान्छन् । यत्रा नेपाली राजतन्त्र र हिन्दुवादी हुँदाहुँदै पनि किन राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना हुन नसकेको ? कारण यी र यस्तै राजाका वरिपरिका विषालु तत्वका कारणले हो ।
यी दरवारिया तत्वलाई त कालाबजारिया, दुई नम्बरी, बैंकिङ कसुरमा परेकाहरुको सामाजिक क्रियाकलापमा राजाको सवारी चलाएर, राजालाई भेटाएर त्यताबाट पनि शुभलाभ लिनुमा बढी ध्यान गइरहेको देखिन्छ । अहिले त राजा र राजपरिवारका लागि वातावरण केही सहज भयो । नत्रभने ०४६ सालको पञ्चायत विरोधी आन्दोलनताका माओवादी जनयुद्धताका, अनि जनआन्दोलनताका त्यस्ता कठिन दिनहरुमा कसकसले राजा र राजसंस्थाको अपरिहार्यताको आवाज उठाएर हिंडेको थियो ? बिर्सीसके राजाले, राजाका वरिपरिका कोटरीले ?
मुख्य प्रश्न राजावादी हुँदाहुँदै किन उनीहरु गणतन्त्रवादीसँग मिसिन पुगे ? अब त बुझ्नुप¥यो नि । अरु केही चाहिएन, कमसेकम सही राजतन्त्रवादीलाई भेटवार्ता त गरिदेऊ । निर्जिव देवता र सजिव राजामा के फरक रह्यो ?