शाश्वत शर्मा - -
सत्ताको दौडधूप तीब्र बनेको छ । ठूलादलको चाख देश र जनताको समस्या निराकरणभन्दा पनि पद हत्याउने चटारो देखिन्छ । कांग्रेसलाई प्रधानमन्त्री, माओवादीलाई राष्ट्रपति, राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा सलाई सभामुख, कसैलाई उपराष्ट्रपति, मन्त्री, प्रदेश सरकारप्रमुख, संवैधानिक पदहरूको अहिले नै भागबण्डाको रूपरेखा सार्वजनिक हुनथालिसकेको छ । मलाई प्रधानमन्त्री बन्न देउ भनेर कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, युवा गगन थापा लागिरहेकै छन् तर कांग्रेस सभापतिको बहुमतका सामु कसैको दाल गल्ला जस्तै छैन ।
जनताले युवा नेतृत्व चाहिन्छ, युवाले सरकार चलाउनुपर्छ भने पनि केही चुनाव जितेका युवाहरू ठूला पार्टीको पछि लाग्ने कि प्रतिपक्षीमा बसेर राष्ट्रिय मुद्दाहरू उठाउने भन्ने बिलखबन्दमा परेका छन् । ठूला दल युवा देखि जेलमा परेका नेतृत्वसम्मलाई प्रभावमा लिन दौडधूप गरिरहेका छन् । अब त्रिशंकु सरकार बन्ने र उही पुराना भ्रष्ट नेताले सत्ता चलाउने भएपछि अस्थिरता, अराजकता र अन्यौल बढ्ने निश्चित छ । मुलुकमा स्थिर राजनीति नहुने, आलोपालो सरकार चलाउने र भागबण्डा नमिलेको खण्डमा मध्यावधिमा समेत मुलुक जानसक्ने आँकलन हुनथालेको छ । यो चुनावको र बन्ने सरकारको लगाम कसको हातमा छ, रहस्यमय देखिन्छ । हाम्रा नेताहरू कठपुतलीजस्ता लाग्न थालेका छन् । मुलुकमा लादिएको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताले मुलुकलाई कमजोर बनाएकोमा कसैलाई चिन्ता छैन । आगामी दिनहरू झन झन भयावह बन्नेवाला छ । चुनाव अघि र चुनावपछि सरकार बनाउने बेलामा खासगरी भारतीय दूतहरूको अस्वभाविक दौडधूप हेर्न लायक छ । अबको सरकारको बागडोर सिंहदरवार होइन, लैनचौर जाने अवस्था देखिन्छ । अन्य विश्वशक्ति पनि सुतेका छैनन् । नेपाल भूराजनीतिको गोलचक्करमा फस्दै गएको छ । जुन नेपालको अस्तित्व र विदेशनीतिका लागि दुर्भाग्य हो ।
चुनावी परिणाम र बन्ने सरकारको रूपरेखाको जुन आँकलन भइरहेको छ, यसबाट नेपालको अवस्था चिन्ताजनक हुने निश्चित छ । त्यसै पनि अर्थतन्त्र खस्कदैछ, विदेशी ऋण र व्यापारघाटा बढेको छ । आत्मनिर्भरता घटेकाले नेपालको आर्थिक मेरूदण्ड भाँच्ने काम अराजक राजनीतिले पूरा गर्ने लक्ष्यण देखिदैछ । यही चुनावबाट देखियो कि जो देशभक्त छन्, तिनले चुनाव जित्दैनन्, तिनको जमानत जफत हुन्छ । जनताले पनि उही बुढापुराना र अराजकलाई मत दिन्छन् । जनताले मत दिने भनेको अनेक कारणहरू छन्, लोभमात्र होइन । इसाई संगठनको निर्देशन र विदेशी चासोको पासाले समेत मतदानमा ठूलै प्रभाव पारेको छ । यसबाहेक मसल र मनी तथा अपराधिक मानसिकता पनि यो निर्वाचनको निर्णायक बनेको छ । भोग्दाभोग्दै, जान्दाजान्दै तिनै कुतत्वलाई जनताले मत दिन्छन् भने यसमा दोष भ्रष्ट र अराष्ट्रिय तत्वको मात्र छैन, जनताको पनि छ, अब जनताले परिणाम भोग्छन् ।
