Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेतृत्व किन बुझ्दैन– कात्रोमा खल्ती हुदैन

०५ सोमबार , मंसिर २०७९२ बर्ष अगाडि

राजन कार्की - - 
छहारी ढाल्नेले छानो बन्न सकेनन् । रूख, हँसियाहथौडा अथवा सूर्यको तेज निस्तेज भइसक्यो । समष्टिमा भन्नुपर्दा अन्यौल बाक्लिएको छ । चाँदीको घेरा देखिदैनन्, मृत्युका डरलादा छायाँ देखिन थालेका छन् । सुनमा कली बस्छ भन्थे, सुन सत्ता बन्यो र सत्तामा कली बसेछ ।
राजनीतिमा सयौं जिब्रा छन्, टाउका छैनन् । अरूले हल्लाए हल्लिने, अरूले नचलाए नचल्ने ठिमीले किसानले खेतबारीमा गाडेको बुख्याँचाजस्तो । राजनीति सिंहदरवार, पार्टी कार्यालयहरूतिर टाउको बिनाको मुर्कट्टाजस्तो छ । टाउको नभएपछि विवेक हुँदैन । विवेक नभएपछि ढुङ्गाजस्तो ठेस लाग्ने, काँडाजस्तो घोचिरहने हुँदोरहेछ ।
सत्ता सुन्दरी किचकन्याजस्ती लाग्छ । सत्ता सग्लो तर लोकनीतिका पाइला उल्टो । सारै मनमोहक सुन्दरी, तर उल्टो खुट्टा भएकी ईषालु र विषालु । सातो लिने, सातो खाने र डरलाग्दो रूपले तर्साइरहने । स्वर्ग हिंडेको नर्क पुगिने, कस्तो सत्ता हो ?
राजनीति पिचासजस्तो देखिन्छ । धोका खाएका प्रेमिका, अनाहकमा मारिएका छोरी बुहारी, जबरजस्ती मारिएका व्यक्तिहरू, अस्वभाविक मृत्यु भएकाको भड्किएको आत्मा कतै ठाउँ नपाएपछि वायु बन्छन् र परिवारलाई पिराइरहन्छन् । यसकारण नेपालको राजनीतिमा प्राण कम पिचासका पीर बढी छन् । प्राकृतिक प्रकोपले पिराउनु बुझ्न सकिन्छ, पिचासले पिराउनु बुझ्न सकिन्न । १९०३ को कोतपर्वमा मारिएका पिचास २००७ सालमा उतार्न खोजियो, त्यसपछि निरन्तर अस्वभाविक हत्याकाण्डहरू भइरहेका छन् र २०५२ पछि अनाहकमा मारिएकाको काँचो वायुको प्रकोप नै चल्यो । अहिले नेता र कोरोना, डिंगुलेमान्छे चपाइरहेछ ।
राजनीति चुडैलजस्तो पनि छ । समाजमा कथन छ– विश्वासघात भएर हत्या भएका, आत्महत्या गर्न बाध्य भएकाहरू चुडैल बन्छन् । तिनका अतृप्त आत्माले बेला बेलामा चीत्कार गर्छन् र चीत्कार सुनिन्छ । कतिपय परिणामहरूमा चुडैल आत्माहरूको छटपटी देखिन्छ पनि । आगोको खली खाएर वायु उतार्ने चलन छ समाजमा । नेपाली राजनीतिमा आगोमाथि वायु उतार्ने साइत जुरेको छैन, सक्ने गम खाइरहेछन्, भद्रो हरेर टोलाइरहेछन् ।
आधुनिक विज्ञान यस्ता कुरालाई भ्रम मान्छ, अन्धविश्वास मान्छ, तथापि विज्ञान नै भन्छ– वेद र साङ्ख्यदर्शनका कारण आविष्कारहरू सम्भव भएका हुन् । आधुनिकताका प्रणेताहरू स्वस्थानीमा पिएचडी उपाधि दिन्छन्, हिन्दुधर्म ग्रन्थलाई पाठ्यक्रममा राख्छन् र अध्यापन गराइरहेका छन् । यहाँसम्म कि अष्ट्रिया, जर्मनमा त भूत पिचास, तन्त्रमन्त्र र बोक्सीविद्यासमेतलाई कानुनी मान्यता छ । नेपाल त त्यसै पनि तन्त्रमन्त्रको देश, मन्दिरै मन्दिरको देशमा हरेक मन्दिरका गर्भगृहदेखि टुँडालसम्म तन्त्र नै तन्त्र व्याप्त छ । पशुपतिनाथको नित्यपूजासमेत मन्त्रबाट हुन्छ । विदेशीहरू नेपालका तन्त्रमन्त्र विद्याबारे अनुसन्धान गरिरहेका छन् । नेपालीको अन्धविश्वास हटाउने भनेर आँखामा पट्टी बाँधिदै छ । के कति अन्धविश्वास, कुन कुन तन्त्रमन्त्र विद्या ? लोकतन्त्र जता पनि भीड र हल्लैहल्लाको पद्धति बन्दै गएको छ । कोभिड १९ को प्रकोपले थिलथिलो पारेको अमेरिकामा राष्ट्रपति निवासमा हिन्दुशास्त्रका मन्त्रहरू पढियो, पूजाआजा, होम र गायत्री मन्त्र जप धेरै ठाउँमा भइरहेको देखिन्छ । अर्थात् पञ्चइन्द्रियभन्दा माथि अदृश्य शक्ति छ । अविश्वासभित्र विश्वास छ । हामी पूर्वीय दर्शनभित्रको रहस्य गुमाउँदै त छैनौं ?
अहिलेलाई सवाल नेपालको वर्तमान र भविष्यको हो । राजनीतिले किन दिगो शान्ति र अग्रगामी समृद्धिको कोर्स लिन सकेन ? असफल राष्ट्रमा हुने लक्ष्यणहरू बढ्दै गएका छन् ? नेपाललाई लागेको महारोग हो– चरित्रहीनता, गैरजिम्मेवारी र भ्रष्टाचार । नेपालको शासन र प्रशासनमा भ्रष्टाचार र अनियमितताको बाढी र पहिरो रोकिने छाँट देखिदैन । कारण– राजनीतिमा इमान भएन । भ्रष्टाचारको भ्रूण बढ्यो । समाज, शासन र प्रशासनमा भ्रष्टनीतिले सङ्क्रमण फैलायो । समाजशास्त्रीहरू भन्न थालेका छन्– 
०४६ सालपछि जो जो सत्तामा पुगे, आनन्दले रजगजमात्र गरे । कोही देशघातक त कोही जनघातक बनेर बदनाम भए । राजनेता बन्ने इच्छाशक्ति र राष्ट्रनीतिका लागि त्याग गर्नसक्ने आँट कसैमा पनि देखिएन । विधिमा टेकेर मनपर्दी शासन लोकतन्त्रको परिचय बन्नपुग्यो । ल्हासा हिंडेको कुतीको बाटो समातियो । भ्रष्टाचारको आरोपमा इन्डोनेसियाका मोहमद सुहार्तो, फिलिपिन्सका फर्डिनान्ड मार्कोस तथा जोसेफ इस्ट्राडा, सर्बियाका स्लोबोदान मिलोसेभिक, पेरूका अल्बर्टो फुजीमोरी, नाइजिरियाका सनी अबाचा, हाइटीका जाँ–क्लाउड दुभालियर, निकारागुवाका अर्नोल्डो अलेमान र उक्रेनका पाब्लो लाजेरेन्कोलाई दण्डित गरियो ।
दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन हे, दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति ज्याकोव जुमा, बाङ्लादेशकी पूर्व प्र.म. वेगम खालिदा जिया, मलेसियाका पूर्व प्रधानमन्त्री नजीब रजाक, पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ, ब्राजिलका दुई पूर्व राष्ट्रपति दिल्मा रूसेफ र लुई इनासियो लुला द सिल्भा, भारत बिहारका राष्ट्रिय नेता लालु यादब भ्रष्टाचारमा सजाय कालकोठरीको सजाय भोग्न बाध्य भए । चीनका राष्ट्रपति सी चिनफिङ्ले चिनियाँ कम्युनिष्ट पार्टीका ९ लाख भ्रष्टहरूलाई जेलहालेका छन् भने अतिभ्रष्टहरूलाई मृत्युदण्ड दिएका छन् । सी भन्छन्– सम्पत्ति थुपार्ने कम्युनिष्ट हुनै सक्दैन । नेपालमा सुल्टो केही हुन्न, सबै उल्टो भइरहेको छ । प्रजातन्त्र र समाजवादमा राजनीति सेवा हो, नेपालमा व्यापार बन्यो ।
यसकारण नेपालमा भ्रष्टाचार मौलायो । भ्रष्टाचार फैलियो । नेपालमा भ्रष्टाचारीलाई कारवाही हुने दिन कहिले आउला ?
