Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नारी, अहिले नउठे कहिले उठ्ने ?

०५ सोमबार , मंसिर २०७९२ बर्ष अगाडि

देवी काफ्ले - - 
हामी तराईबासी महिला सकेसम्म छोरी जन्माउन नपरोस् भन्ने चाहन्छौं । जन्मीहाले पनि छोराको तुलनामा पालनपोषण, शिक्षा, स्वास्थ्य सबै कुरा छोरीले पाउंदिनन् । कारण उनी अर्काको घर जानुपर्छ । त्यहाँ घरको सारा कामधन्दा उनैले गर्नुपर्छ । लोग्नेको सेवा, सासु ससुरा, नन्द, आमाजु ,देवर जेठाजु सबैको चित्त बुझाउनु पर्छ त्यसैले उसलाई एउटी असल बुहारी बनाउन कुना मिलाएर कुंद्ने गर्छौं । आफ्नी छोरी एक असल बुहारी बनोस् भन्ने चाहना हामी आमाको मात्र हैन बाबुको पनि हुन्छ ।
हाम्रो तराई ,मधेश दाइजो प्रथाले आक्रान्त छ । अन्धबिश्वासले थिचिएको छ । पुरूषप्रधान मानसिकताले जकडिएको छ । चेतनाको अन्धो भूमरीमा पिल्सिएको छ । हिंसात्मक चपेटामा परेको छ । आखिर बाबाआमाले नै किन जन्माउन चाहन्नन् त छोरी ? 
आफ्नो रगत, आफ्नो शरीरको अंशलाई अरू कसैले तड्पाइ तड्पाइ मार्नु भन्दा त जन्मै नदिनु, उसको अनुहार नै नदेख्नु ठीक मानेर होला  ।
आखिर सात महिनाकी छोरी बलात्कृत हुन्छे । कसरी सहनु बाबा आमाले ? हत्या हुन्छ  । अलि हुर्केकी छोरी बलात्कृत भै भने समाजले पिडितलाई नै बहिष्कार गर्दिन्छ । हरेक दोष छोरीमाथि लाग्छ । जब जवान छोरीको बिहेबारीको बेला हुन्छ अनि बिहेको बजारमा दाइजोसंग जोखिन्छ ।
दाइजोको तराजुमा हल्का भै भने उसले अस्वाभाविक रूपमा मृत्युवरण गर्नु पर्छ । मट्टितेलको ज्वालामा दन्किनु पर्छ या त घांटी थिचिन्छ । दाइजोको ब्यापकता यति धेरै हुन्छ कि छोरी क्रयबिक्रयको सामान हो र जसलाई बिवाहको बजारमा मूल्य घटबढ,तोलमोल गरिन्छ । अर्कोतिर युवतीहरूको अर्को भयानक पिडा छ । बिहान स्कुल जान निस्केका नानीहरू सहीसलामत घर आउन नसकेको कैयौं घटनाहरू छ । आफू जस्तो भय पनि मन परेपछी केटीले मन पराओस् नपराओस् जबरजस्ती प्रेम गर्नु पर्ने नत्र एसिड जस्तो भयानक झोलले आरमण गरेर या त मृत्यु बरण गर्नुपर्छ यात चेहरा हेर्नै नसकिने हुन्छ । त्यो पिडा पिडकलाई हुँदैन त्यसैले होला घटना दोहोरी रहन्छन् ।
यी यावत् कारणले सायद तराईका मधेशी मूलका मान्छेहरूमा छोरीको चाह घटेको । छोरी जतिसुकै पढेलेखेकी किन नहोस् घुम्टो प्रथाले ऊ छोपिएकै छ  । गणतन्त्रपछि मात्र एकदुई शिक्षित महिलाहरू आर्थिक उपार्जन कामहरू सम्हाल्न थालेका छन् । राजनैतिक, सामाजिक, आर्थिक रूपमा उनीहरूलाई खासै सहभागी बनाईंदैन । त्यसैले राजनीतिमा खुलेर आउन सकेका छैनन् भने सरकारले तोकेको मापदण्ड पु¥याउन मात्र आरक्षणमा एक दुईजना लगेर थन्क्याइन्छ । यो बिषयमा खुलेर संसदमा छलफल हुनुपर्ने हो ।
महिलाहरू न त आफ्नो खुशीले खुलेर राजनैतिक क्षेत्रमा होम्मिन पाएका छन् न त हातमा सर्र्टीिफकेट बोकेकाले पनि जागिर खान पाएका छन् । उनीहरूको काम कर्तब्य र दायित्व भनेकै परीवारको दासी बन लोग्नेले चाहे अनुसारको दासता स्वीकार गर, बच्चा जन्माउने कारखाना बन, यही संस्कार हो  ।
पुरूषमा पूर्णतः आश्रित हुनुपर्ने भएर पनि होला आर्थिक र सामाजिक रूपमा निरीह रहन्छन् । उनी आफ्नो क्षमता दक्षता भयर पनि उजागर गर्ने मैदान उपलब्ध छैन  ।अबसर छैन ।
सरकारले साक्षरताका नाममा प्रौढ शिक्षा पढ्न लगाएर गाउँका दुईचार महिलाले आफ्नो नाम लेख्दैमा पूर्ण साक्षर गाउँ नगर घोषणा गर्ने हतार गरेको छ । कैयौं यस्ता तराईका गाउँ छन् जहाँ सरकारले पूर्ण साक्षर गाउँ घोषणा गरेको छ, त्यहाँ कैयौं महिलाका लागि कालो अक्षर भैंसी बराबर छ । 
अब ढिला नगरेर आआफ्नो क्षेत्रबाट आवाज बुलन्द गर्नुपर्छ । संसदमा जोडदार रूपमा तराई बासी महिलाका बिषयमा छलफल हुनुपर्छ । हिंसा गर्ने पिडकलाई अपराध अनुसारको कानूनी कारवाही हुनुपर्छ । संबिधान संसोधन गरेर भय पनि बलात्कारी, एसिड आक्रमणकारिलाई घोर सजाय हुनुपर्छ । दाइजो प्रथा पूर्ण रूपमा निस्तेज पारीनु पर्छ । अन्धबिश्वासले महिलाको घोर अपमान गरेको छ । परम्पराका कुरीती हटाएर समयानुकूल सुधार गरौं ।
सबैभन्दा महत्वपूर्ण कुरा त स्त्री र पुरूष दुबै मानव हुन् । राज्यले समान अधिकार तोकेको छ । कसैले कसैलाई पशुवत् ब्यावहार नगरौंैं । जबसम्म तराई मधेशका महिला शिक्षित हुंदैनन् तबसम्म पूर्ण नारी शिक्षित हुने छैनन् । तबसम्म महिला दोस्रो दर्जा मै रहने छन्  ।
सम्पूर्ण महिला सक्षम, शिक्षित हुन तराई मधेश नै अगाडी लाग्नु पर्नेछ । तराई मधेशका महिला जागरूक हुनुपर्छ । जाग छोरीबेटी जाग तराई जाग मधेशी सम्पूर्ण नारी जाति जाग ।