राजन कार्की - -
रागिनी उपाध्यायको अमूर्त चित्रजस्तो अथवा अन्धाले हात्ती छामेजस्तो भयो लोकतन्त्र । जसले जसरी पढे पनि हुने, हेरे पनि हुने तर बुझ्नै नसकिने । राजनीतिक दलहरू लोकतन्त्र र लोकतान्त्रिक संविधानमा फूलैफूल देख्छन्, लोकलाई भने काँडालेमात्रै कोरेको छ, घोचेको छ । पार्टीलाई फाप, लोकलाई अफाप । लोकतन्त्रको उल्टो गंगा बगिरहेको छ । नेताहरूलाई रोचक, जनतालाई घोचक बन्यो लोकतन्त्र ।
भीमनिधि तिवारीले उहिल्यै सिंहदरवार कवितामा लेखेका थिए–
राजनीति चंगा हो, झट्ट अकासिन्छ
एक कौंठी हानिदिंदा भुइँमा पछारिन्छ ।
०६३ सालको सगर छुने ऐतिहासिक आन्दोलन १५ वर्षकै अवधिमा पाताल भासियो । हातको शोभायमान औंठी लोकतन्त्र, चंगाको कौंठी हुनपुग्यो, रूखतिर अड्कियो, भुइँमा पछारियो ।
उर्लेको खहरे कति रहन्छ र ? त्यही कविता र यही लोकोक्तिजस्तै भयो लोकतन्त्र । सामाजिक क्षेत्रमा समान व्यवहार र अवसर नदिने र लोकमाथि नैतिकहीन नियतका साथ लोकतान्त्रिक डम्फुमात्र बजाउने गर्नाले यिनको चटके सीपदेखि जनताहरू वाक्क भइसकेका छन् । जनताको भोको पेट, अन्यायमा परेको मानसिकता लिएर यी राजनीतिक चटक देखाउन सिपालुहरूको बेतालको डम्फुमा कतिञ्जेल नाचिरहने ? लोकतान्त्रिक नेताहरूको जे जति क्रियाकलापहरू देखिन्छ, ती सबै पाखण्डभन्दा पर केही पनि होइनन् । इमानदारिताबिनाको भाषण पाखण्ड हो ? जनयुद्ध र जनआन्दोलनलाई पाखण्ड साबित गर्ने सामल आफैले जोहो गरे नेताहरूले । पाखण्ड हिजो थियो, आज छ र निरन्तर जारी रहने वातावरण विकसित हुँदै गएको छ ।
कस्तुरी भनेपछि सुँघिरहनु पर्दैन । किनभने कस्तुरीको बास्नाले वातावरण नै सुगन्धमय बनाइदिन्छ । लोकतन्त्र कस्तुरीजस्तै बास्नादार हुनुपथ्र्यो, लोकतन्त्रको सुवासले सारा देश सुगन्धित भइसक्नुपथ्र्यो । परिवर्तनको १५ वर्ष र संविधान जारी भएको ७ वर्षमा पनि हुँडलो मच्चिरहेकै छ । शान्ति कता हो, समृद्धि कता हो, पीडितले पाउनै पर्ने न्यायव्यवस्था झन कता हो कता ? लोकतान्त्रिक पद्धति अपनाउने निर्णय त गरियो, नैतिक आचरण हरायो । पुरानो छानो फालेपछि नयाँ छानो हाल्न नसक्नु ठूलो कमजोरी हो, यही कमजोरीका कारण वर्षाको झरीले भिजियो, हिउँदको घामले पोल्यो । न रोजगारी पाइयो, न चौतर्फी अन्यायबाट छुटकारा । बाँच्नेका लागि गाँस र बास चाहिन्छ, मर्ने त मरे, बाँच्ने पनि अन्याय झेलिरहेछन् । बचाउने लोककल्याणकारी पद्धतिले हो, पद्धतिचलाउने नै पागल चरित्रको भएपछि लोकतन्त्र कसरी जनजीवन बन्थ्यो र ?
