राजन कार्की - - -
जनयुद्धले कहालीलगायो, जनआन्दोलनले परिवर्तन ले¥यायो । कसले सोचेको थियो, परिवर्तनले पनि देश र जनताको सातो खान्छ भनेर । देश बर्बादीको भीरमा पुगिसक्यो, जनता बेहाल अवस्थामा पुगिसक्यो, नेतृत्वपङ्ति अझै संविधान कार्यान्वयन ग¥यौं, संविधान बचायौं भनिरहेका छन् । जुन संविधानले अदालतको चीर हरण ग¥यो, जुन पद्धतिले विधिको शासन सिध्यायो, त्यही संविधान कार्यान्वयन भएर हुन्छ के ? नाकले माटो खाइसक्यो, न्याय ढलमती बनेर बगिसक्यो, विपन्न र पिछडाबर्गको हक र अधिकारसमेत सम्भ्रान्तले दिउँसै लुटेका छन्, अझै नेताहरू अग्रगमनतिर लागेका छौं । यो कस्तो अग्रगमन हो, जसले नाली र जंगल पनि चिन्दैन । संसद भेडीगोठ कि जनप्रतिनिधि स्थल हो भनेर पनि जान्दैन । आफूले पाए संविधान, नपाए सडकगान ? यस्तो पनि बिधि, पद्धति, पात्र हुन्छन् ? यसैलाई भनिन्छ, लोकतान्त्रिक भनिएका नेताहरू मुखमा ऋषिमन देखाउँछन्, व्यवहारमा असुरपनको कार्य गर्छन् । राजनीतिमा अपराधिकरण भएपछि बढ्ने अपराध नै हो । भारतमा हिन्दुवादीको शासनको उदय भयो । नरेन्द्र मोदीको दोस्रो कार्यकाल सकिदैछ । हामीले सोचेका पनि थिएनौं कि नरेन्द्र मोदीले नेपालको जिवन्त लोकतान्त्रिक जीवनलाई यसरी निसास्सिने गरेर घाँटी निमोठ्छन् भन्ने ? हिन्दुराष्ट्रलाई धर्मनिरपेक्षता बनाइदा पनि सहन्छन् भन्ने ? भारतलाई त उसको स्वार्थ प्यारो रहेछ, हिन्दुराष्ट्र, राजतन्त्रसँग कुनै सरोकार नै रहेनछ ।
बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मोदीले चीनमा पुगेर नेपालको लिपुलेकबाट व्यापार गर्ने सन्धि गरे, जर्मन र अमेरिका पुगेर बुद्ध भारतका हुन् भनिदिए । लुम्बिनी पारी नक्कली लुम्बिनी बनाएर आधुनिक एयरपोर्ट निर्माण गरेर सञ्चालनसमेत गरिसके । तर नेपालको लुम्बिनीमा बनेको अन्तर्राष्ट्रिय विमानस्थलमा आउने विदेशी जहाजलाई अनुमतिसमेत दिन मानेनन् ।
मोदी सरकारले नेपालको ७७ स्थानमा हजारौं हेक्टर सीमा मिचेका छन् । लिपुलेक, लिम्पियाधुरा, कालापानी भारतको नक्सामा हालेर हजम गरिदिए । यतिले नपुगेर मोदी सरकारले महाकालीको धार नेपालतिर फर्काएर नेपाललाई डुबानमा पार्ने र भारतीय क्षेत्रलाई सुरक्षित राख्ने निर्माण गराइरहेका छन् । नेपाल मानौं भारतको प्रान्त होजस्तो, नेपालका बारेमा भारतको मोदी सरकारले अन्तर्राष्ट्रिय नीति, नियम, मर्यादासमेत उल्लंघन गरिरहेका छन् ।
नेपालका होनहार पार्टी, नेता, नयाँ चुनिएका युवासमेत भारतको ज्यादतिबारे बोल्दैनन् । आफ्नो देशका बारेमा बोल्दा भारतले भारतबिरोधी ट्याक लगाइदिन्छ भनेर पनि जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवीहरू बोल्दैनन् । नेपाल सहिरहेको छ र सहन्छ भनेर भारतले ज्यादतिको मात्र बढाउँदै लगेको छ ।
भारतको दुव्र्यवहार हरेक दिन देखिरहेका छौं । सीमामा नेपाल र नेपालीको बलात्कार गर्न भारत हौसिएको छ । नेपालमा चुनाव भयो, भारतले भित्रभित्रै चलखेल ग¥यो । सरकार बनाउने बेला भयो, भारत आफ्नो पकड बलियो बनाउने षडयन्त्र गरिरहेकै छ । हुन त पश्चिमा, युरोपियन, उत्तर पनि नेपाली राजनीतिभित्र पसिरहेकै छ । तर परम्परागत आफ्नो लगाम कस्न भारत दृढ संकल्पित भएकैले भारत कम्मर कसेर लागिपरेको देखिन्छ ।
हरेक प्रकारका हस्तक्षेप हामीले सुन्यौं, भोग्यौं र चुपचाप हेरिह्यौं । हामी विभाजित भएकाले हाम्रो प्रतिवादको स्वर आवश्यकताजति बाक्लो हुनसकेन । किनकि भारतप्रति हाम्रो विश्वास पहरोझैं अडिग छ । भारतले नाकावन्दी गरे पनि, नगरे पनि भारत ‘एसेन्सियल इभिल’का रूपमा नेपालमा गढेको छ । जतिसुकै खराव भए पनि छिमेकी फेर्न सकिन्न । अन्याय भयो, अन्याय नगर त भन्न सकिन्थ्यो । भारत भनेपछि गरूढको छायाँ परेको सर्पजस्तो लाट्टिन्छ नेपाली राजनीति, प्रशासन । नरेन्द्र मोदीको दुई कार्यकालमा भारत प्रशासन स्वार्थका लागि, नेपालमाथि हस्तक्षेप गर्न जतिसुकै तल्लो तहमा उत्रेर हर्कत गर्न सक्नेरहेछन् । मोदीको राजनेताको उचाई यसरी अमानवीयतामा पनि झर्न सक्नेरहेछ । यही सब देखेर, हाहाकार सहेर नेपाली जनताले मोदीको पुतला जलाए, मोदी मूर्दावाद भनेका हुन् । नेतास्तरमा, सरकार र भारतको चरित्र बुझेका बुझकट्टडहरूले सम्बन्धमा सुमधुरता ल्याउने कुनै प्रयत्न नै गरेनन् । नेपालमा व्यक्तिस्वार्थका सामु राष्ट्रिय स्वार्थ कमजोर बन्दै गएको छ । यो विदेशपरस्त मानसिकता नेपाली अस्तित्वमाथिको खतरा हो ।
हाम्रो दक्षिणी छिमकी मुखले ऋषिमनको पवित्रता देखाउँछ र व्यवहारले असुरपन । उत्तरी छिमेकी नेपालको सार्वभौमिकताको कदर गर्छु भन्छ, साहस बढाउने सहयोग गर्दैन, पश्चिमा र युरोपियनहरू विश्वशक्ति बन्न र नेपाललाई इसाईकरण गर्न लागिपरेका छन् । यस्ता छिमेकी मित्रहरू डरलाग्दा हुन्छन्, बढी सतर्क हुनुपर्छ । यतिखेर नेपाल त्यही असुरपनको विषादी लागेर दीर्घरोग लागेको बिरामीजसरी छटपटिइरहेको छ । नेतृत्व निकास निकाल्न सक्षम छैन ।
जब छिमेकी फेर्न सकिन्न, अस्तित्व संकटमा छ भने बीचबचाउ गर्ने सक्षम टेक्टिसले विश्वासमा लिन सक्नुपर्छ, आफू बाँच्ने र आफ्नो पहिचान बचाउने यत्न गर्नुपर्छ । मल्लयुद्ध हाम्रो क्षमतामा छैन । इतिहास हेरौं, असुरचरित्रसँग असुर बनेर नेपालीले कहिल्यै बहादुरी देखाएनन् । युद्ध हारे, बहादुरी छाडेनन् । बहादुरीका साथ आफ्नो स्वतन्त्रतालाई वर्तमान कालखण्डसम्म अक्षुण्ण राखेका छन् । वर्तमान पुस्ताले भावीपुस्तालाई दिने उपहार पनि सिङ्गो र स्वतन्त्र नेपाल नै हो । नेपाली नेतृत्ववर्गले पहिलोपल्ट दह्रो खुट्टा टेक्नसक्नुपर्छ । भारत वा चीनसँगको समदूरीको सम्बन्ध बतासिनु हुन्न । नेपाल बफर स्टेट हो, बफर स्टेटकै रूपमा आफूलाई सगरमाथाजस्तै उभ्याइरहनुपर्छ । लाइट अफ एसियाकै रूपमा खडा राख्नुपर्छ । जडी उपाय अवलम्बन गरेर समस्याको जरो उखेल्ने र सबैसँग सम्बन्धलाई सामान्यीकरण गराउने सामुहिक यत्न थालिहाल्नुपर्छ ।
नरेन्द्र मोदी पटक पटक नेपाल आए, हरेक पटक जयजयकार बोकेर गए । ती मोदीले नेपालको जय कहिले गरेनन् । त्यसै नेपालको संसदमा २०७७ जेठ ६ गते भारतका प्रति प्रश्न उठेको होइन– सत्यमेव जयते कि सिंहमय जयते ? मोदीले ऋषिमनले संविधान बनोस् भनेर शुभकामना दिएका थिए, २०७२ असोज ३ गते संविधान जारी गर्दा भारतको बिरोध भयो, आजसम्म संविधानलाई मान्यता नदिएर असुरपन देखाइरहेको छ । नेपालको कूटनीति, राजनीति, आर्थिक, सामाजिक लगायतका हरेक क्षेत्रमा भारतको असुरपन छचल्किएर नेपाललाई प्रदूषित पारिरहेकै छ ।
