शाश्वत शर्मा - -
राजनीति एकदमै तरल छ । विश्लेषकहरूका अनुसार गणतन्त्र नै धरापमा परिसक्यो । यसपछि शासन प्रणाली के हुनसक्छ ? यसमा रनभुल्ल छन् सबै । के रजातन्त्रको पुनरोदय सम्भव छ ? यसमा अनेक तर्कवितर्क हुनथालेका छन् । कोही भन्छन्, कुनै पनि शासनव्यवस्था पुरानै रूपमा पुनरागमन सम्भव छैन, केही भिन्न रूपमा पुनस्र्थापित हुनसक्छ । जे पनि हुनसक्छ तर पूर्वराजा ज्ञानेन्द्र वा समर्थकबाट त्यस्तै कुनै प्रयत्न भएको देखिदैन । मौसमी रूपमा ०४७ को संविधान ब्यूताउनुपर्छ भनेर माँग हुनेगर्छन् र सेलाउँछन् । निकटस्थहरू भन्छन्– झापाबाट जानकी मन्दिरमा सम्मानित भएर पूर्वराजा अझै केही समय राजधानी नफर्कने योजना छ । गत दशैंदेखि पूर्वराजा एकप्रकारले गुमनाम रहन थालेको देखिन्छ । दशैंको शुभकामना सन्देश कडा आयो, सन्देशपछि चिसो बढ्यो । गत चुनावमा पूर्वराजाले केहीलाई चुनाव खर्च दिएको उडन्ते चर्चा भयो, सेलायो । अझ स्रोतहरूका अनुसार त कोर्स करेक्शनमा लागे नजरबन्द गरेर जेल हालिदिने धम्की दिएपछि पूर्वराजाका सक्रियता न्यूनिकरण भएर गएका हुन् ।
हिमानी ट्रष्ट मार्फत सामाजिक सेवामा सक्रिय रहेकी पूर्वयुवराज्ञी हिमानी शाहले केही समयअघि काठमाडौंका मेयर बालेन्द्र साहलाई एक विदेशी दूतावासको कार्यक्रममा भेटेपछि निस्कृय रहेकी छिन् । त्यसपछि सामाजिक सञ्जालमा समेत उनको निस्कृयता किन हो भनेर प्रश्न उठेको छ । उता पूर्वयुवराज हरफन मौलाहका तालमा सक्रिय र घुमफिर मै देखिन्छन् । झापाका व्यापारी दुर्गा प्रसाई वा दोलखा क्षेत्रमा एकल भ्रमण किन नहोस्, पारस शाह सक्रिय छन् । पूर्वनवयुवराज हृदयन्द्र, पूर्णिका र कृतिकाहरू पनि बिस्तारै ओझेल परेको अनुभूति हुन्छ । बृद्ध पूर्व मुमा बडामहारानी रत्नको पनि चर्चा छैन । अर्थात् राजपरिवारको गतिविधि साँघुरिदै गएको देखिन्छ । राजसंस्था पुनस्र्थापित गर्न लागिपरेका र कामना गरिरहेकाहरू पनि थाकेछन् कि जस्तो लाग्छ । सत्ता र शक्तिका लागि लुछाचुँडी गरिरहेका पार्टी र नेताका भन्दा सदाशयता र सहानुभूति बटुलिरहेको राजपरिवार झन बढी सक्रिय हुनुपर्ने बेलामा अमिल्दो र असुहाउँदा स्थिति विकसित हुनु अचम्म मान्छन् धेरै विज्ञहरू । पूर्व राजा नै यसरी निस्कृय भएपछि इसारा र आदेशको पर्खाइमा रहेका समर्थक, जनताले गर्ने के ? केही समर्थक भन्छन्– जे देखिएको छ, त्यो नहुनसक्छ । भित्रभित्रै सक्रियता छ । भेटघाट जारी छ । गत चुनावमा जेजस्तो परिणाम आएको छ, त्यो राजसंस्थाको प्रतापले नै हो । परिवर्तन र जनविद्रोहका झल्का र झिल्का पनि परिवर्तनको