लोकका ओठका कलेटी र नेताका चमकदार अनुहार लोकतन्त्रको ऐना हो । भाषणलेमात्र लोकतन्त्र चहकिलो देखिन्न ।
हलेदो भनेपछि कोट्याइरहनु पर्दैन । लोकतन्त्र त्यस्तै सावित भइसकेको छ । अब्राहम लिंकनले प्रजातन्त्र भनेको बाई दी पिपुल, टु दी पिपुल, फर दी पिपुल भनेका थिए, नेपालको प्रजातन्त्र बाई दी पार्टी, टु दी पार्टी, फर दी पार्टी पो भयो । पार्टी, पार्टीका नेता र पहुँचवालाहरूलाई लोकतन्त्र बम्पर उपहार बनेको छ । राज्यको उपस्थिति, राज्यले गर्नैपर्ने जिम्मेवारी पूरा नगरेका कारणले शासितहरू सास्तीमा छन्, जोखिममा छन्, शोषणमा परेका छन् । कांग्रेसले ०४६ सालमै नेपाललाई सिंगापुर बनाउने भनेको थियो, माओवादीले स्वीट्जरलेण्ड बनाउँछौं भनेको पनि दशक भइसक्यो, एमाले त सपना बेच्ने फौबञ्जार नै भइहाल्यो । पश्चिमबाट सूर्य उदाउँछ भन्नेहरू सबै असफल भए, देश असफल भयो । नियममा नबस्नेले प्रकृतिको नियम तोड्छु भन्ने कुरा हुटिट्याउँको गफ थियो, गफैमा सिमित रह्यो । माक्र्सवाद, लेनिनवाद, माओवादले सर्वहाराको क्रान्ति सफल पार्ने सपना देखेर जनयुद्धमा होमिएका र बन्दुकको नालबाट शक्ति निस्कन्छ भन्ने भ्रम त्यागेर सत्ता हाँक्ने सबै असफल भए । न्यायवाद, समृद्धवाद र सत्यबाद बाहेकका अन्य वादले विकास गर्न सम्भव छैन । यी वाद कुनै नेताको चरित्रमा देखिन्न ।
इमान प्रमुख हो भने १७ हजार जनतालाई किन मारियो ? देशका पूर्वाधारदेखि संस्कृति, इतिहास, सम्पदा नष्ट किन गरियो ? त्यसको जिम्मेवारी लिनुपथ्र्यो । प्रजातन्त्र भन्ने र समृद्धि देखाउनेहरू किन भ्रष्टाचारमा मुछिए, तिनले खरीमा घोटिनुपथ्र्यो । गैह्रजिम्मेवार हुने छुट राष्ट्रिय स्तरका नेता वा प्रशासकहरूलाई हुन्छ र ? कि लोकतन्त्रमा नेतालाई पञ्चखत माफी हुने निमुखाहरूका लागि ऐन हुने हो ?
विद्वानहरू भन्छन्– किताव (ज्ञान) नष्ट गर्नेलाई बिब्लियोक्लेस्ट भनिन्छ, यी लोकतन्त्र नष्ट गर्नेलाई डेमोक्र्याब्लियोक्लेस्ट किन नभन्ने ? साँच्चै नेपालमा लोकतन्त्र छैन । संसद, सरकार, राज्य सञ्जाल, जता हेरे पनि सेटिङ र सिण्डिकेट देखिन्छ । पहिले पहिले सार्वजनिक सवारी चलाउनेहरूले ज्यादा मुनाफा कमाउने उद्देश्यले सिण्डिकेट चलाउने गर्थे, राजनीतिक बर्गले त्यही सिको गरे, राजनीतिलाई व्यवसाय बनाए र स्वार्थशिद्ध गरिरहेका छन् । राजनीति गर्ने र चेलीबेटी बेच्ने, न्याय र कानुनसँग माफिया बर्गको सेटिङमा भिन्नता देखिन छाड्यो ।
क्या गजब दृश्य, सांसद नै मानव बेचबिखनमा संलग्न भएछन् । बिधि निर्माता नै रातो पासपोर्ट बेच्ने, मानव तस्करी गर्ने, चेलीबेटी बेच्ने र भ्रष्टाचारको फाइल बन्द गरेर भ्रष्टाचारमा रमाउने धन्दामा लागेपछि लोकतन्त्र अमूर्त चित्र बनेन त ? तीतो यथार्थ ट्वाक्कै भन्ने हो भने लोकतन्त्र पाखण्ड बनिसक्यो । मानवाधिकार जगाएर ज्योति बन्नुपर्ने लोकतन्त्र बत्ती निभेको दियोजस्तो बनेको छ । खोजेको उज्यालो, पाइयो अँध्यारो । यसको मूलकारक नेतातन्त्र चलाउने नै हुन् ।