नेपाली कांग्रेस छ, शक्तिको दुरूपयोग गर्दा काँचो क्वाँटी कपाकप खानाले पेट बिग्रिएर झाडापखाला भोगिरहेको छ । एमाले, माओवादी केन्द्र, अन्य पार्टीहरू दूधमा पानी मिसाएको सेतोमात्र हुन् । स्वार्थमा मन मिलाउँछन्, पद्धतिमा स्वार्थमात्र हेर्छन् । देशको मुहार फेर्ने योजना र योजना पूरा गर्ने भोक कसैमा छैन ।
जनताको माँगअनुसार लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको नक्सा जारी भयो । यो नक्साजारी हुँदा भुइँचालो दिल्लीमा गयो । दिल्लीले सुरक्षा सल्लाहकार, पूर्वसचिव, नेपालविज्ञहरू पठाएर नेपालको सरकारै फेर्ने प्रयास पनि ग¥यो । दिल्लीमा सेल्फ आइसोलेसनमा बसेको भनिएका सुरक्षा सल्लाहकार अजित डोभल, चीन गए, नेपाल पनि आए । उनीसँगै रअका प्रमुख सामन्त गोयल र आइवीका प्रमुख अरविन्दकुमारले समेत काठमाडौंमा हप्तौं अड्डा जमाए । तिनले नेता, वर्तमान र पूर्व प्रधानमन्त्री भेटेर भारतपक्षीय वातावरण बनाउन प्रयास गरे । नेपाल ठूलै छचल्किरयो । स्वाभिमान बचाउन नेपाली नेतृत्वको ढाडमा हाड देखिएन ।
भारत नेपाल चीनतिर ढल्केको आरोपमात्र लगाइरहेको छैन, प्रधानमन्त्रीले चिनियाँ राजदूतसँग सल्केर नेपाललाई चीनको हिल्ला लगाएकोजस्तो अतिशयोक्तिपूर्ण कुप्रचार पनि गरिरहेकै छ । यसबाट पनि थाहा हुन्छ– भारत नेपाललाई ठेगान लगाउने मोर्चाबन्दीमा छ । यही कारण भारतबाट धम्की आइरहेको छ– तिब्बत, पाकिस्तानजस्तो बन्ने कि भारतसँगकोे विशेष सम्बन्धमा बस्ने ? हिजोआज शक्तिशालीका सैनिक सक्रियता बढेको छ ।
नेपालले नक्सा जारी गरेपछि भारतसँग विवाद बढ्यो । एमसिसी पास नहुँदा अमेरिका रिसाएको छ, चीन खुलेर सुरक्षा सरोकार देखाइरहेको छ । नेपाली पार्टीहरूलाई बसमा पार्ने चलखेल बढेको छ । कोरोनाको महासङ्कट, बाढीपहिरोको प्रलय, स्कूलकलेज बन्द, नागरिक हातमुख जोर्न नसकेर मरणासन्न, जीवनजगत् सबै चौपट भएका बेलामा भारत, चीन, अमेरिकाको नेपाली आत्मसम्मान ताछ्ने जुँगाको लडाइ उत्कर्षमा छ । यही लडाइमा नेताहरूको खेतालापन, ज्यालादारी, कमाउधन्दा चम्केको छ ।
सत्तासुखको तीन त्रिलोक चौधभुवन देखिरहेकाले होला, जो बलियो उही मेरो पोइ ठान्ने नेपाली नेताहरू किन बुझ्दैनन्– कात्रोमा खल्ती हुँदैन भनेर ।
राजनीतिभित्र दौरा न सौराको खल्ती देखेका बुझकीहरूले नेताप्रति यसरी व्यङ्ग वाण हानेका छन्– धुन्दुलीजस्ती श्रीमती र धुन्धुकारीजस्तो छोरो नभएकै जाति ।