सन्देश नै हो । साना ठूला नेता तथा विदेशी मित्रहरूसँग पनि पूर्वराजाको संवाद चलिरहेकै छ । त्यसैगरी गणतन्त्रवादीहरू पनि सबै कहाँ गणतन्त्रवादी हुन् र ? ती त राजतन्त्रवादी हुन् भन्ने जमात पनि ठूलै छ । अलिकति विदेशीशक्तिबाट परिचालितले तिनको सहयोग पाएनन् भने राजतन्त्र स्थापित हुन लामो समय लाग्दैन भन्नेहरू पनि छन् । भन्नैपर्छ, आमनागरिक राजसंस्थाको पुनस्र्थापनाको पक्षमा छन् ।
बिकल्पको वातावरण नदेखेर अहिले शेरबहादुर देउवा, प्रचण्ड, माधव, ओलीतिर भीड देखिएको हो । तर एउटा कुरा पूर्वराजाको आफ्नो कार्यक्रम स्पष्ट रूपले सतहमा नआएको हुनाले विदेशीहरूले यसतिर नसोचेका हुन् कि ? अथवा आफ्ना स्वार्थहरू यिनै भरिया चरित्रका नेताबाट पूर्ण हुने भएकाले पो विदेशीहरूले नेपाल जेसुकै होस्, आफ्ना मिसन पूरा हुनुपर्छ भनेर पो लागेका हुन् कि ? सम्भवतः यहीकारणले गणतन्त्र र संघीयताका नाममा यी भ्रष्ट र नीति र नैतिकहीन नेताहरूले आफ्नो राइँदाइँ चलाइरहन पाइरहेका छन् । छिमेकी र विश्वशक्तिका लागि समेत सयौं राजाहरूसँग कुरा मिलाइरहनु भन्दा एउटै राजासँग कुरा गर्न सहज हुने अनुभूत भइसकेको छ । यी भ्रष्ट, सत्ता, शक्ति र सम्पत्तिका लागि जतिबेला जसलाई पनि सडकमा बदनाम गरिदिनसक्छन् भन्ने हेक्का छिमेकी र विदेशीले राखिसकेका छन् । स्थिति डावाँडोल भइसकेको छ ।
प्रश्न उही छ– राजसंस्थाको पुनस्र्थापना कहिले हुन्छ त ? १५ वर्ष भइसक्यो, अवैधानिक तरिकाले राजसंस्था किनारा लगाएको ? हिन्दुराष्ट्र मिल्काएको ? संघीयता स्वीकार गरेको ? राजसंस्था हुँदा के पाइएन, राजसंस्था, हिन्दूराष्ट्र फालेर संघीयता अपनाउँदा के पाइयो ? यसबारेमा बुझाउन सक्ने तथ्य र सत्य कुनै पनि पार्टी वा नेताले बताउन सक्ने अवस्था छैन । यो १५ वर्षमा जे भयो, भ्रष्टाचारमात्र भयो, सिद्धान्तहीनतामात्र देखियो, इमान सखाप भयो, राजनीतिले जनताप्रतिको जिम्मेवारी निर्वाह गर्नैसकेन । देश अभिभावकविहीन भयो ।
मंसिर ४ को निर्वाचनमा देखियो, निरास नागरिक घण्टीतिर झुण्डिन थालिसकेका छन् । घण्टीको लहर आउनुमा युवाहरूमाझ, राजसंस्था स्वयंले आफूले मुलुक रजनताका लागि अघि गरेका कार्यहरूको बजारीकरण गर्न नसक्नु, बलात् हटाइँदा पनि चूपचाप सहेर बस्नु र अहिले गुमनामीतिर लाग्नु नै हो भन्दा अतिशयोक्ति नहोला ? कर्तव्य पूरा नगर्दा भार लाग्छ भन्ने पूर्वराजालाई देशको लथालिङ्ग चाला थाहा छ । बाँचुञ्जेल देशमै बस्ने निर्णय जति स्वागतयोग्य कदम हो, वानप्रस्थजस्तो चालामालालाई माटो र देशवासीका लागि अस्वीकार्य विषय हो ।