जनयुद्धको १० वर्षमा १७ हजार मारिए, जो बाँचे बाँच्नेहरू पीडकको त्रासदीमा पीडित भएर बाँचिरहेका छन् । माओवादी जनयुद्ध भारतको सिर्जना रहेछ भन्ने खुलस्त भइसक्यो । नेपालको निरंकूशता मास्ने नाममा नयाँ नयाँ निरंकूशता लादियो । लोकतन्त्रको आवरणमा जे चलिरहेको छ, त्यो पद्धति भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बेचेभन्दा भिन्न छैन । कहिल्यै पराधीन नभएको स्वतन्त्र नेपाल पराधीनताको पराकाष्ठा बेहोरिरहेको छ । यो सबै नेतृत्वको असक्षमता र अकर्मण्यताका कारणले हो ।
जनयुद्धलाई चर्काउन र नेपाललाई नरसंहारपर्व बनाउनमा भारतको प्रत्यक्ष र परोक्ष हात थियो । जनआन्दोलनमा पनि भारतको समर्थन रह्यो र संसदको पुनस्र्थापना र त्यसपछि पनि भारतको भूमिका निरन्तर जारी रहेको हो । नेपालको राजनीतिको परमप्रभू विदेशी नै हुन् । अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारतको नानीदेखिको बानी हो । यसकारण भारतका कुनै छिमेकी भारतसँग खुशी छैनन्, आश्वस्त छैनन् । बृटिशले ‘बिभाजन गर र हत्याउ’ भनेर सिकाएर गएको छ, भारतले त्यसलाई दीव्यज्ञान मानिरहेको छ । यही कारण भारतले कुनै छिमेकीसँग विश्वासयोग्य सम्मान आर्जन गर्न सकेन । जसले छिमेकीलाई दुःख दिइरहेको छ, यस्तो भारत विश्वशक्ति बन्छु भनेर अग्रसर भएको छ । कसरी सम्भव छ र ?
नेपाली राजनीति र नागरिक समाजलाई बिभाजन र बिखण्डनको जमात तैयार गरेर भारतलाई हुने लाभ भनेको सिक्किमजसरी खान पाइन्छ भन्ने होला । नेपाललाई राजनीतिक अराजकताको भूमरीमा हालिदिएर भारतलाई नेपालको प्राकृतिक सम्पदा लुट्न सहज हुन्छ भन्ने लागेको होला । नेपालमा नीति, नैतिकहीन हाहाकारको स्थिति सिर्जना गरिदिएर लेण्डलक नेपाललाई इण्डियालक मात्र होइन, नेपालमा जे पनि भारतीय आदेशमा गराउन सकिन्छ भन्ने विश्वास होला । भारत महाराज किन बिर्सेको– यो समय १९५० को समय होइन । वर्तमान पुस्ताका युवाहरू शिक्षित र जागृत समुदाय हो । उनीहरूले बुझेका छन्– स्वाधीनता भनेको के हो ? बिस्तारै नयाँपुस्ता जागृत हुन थालेका छन् । स्मरणरहोस्, नेपालको वर्तमान पुस्ता लखनौंको भुलभुलैयामा हराउन सक्दैनन् ।
खोटरहित नौवटी कन्याको नवयोनी पूजा गर्ने, तिनलाई नौ भैरवीको रूपमा उन्मत्त भैरव मैथुन गर्ने राजाले पनि नेपाल चलाएकै थिए । डेढवर्षका राजा गिर्वाणलाई सिंहासनमा राखेर स्वामी महाराज बनेका रणबहादुर शाहले नायवी बनेर सिक्किमदेखि गढवालसम्मको राज्य धानेकै थिए । १८१६ मा रसदपानी छेकेर युद्ध हारे पनि राणाहरूले पूर्वी नेपाल र नयाू मुलुक फिर्ता ल्याए, सीमामा जंगे पिलर गाडेर देशको रक्षा गरेकै हुन् । २०६३ साल वैशाख ११ को परिवर्तन, २०६५ साल जेठ १५ को गणतन्त्र कार्यान्वयन र २०७२ साल असोज ३ गतेको संविधान आधुनिक फ्रान्सको राज्यक्रान्तिजस्तै थियो, त्यो क्रान्ति २०७९ मंसिर ४ को दोस्रो आवधिक निर्वाचन परिणामबाट परास्त भएको छ । जनतामा अब नयाँ सोच, परिवर्तनको विद्रोह देखिएको छ । यो विद्रोह भनेको आउने दिनमा असमानता, हस्तक्षेप, भ्रष्टाचार, लम्पसारवाद विरूद्धको बिद्रोह हो भन्ने बुझ्न जरूरी छ । नेताहरूको सुकुलगुण्डे राजनीतिको अब म्याद नाघ्यो । कामना गरौं– हाम्रा नेतृत्वपंक्तिमा चरित्रको सुधार होस्, देशभक्ति जागोस्, जनताप्रतिको जिम्मेवारीवोध होस् । श्रीलंका र अफगानिस्तानका नेताहरूले झैं खती व्यहोर्नु नपरोस् । मुलुकका लागि स्वार्थ त्याग्न सकुन्, देशका लागि केही गर्नुपर्छ भन्ने उदाहरण बनुन् ।