देवी काफ्ले - - -
शताब्दी एक्काइसौं, ब्यावहार तेह्रौं शताब्दीको जस्तो कायमै छ । लोकतान्त्रिक गणतन्त्र राज्य । समान अवसर, समान ब्यावहार, समान अधिकार उल्लेखित कानूनी राज्य, तर व्यवहारमा शून्य ।
समय परिवर्तनशिल छ । ब्यवस्था पनि समय अनुसार फेरिएको छ । वर्गिय, लैंगिक समानताका बिषयमा विभिन्न कार्यक्रम, गोष्ठीको आयोजना भैरहेका छन् । आश्वासन हरेक परिवर्तित सरकारबाट प्रसाद स्वरुप वितरण हुन्छन् । सुधार भएन नै होइन । उल्लेख्य सुधार नहुँदा ती जर्जर समस्याहरु झन् बिकराल बनेर देखा परेका छन् । समाजमा बिकृति र बिसंगति झन झन बढेका छन् ।
शिक्षा बिना मानिस अन्धो हुन्छ, ध्रुव सत्य हो । कहि कतै जघन्य अपराध भयो भने सर्वप्रथम हामी उसको शैक्षिक अवस्था पत्ता लगाउन थाल्छौं अशिक्षाको कारणले घटना घट्यो भनेर विश्लेषण पनि गर्छौं । हामी जडमा जाने प्रयास नै गर्दैनौं । अझ महिला माथि भएका हिंसालाई त झनै गहिराईमा पुगेर हेरेको पाइन्न । हरेक दल महिला हिंसा कम गर्ने कुरा गर्छन्, काम पटक्कै गर्दैनन् । मानौं महिला भनेका राजनीतिको सर्वकालिक विषय हुन्, जसलाई जति उपयोग गरे पनि हुन्छ ।
महिला अधिकारका बिषयमा जानकार धेरै महिलाहरु तथा अधिकारकर्मीहरु पुरानै रितीरिवाज र परम्परालाई नै दोषी देखाएर व्याख्या गरिरहेका हुन्छन् । महिला हिंसा बिरुद्ध १६ दिने अभियानकै क्रममा घरेलु हिंसामा परेकी डाक्टर पत्नीको बिषयले मेरो मनमुटु नै हल्लायो । डाक्टर अरुको ज्यान बचाउने भगवानको रुपमा हेरिन्छ । नपढी त्यसै डाक्टर त भइनन् होला ? डाक्टर बन्न पढ्नुपर्छ होला अनि अशिक्षित भयो र ? रन्जन कोइराला अनपढ त थिएनन्, उनिबाटै कति ठूलो अपराध भयो । यी प्रतिनिधि पात्रहरुलाई हेर्दा पढ्दा भयानक हिंसा शिक्षित ब्यक्तिबाटै हुनेरहेछ नि । तर दोष अशिक्षित बर्गलाई दिइन्छ, जागरण फैलाइन्न ।
अब हामीले विश्लेषण गर्ने बिषय हिंसा न्युनिकरण गर्न बिचार परिवर्तन गर्नु पर्छ । सोच परिवर्तन गर्नु पर्छ । मानसिक बिकारहरु त्याग्न सक्नुपर्छ । जब मानिसको सोचबिचार नै हिंसात्मक हुन्छ भने उसले पढेलेखेर ब्यावहार बदल्न सक्दो रहेनछ । बाआमाले सिंगो जीवनमा कमाएको धनसम्पत्तीले नपुगेर भौतिक बस्तुहरु तथा नगद माग गर्दै महिलामाथि हिंसा गर्नु उसको कुण्ठित विचारमा परिवर्तन नआउनुले गर्दा हो । सधैं यसरी बस्नु भनेको पश्चगमनतिर लाग्नु हो ।
महिलामाथि घरेलु हिंसाका साथसाथै बलात्कारका घटना पनि तिब्र रुपमा छन् । बलात्कार केशमा पनि हामी उतिकै हलुका विश्लेषण गरेर बसेका छौं । अशिक्षाको कारण बालिका बलात्कारको केशहरु दैनिक रुपमा बढेको छ । अझ तत्कालका ताजा खबर अनुसार त राजनैतिक ब्यक्तिहरुबाट भएका घटना बाहिर आएका छन् । समाज परिवर्तन गर्छु भनेर राजनीतिमा लागेका ब्यक्तिबाट त्यस्ता काम भएपछि पिछवाडेको ब्यावहार कस्तो होला ? समाजमा नेतृत्व लिन सक्ने ब्यक्तिलाई कसरी अशिक्षित भनौं ? यो सबै दण्डहीनताको पराकाष्ठाले भइरहेको हो ।
बिद्यालयमा प्रधानाध्यापक, शिक्षकहरुबाट बिद्यार्थीले हिंसा खेप्नुपर्छ भने ती शिक्षकहरु अशिक्षित हुन् वा ब्यभिचारी ? सामान्य देखि उच्च तहका मानिस समेत बलात्कारका घटनामा मुछिनुलाई कसरी हेर्ने ? यो त महामारी भएन ?
सरकारी कार्यालयमा हुने महिला माथिको हिंसालाई कसरी अशिक्षाको कारणले भन्ने ? यो सबै घट्नुको बदला बढेर जाँदो छन्, महाव्याधिका रुपमा ।
बलात्कार तथा घरेलु हिंसाका बिरुद्धमा दिनहुँजसो आवाज उठेता पनि त्यसलाई ठोस रुपमा लिएको देखिंदैन । न्यूनीकरणका पहलहरु गोष्ठीमा, पाँचतारे होटलमा र नारामा मात्र सिमित रहेको देखिन्छ । के यसरी नारा र गोष्ठीमा सिमित न्यायका चर्का नाराले महिला हिंसा बन्द हुन्छ ? अझै पनि योजनाविद र सामाजिक अभियन्ताहरु विदेशी सहयोग र स्वदेशी राजस्व खर्च गरिरहेका छन्, उपलव्धि केही छैन ।
यसरी अवस्य हुदैन । अब हिंसा बिरुद्धका कार्यक्रम, सचेतना कार्यक्रमहरु बन्द कोठामा हैन सम्भावित ठाउँमा गर्दा फरक पर्छ कि ? खोई यसतिरको सोच ?
शिक्षासंगै सचेतना आवस्यक छ यो समाजलाई र प्रत्येक ब्यक्तिलाई ।
दाइजोको रोग तराई होस् या शहरमा आगोसरी फैलिएको छ । कति छोरीबुहारीले जल्नु परेको छ । बलात्कारका घटना राष्ट्रिय रुपमा नै भयावह छ । घट्दो रुपमा जाला भन्दा झन् दिनानुदिन बढिरहेको छ । महिला कहिलेसम्म असुरक्षित भएर बाँच्ने ? सुरक्षित हुन पाउने कुनै आधार छैन । त्यसैले अबको क्रान्ति भनेको नारा र कोठे हैन हरेकको मनमनको कुविचार फाल्न सक्ने हुनुपर्छ । जब मनको भय फाल्न सकिँदैन तवसम्म विचार परिवर्तन गराउन सकिँदैन । यदि सकिन्थ्यो भने छाउप्रथा आजसम्म कायम रहने थिएन । छाउगोठ भत्काइए तर मनभित्रको गोठ भत्काउन नसक्दा आजपनि महिनावारीमा नानीहरु असहज परिस्थितिमा पनि गोठमा बिताउन बाध्य छन् । मन र बिचार परिवर्तन गरौं । सभ्य समाजको निर्माण गरौँ ।