Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

विदेशीलाई एमआरपी : रोशन कार्की

१२ मंगलबार , आश्विन २०७२१० बर्ष अगाडि

एमआरपीमा पनि विदेशी। एमआरपी पनि खरिदविक्री हुनसक्छ? पत्याउन सकिन्न, तर बंगलादेशी, भारतीय र अन्य मुलुकका व्यक्तिसमेत नेपाली एमआरपी लिएर विदेश गइरहेका छन्। कसरी हुन्छ, एमआरपीको किनबेच? पासपोर्ट शाखाका कर्मचारीको मिलिभगत बिना यो सम्भव नै छैन। दलालहरु एमआरपीमा पनि खरिदविक्रीको ठूलै खेती गरिरहेका छन्। यसमा निगरानी गर्ने निकायले विशेष ध्यान दिन जरुरी छ। किनभने जो एमआरपी विदेशीलाई दिन सक्छन्, उसले देशको कुनै पनि गोप्यतालाई सुरक्षित राख्न सक्दैन। पैसा भए पुग्नेहरु पैसाका लागि देशको इज्जतमाथि नै यसरी खेलवाड गर्छन्। यो क्रम रोकिन जरुरी छ। खासगरी कुबेतले बंगलादेशीलाई रोक लगाएको छ। नेपाली पासपोर्ट होल्डर बनेर बंगलादेशी नागरिक कुवेत गएका भेटिएका छन्। नेपाली हुँ भनेर ढाँट्न सकिएला, जो नेपाली पासपोर्ट नै बोकेर कुबेतमा काम गरिरहेका छन्, तिनीहरुका बारेमा भन्नुपूर्व तिनलाई नेपालमा कसले पासपोर्ट दिलाउने काम गरिरहेका छन्? भन्ने प्रश्न उठ्छ।
पहिले हस्तलिखित पासपोर्ट हुनेगर्थ्यो र परराष्ट्रबाटै हजारौं पासपोर्ट हराएका पनि थिए। पछि सभासदले नै रातो पासपोर्ट बेेचेको घटना बाहिर आयो। हनुमान ढोका हिरासतमा मोहम्मद बोहार भन्ने व्यक्ति कारवाहीमा परेका छन्। भएछ के भने उनले रामकुमार साह बनेर नेपाली पासपोर्ट बनाएका रहेछन् र उनी कतार हुँदै कुवेत पुगेका रहेछन्। फोटो चेन्ज गरेर वा सिधै पासपोर्ट दिलाएर मानव बेचबिखन गर्ने गिरोहले यिनलाई कुबेत पठाउन त सफल भए तर घरविदामा फर्कदा इमिग्रेशनमा तिमी कुन देशको नागरिक भनेर सोध्दा उनले बंगलादेशी बताए। उनको हातमा नेपाली पासपोर्ट थियो। त्यसपछि उनी पक्राउ परे, पैसा पनि गयो, कारवाहीमा पनि परे। नेपालको पासपोर्टको दुरुपयोग कसरी भइरहेको छ भन्ने पनि खुलासा भयो।
अध्यागमन विभागले कारवाही अगाडि बढाउँदा दलालको चक्करमा परेर उनलाई धरौटीमा रिहा गरियो र केश सामसुम पारियो। परराष्ट्रको पासपोर्ट शाखाबाट पासपोर्ट बेच्ने, फोटो परिवर्तन गरेर विदेशीलाई नेपाली भनेर विदेश कसले पठाइरहेको छ? यो प्रश्नको उत्तर खोज्न जरुरी थियो तर प्रभावशाली राजनीतिज्ञको पोल खुल्ला भनेर अनुसन्धानलाई अगाडि नबढाइएको स्रोतले बताएको छ।     सयौं बंगलादेशी र भारतीय नेपाली पासपोर्ट बोकेर वैदेशिक रोजगारीमा गइरहेका छन्, काम गरिरहेका छन्। पर्वतकी प्रविना पुन लामिछानेको पासपोर्टमा फोटो परिवर्तन गरेर बंगलादेशकी युवती मोनिति साउदी पुगेकी थिइन, फर्कदा उनको पोल खुल्यो, अहिले हिरासतमा छिन्। वैदेशिक रोजगारमा जान सक्ने तर फर्कदा शंका लागेर सोधपुछ गर्दा बंगलादेशी भन्ने खुलेपछि तिनलाई नेपाल डिपोट गर्ने क्रम हिजोआज बढेर गएको छ। कतिपय उम्कन्छन् पनि। बंगलादेशी पुरुष र भारतीय महिलाहरु दलाललाई पैसा दिएर नेपाली पासपोर्टमा आफ्नो फोटो टाँस गरी वैदेशिक रोजगारीमा जाने गरेका छन्। एमआरपीको यस्तो दुरुपयोग त्यत्तिकै सम्भव छैन। नेपाली एमआरपीको दुरुपयोग यति सहज हुनु भनेको नेपालकै बेइजति हो। यस्तो दुरुपयोगलाई रोक्न अख्तियारलेे अनुसन्धान गर्न जरुरी छ।