लोकतान्त्रिक शासनको कला हो चेक एण्ड व्यालेन्स । दलहरूले आ–आफ्ना स्वार्थहरू भागबण्डा मिलाएर व्यालेन्समा चलिरहेका छन् । मंसिर ४ को निर्वाचनले फेरि भागबण्डे ५ वर्षे शासन रोज्ने पक्का छ । संवैधानिक निकायमा राजनीतिकरण गरेपछि चेक गर्ने कसले ? चेक गर्ने जनताले हो, जनतालाई भुलभुलैयामा पारेजसरी भ्रममा पारिएको छ । पाखण्डीहरूको जनतालाई शिखण्डी बनाउने निरन्तरता जारी छ ।
कुनै दलका कुनै नेताप्रति जनता मोहित छैनन् । यसले त केही गर्ला भनेर विश्वास गर्न सकिरहेका छैनन् । लोकमत पाएका नेता र लोकमत दिने लोकवीच अविश्वासको यति ठूलो खाडल परिसकेको छ कि त्यसलाई पुर्नुपर्छ भन्ने विवेक नेताहरूमा देखिदैन । हामीले जे गरे पनि हुन्छ भन्ने रोगी मानसिकताले लोकतन्त्रलाई ग्रस्त पार्दै लगेको छ । कतै यो रोग क्रोनिक नबनोस्, उपचारै हुन नसक्ने अन्तिम अवस्थामा नपुगोस्, ।
लोकतन्त्रमा बुद्धिजीवीहरू यसरी पार्टी पार्टीमा विभक्त हुँदैनन् । यहाँसम्म कि अधिकारकर्मीसमेत पार्टीकरण भएका छन् । राष्ट्रवाद समेत पार्टी पार्टीमा बिभाजित देखिन्छ । आन्तरिक र परराष्ट्रनीतिमा समेत भिन्नता छ । नेपाल निर्माताले नै दुई ढुंगावीचको तरूल रहेछ नेपाल भनिसकेपछि असंलग्नता, पञ्चशील, समदूरीको नीतिको जन्म भएको हो र त्यही नै नेपालको सर्वमान्य विदेशनीति हुनुपथ्र्यो । नीति प्रधान र व्यक्ति गौण हुनुपथ्र्यो, स्वदेशको रक्षार्थ नीति उठ्नुपथ्र्यो, सर्वमान्य नीतिको लक्ष्मण रेखाले सबैलाई बाूध्नुपथ्र्यो । भएन, विवाद बढ्दै गएको छ । धोत्रो पस्नु र यो वाहियात विवाद बढ्नु उस्तै हो ।
अनेक दृश्य अदृश्य घटनाहरू घटिरहेका छन्, जसले लोकतन्त्रलाई पाखण्ड सावित गरिरहेको छ । लोकतन्त्रले लोकको कदर, लोकको हित र लोकआवाजको सुनवाई गर्नैपथ्र्यो । लोक अनुकूलता हेरेर उचाल्ने पछार्ने खेलौना बनाइए । लोक मरिरहने र नेता हाँसिरहने, यस्तो पनि लोकतन्त्र हुन्छ र ? मंसिर ४ को निर्वाचनले पनि त्यही परिदृश्यमा नेपाललाई पु¥याएको छ ।
वीपीले नेपालाई राजनीतिक इकाई भनेका थिए, मानवशास्त्री रिचार्ड बर्घाटले नेपाल आफैमा निर्माणाधीन देश भनेका छन् । केही समय अघि नेपाल आएका इजरायली वैज्ञानिक प्रोफेसर दनिएल शेक्चमनले नेपालसँग आवश्यक सबै चिज छ, राजनीतिक इमानदारिता र इच्छाशक्ति छैन भनिदिए ।
हामीले जतिसुकै झ्यालीपिटे पनि विश्वले नेपालको यथार्थ तस्वीर देखेकै छन् । ढाँटेको कुरा काटे मिल्दैन भनिन्छ । नेताहरूले लोकतन्त्रलाई पाखण्ड बनाइदिए । पाखण्डको अन्त्य जरूरी छ । यसपल्टको चुनावले पनि पाखण्डलाई अनुमोदन गरेको छ । मिलिजुली भनेको भागशान्ति जयनेपाल नै हो । यो भनेको पाखण्ड नभए के हो ? यस्तो परिस्थितिले नेपाल कहिलेसम्म अड्न सक्छ ? देश निर्माणको कुनै खाका कुनै नेतासँग छैन, सबैलाई सत्ता, शक्ति र सम्पत्ति चाहिएको छ, यस्तै रहे पहिचान के होला ?