शाश्वत शर्मा - -
निर्वाचन सम्पन्न भयो । अब दलहरूले संसदीय दलको नेता छान्ने, ज्येष्ठ सांसदबाट शपथ खाने, राष्ट्रपतिबाट सरकारनिर्माणका लागि आह्वान गर्ने कामहरू सम्पन्न हुनेछन् । बहुमत जनादेश कुनै पनि दललाई प्राप्त नभएकाले तालमेल, गठबन्धन, मिलिजुली यस्तै खेल सुरू भइसकेका छन् । यसैबीच प्रधानमन्त्री को बन्ने भन्ने विषयमा देउवा, प्रचण्ड, रामचन्द्र पौडेलदेखि शेखर कोइरालासम्म भित्रभित्रै मच्चिरहेका छन् । सत्ताका लागि गठबन्धन तोडिने, मनमुटाव बढ्ने, नयाँ समीकरण बन्नसक्ने अनेक परिदृश्य देखिदैछन् । एमाले र केपी ओलीलाई पाखा लगाउन कस्सिएका गठबन्धनभित्रै अनेक संशय र तानातानको प्रवृत्ति देखिएको छ । ओलीलाई सत्ताबाहिर राख्ने प्रपञ्च रचिएको छ । यता एमालेले बाहिरबाटै समर्थन गर्ने, कांग्रेसलाई एकलौटी सरकारको प्रस्ताव गइसकेको छ भने प्रधानमन्त्री हुनका लागि प्रचण्डले एमालेसँग वार्ता अघि बढाएको छ । तर ठूलो दलको हैसियतले कांग्रेसले पहिलो मौका पाउनेछ, प्रश्न यत्ति छ कि कांग्रेसलाई माओवादीलगायतका अन्य दलले सहयोग गर्लान् वा नगर्लान् ? यिनीहरूबीच राष्ट्रपति, सभामुखमा लेनदेन मिल्ला कि नमिल्ला ? कांग्रेसीभित्र प्रधानमन्त्री र राष्ट्रपति कुनै हालतमा नछाड्ने मतो विकसित भएर गएको देखिदैछ ।
उता नेकपा सका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस, माओवादीले दुई दुई वर्ष र अन्तिम एकवर्ष आफूले प्रधानमन्त्री हुन पाउनुपर्ने प्रस्ताव गठबन्धनको बैठकमै राख्न भ्याइसकेका छन् । प्रचण्डले भने पहिले आफै प्रधानमन्त्री बन्ने घोषणा जिल्लादेखि राजधानीसम्म भन्न भ्याइसकेका छन् । कांग्रेसका नुवाकोटे सांसद अर्जुन नर्सिङ केसीले ओलीसमेत गुहारेर सभामुख ताकेका छन् ।
राष्ट्रपति स्वतन्त्र व्यक्ति बनाउने भनेर माओवादीले तुरूप फालेको छ । खिलराज रेग्मी, कल्याण श्रेष्ठ, अनुराधा कोइरालाहरूको नाम उछालेर माओवादीले राष्ट्रपति, सभामुख कांग्रेसलाई दिएर प्रधानमन्त्री पड्काउने दाउ रचेको हुनसक्छ । उता माओवादीभित्र अग्नि सापकोटादेखि उपराष्ट्रपति नन्दकिशोर पुनसम्म राष्ट्रपतिका दावेदार बनेका छन् । झलनाथ खनालले पनि ¥याल काढेका छन् । दलितमात्र के कम, दलितकोटाबाट मानबहादुर विश्वकर्माले कांग्रेससँग राष्ट्रपति बन्न पाउनुपर्ने प्रस्ताव गरिसकेका छन् ।
अर्थात् चुनावका बेलामा जे जति सपना बाँडे पनि चुनाव सकिनासाथ नेताहरू सत्ता, शक्तिका लागि लुँछाचुँडी गर्न थालिसकेका छन् । अझ रामचन्द्र पौडेलले प्रधानमन्त्री बनेर मर्ने इच्छा भएको संवेदनशील भावना प्रसार गरिरहेका छन् । विपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्न र विकासका लागि महत्वपूर्ण योगदान दिनुपर्छ भन्ने भावना एकजनामा पनि छैन, सबैलाई पद चाहिएको छ । सबैलाई पद, प्रतिष्ठा, शक्तिमा जान र पैसा कमाउने लालसा बढी छ । यही हो लोकतन्त्रको असली अनुहार । हुँदा हुँदा तेस्रो पार्टीलाई प्रधानमन्त्री, राष्ट्रिय पार्टी हुन नसकेकालाई पनि प्रधानमन्त्री नै चाहिएको छ । उता कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादेर देउवाको बिलौना आफ्नै छ । आफ्नो नेतृत्वको गठबन्धनले बढी सिट जितेकाले सरकारको नेतृत्व आफैले गर्न पाउनुपर्छ भन्ने उनको दावी छ । बिजयी सांसदहरूलाई शुभकामना दिन बोलाएर देउवाले यस्तै इच्छा व्यक्त गरेका सुनिए । नेपाली सत्ता राजनीतिमा सबैले आआफ्ना डम्फु बजाइरहेका छन् ।
परिदृश्य रोचक छ । गठबन्धनका देउवा र प्रचण्ड, एमालेका केपी ओलीलाई हाउगुजी देखाएर आआफ्ना रोटी सेक्न प्रयासरत छन् ।
रह्यो नेपाल र नेपाली जनताको कुरा । यस्ता नेता जिताउने यिनै जनता हुन् । अब रमिता हेरेर दैनिकी कटाउन बाध्य छन् । केही घुट्को रक्सी, मासुभात, पैसा र आश्वासनमा बिकेपछि जनताले हेर्ने तमासा नै हो, मूल्य देशले चुकाउने छ । बल्लतल्ल प्रधानमन्त्री बन्लान्, मन्त्रीका लागि भागबण्डा अर्को समस्या छ । यस्ताले गर्ने भ्रष्टाचार र दुराचार नै हो । राष्ट्रघात गरेर पनि पैसा कमाउने नै हो । विकास हुन्छ भनेर सोच्नु गलत हुनेछ । विकास यिनको, यिनका आउरेबाउरे, यिनका परिवार र नातापाताको हुनेछ । टिकट किन्दादेखि चुनावमा बिजयी हुन्जेल जे जति खर्च गरेका छन् र आगामी चुनावका लागि समेत यिनले कमाउने छन् । जनताको काम नेताहरूले खाए खाए भनेर कोलाहल गरेर बस्नेमात्र हो ।
जो देशका लागि लडिरहेका छन्, जो केही गर्छु भनेर चुनावमा होमिएका थिए, तिनका जमानतसमेत जफत भए । एकाध युवा जो भिजन भएका जितेका छन्, तिनलाई यी भ्रष्ट राजनीतिज्ञ र कर्मचारीतन्त्रले कामै गर्न दिनेछैनन् । तिनको उपस्थिति मात्र कराउने, चिच्याउनेमात्र हो । यिनको भूमिकाले देश र जनताको हालत रसातल पुग्नेछ । ०६३ सालदेखि ०७९ साल आइपुग्दा पनि चेत खुलेन ।
जुन नेतृत्व छ, यिनीहरू देश र जनतालाई धोत्रो पारेर भकारी भर्छन् र देश छाडेर कुलेलम ठोक्छन् । अबुझ जनता, दलाल नेता, क्या मिलेको छ जोडी ।