नेपाली राजनीति कसैको कसैमाथि विश्वास छैन, विश्वासको सङ्कटमा बढेको छ । राजनीतिले आश्वस्त पार्न नसकेर सामाजिक मनोदशामा धाँजा फाटेको छ । राजनीतिमा सिद्धान्त, निष्ठा र लक्ष्य हुनुपर्ने हो– कता जिली, कता गाँठी भइरहेको छ ।
हिजोको मगन्ते मुलुकहरू आत्मनिर्भरतापूर्ण अवस्थामा पुगिसके । नेपाल विदेशी प्रभाव, अनियमितताको दुर्भाव र आत्मनिर्भरताको अभावमा मरिरहेको छ । सरकार युवायुवती निकासी गरेर रेमिटान्समा लोकतन्त्र फल्छ फुल्छ भनिरहेको छ ।
नेपाल, १८ जेठो मुलुकहरूमध्येको स्वाधीन मुलुक हो । यहाँ सत्ता र सम्पत्तिका लागि सधैँ महाजाल, महाभारत, महासङ्ग्राम चलिरहन्छ । नेपालका सन्दर्भमा राजनीति सुख्खा बगर हो । महानायक राजनीतिमा गर्भाधान त हुन्छ, जन्मिन्छ पनि र जन्मनासाथ पतनमार्गी बन्छ । यसकारण नेपाली राजनीति पाकेको घाउबाट निस्केको पीप पोखरी मात्र हो ।
आपूmलाई राजनीतिको बादशाह सम्झनेहरू वास्तवमा घोडा हुन् । राजनीतिक मैदानमा घोडाहरू खुब हिनहिनाएर बहादुरी प्रदर्शन गर्छन् तर यी घोडाहरूलाई विदेशीले चड्छन् । पहिले पहिले अरवी घोडाको खुब महत्व थियो । जबदेखि उत्तर, दक्षिण र पश्चिमाको आर्थिक र सामरिक प्रभावमा प्रतिस्पर्धा बढ्यो, उनीहरू सामरिक महत्वको केन्द्रभूमिका नेपाली घोडा चढ्न उत्साहित छन् । 
पहिले उखान थियो काशी काश्मिर अजब नेपाल । नेपालमा अजब राजनीति चलिरहेछ । खुब भनेका थिए कुनै विद्वान्ले– नेपालमा राजनीति गर्न बुद्धि, विवेक र नैतिकता चाहिंदैन । मै जान्ने, मै ठूलो, म नै राज्य हुँ भन्ने अहं राखे पुग्छ । शासित भनेका चाकर हुन्, चाकरलाई जति निचोरे पनि हुन्छ भन्ने बाहुबली बन्नुपर्छ । लोकतन्त्रको भाषण गरेर पद्धतिका मर्यादा जतिसक्यो उति बलात्कार गर्ने हो । सरकार परिवर्तन अँध्यारा कोठाबाट हुन्छ । संविधानको कुरा गर्ने, काम असंवैधानिक र अराजनीतिक तबरले भइरहन्छ । यत्ति गरे नेता भइन्छ । अर्थात् अनियमितता र असामाजिकतामा सुधार आउने भएन । तेरा बाजेले खुट्टै टेक्न दिदैन अनि कसरी पछार्नु ? भन्ने उखानजस्तो भयो हामीले बाँचेको देशमा विकृति ।
अन्तमा ः राजनीति गर्नेलाई सही मार्ग देखाउन पाँच टिप्स–