जो देश टुक्य्राउँछु भन्थ्यो, सीके राउतजस्ता तत्व तिनीहरू पनि सत्तामा जाने । जनवादी र कांग्रेसजस्ता गठबन्धनकारी पनि सत्ताकै भागबण्डा लगाउने । रेशम चोधरीको मुद्दा फिर्ता लिने विषयमा पनि कुरा भइरहेको छ । के हुनलाग्यो यो देशमा ? जे जे नहुनुपर्ने हो, यो निर्वाचन परिणामले पूरा गरिदिने भयो । जनताका सामु तैयार गरिएको चक्रव्यूहमा जनता फसेपछि कसैको केही लाग्दैन । जनताले मत दिएका हुन्, मत पाएकाहरूले न्यायपूर्ण होइन गुण्डाराज चलाउने भए । चुनाव सकियो, अब जनताले कराएर, चिच्याएरकेही हुनेवाला छैन । यिनले आगामी ५ वर्षमा देशलाई श्रीलंकाको मोडलको खाल्डोमा लगेर जाक्ने भए । जनताको काम हतारमा मतदान गरेर अब फुर्सदमा पछुताउनुको बिकल्प देखिदैन ।
आफ्नो खुट्टामा आफैmले बन्चरो हान्ने जनता भ्रष्ट र दलाल नेता अनि स्वार्थी छिमेकी भएपुग्छ देशलाई भड्खालोका हाल्न । चुनाव जितेकाहरू छाडा साँढे हुनेछन्, यिनलाई तह लगाउन एउटा नेतृत्व त चाहिन्छ । त्यो नेतृत्व कसले गर्ने ? सरसर्ती हेर्दा एकजना राष्ट्रभक्त तानाशाहको आवश्यकता छ । त्यो तानाशाह बन्ने को ? जो छन्, सबै भ्रष्ट छन्, केही युवा आएका छन्, तिनले नेतृत्व गर्न सक्नेछैनन् । नेपालको अस्तित्व र गौरवलाई फेरि पनि धुलिसात बनाउनेहरू नै सत्तामा जानेछन् । नेपाल र नेपालीले रगतको आँसु रूने दिन अझै सकिएको रहेनछ ।
०४६ सालमा जनताको मनस्थिति बिगारियो, देश बिग्य्रो । ०६३ को जनआन्दोलनमा फेरि जनताको चेतनामाथि खेलबाड गरियो, देश बिग्य्रो । ०७९ को निर्वाचनमा फेरि पनि जनताको मतमाथि खेलबाड गरियो । देश बिगार्ने धरातल तैयार पारियो । झट्ट हेर्दा दोषी जनता हुन् । जनताले नेतृत्व करेक्शन गर्न सकेका भए केही आशा पलाउने थियो । त्यो अवसर मंसिर ४ गते जनताले फेरि गुमाएका छन् । आधाआधा युवा र राम्रा उमेदवारलाई जिताउन सकेको भए यो निराशता लेख्नुपर्ने थिएन । देशैभरि हौसला देखिने थियो । चुनावमा हौसला भए, चुनावपछि पनि जनतामा हौसला देखिन्न । यस्तो निराश राजनीति कहिलेसम्म ? तिनै भ्रष्ट, तिनैलाई नेतृत्वको साँचो सुम्पने जनता । जनताले दुःख नपाए कसले पाउने ? देश अधकोगतितिरै लाग्ने भयो । भ्रष्ट, अराष्ट्रिय तत्वहरूको नामोनिसान मेटाउन पनि एउटा बेनिभोलेण्ट नेतृत्व त चाहियो चाहियो, जहाँबाट निस्के पनि हुन्छ ।