१. हाड नभएको जिब्रोको कथा– नेताले सहयोगीलाई खसीको सबैभन्दा राम्रो भागको मासु किनेर ल्याउन अह्राए । सहयोगीले खसीको जिब्रो किनेर ल्यायो । मालिकले फेरि सहयोगीलाई अह्राए– जाउ अब खसीको सबैभन्दा नराम्रो भागको मासु किनेर ल्याउ । सहयोगीले फेरि पनि खसीको जिब्रो किनेर ल्यायो । यो देखेर मालिकले सोधे– राम्रो मासु पनि जिब्रो, नराम्रो मासु पनि जिब्रो । यसको मतलव के हो ? सहयोगीले जवाफ दियो– नेताजी जिब्रो राम्रो भयो भने सबै राम्रो हुन्छ । जिब्रो नराम्रो भयो भने सबै नराम्रो हुन्छ ।
२. हीराभन्दा राष्ट्रियगानको महत्व– बेलायतकी महारानीलाई अष्ट्रियाका संगीतकारले सङ्गीत सुनाउने पालो आयो । संगीतकारले आफ्नो देशको राष्ट्रिय धून बजाएर सङ्गीतको सुरूआत गरे । राष्ट्रियगानको धून समाप्त नहुन्जेल महारानी उभिइरहिन् । कार्यक्रम सकिएपछि महारानीले सङ्गीतकारलाई हीराको हार उपहार दिइन् । महारानीलाई सङ्गीतकारले शिर झुकाएर प्रत्युत्तर दिए– मेरो देशको राष्ट्रियगानलाई जुन सम्मान दिनुभयो, मेरा लागि हीराको हारभन्दा त्यो सम्मान मूल्यवान छ ।
३. १९४०–४५, १९५१–५५ मा चर्चिल बेलायतका प्रधानमन्त्री भए । उनलाई गर्जदो सिंह भनेर पनि चिनिन्छ । एकपल्ट उनी भाषण गर्दै थिए, एक अनुयायीले भने– तपाईंको ख्याति बढेको छ, तपाईंको भाषण सुन्न ठूलो भीड जम्मा भएको छ । यो सुनेर चर्चिल खिस्स हाँसेजस्तो गरे र जवाफ दिए– यो सब तमासा हो । भोलि मलाई यही स्थानमा फाँसी दिइयो भने योभन्दा धेरै गुणा ठूलो भीड जम्मा हुनेछ ।
४. नेपोलियन बोनापार्टको सभामा निम्त्याइएका अनेक विधाका व्यक्तिमध्ये एक चित्रकार पनि थिए । चित्रकार अलि पुराना लुगा लगाएर गएकाले नेपोलियनले उनको स्वागत गरेनन् । सभा सकियो, सबै फिर्ता जानलाग्दा ती चित्रकार पनि उठेर हिड्न लागे । अनि नेपोलियनले ती चित्रकार सामु गएर हात मिलाए, ढोकासम्म पु¥याउन पनि गए । चित्रकार चकित प¥यो, अरू अतिथिहरू पनि आश्चर्य मानेर हेर्दै थिए । नेपोलियनले सबैलाई सुनाएर भने– जो कार्यक्रममा आउँछन्, आउँदा राम्रो लुगालाई स्वागत गरिन्छ । जाने बेलामा जुन आदर गरिन्छ, त्यो व्यक्तिको गुण हेरेर गरिन्छ ।
५. आगो कतै पवित्र, कतै अछुत– स्नान गर्न गएका ऋषि भृगुपत्नी पुलोमालाई राक्षसले अपहरण गरेपछि गर्भमा रहेका च्यवनले बाहिर निस्केर आमाको रक्षा गरे । आगोले थाहा पाएर पनि अपहरणमा राक्षसको साथ दिएकाले ऋषिले सराप दिएका रहेछन्– मसानघाटमा अछुत भए पनि पितृ र देवकार्यमा पवित्र हुनेछस् ।
यत्ति लेखिसकेपछि लेख्न बाँकी एउटै कुरा छ– विवेक किन घाँस चर्न गयो ?