Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मुलुक बिघटनतिर !!

२१ सोमबार , कार्तिक २०७९२ बर्ष अगाडि

शाश्वत शर्मा - -
चमत्कारै भएन भने,मुलुका समाप्तितिरै उन्मुख भएको देखिन्छ । केही विश्लेषकका विचारमा मंसिर ४ को संघीयर प्रादेशिक चुनाव सफलतापूर्वक सम्पन्न भएमा यिनै सडेगलेका अनुहारहरू पुनःनिर्वाचित भएर आउने छन्, यो अवस्था भनेको पशुपतिनाथले पनि मुलुकलाई बचाउने सक्दैनन् । दुःखका साथ भन्नुपर्छ कि अवस्था त्यस्तै देखिन्छ, त्यतैतिर गइरहेको देखिन्छ ।
कार्तिक १८ गतेपछि निर्वाचन आयोगले प्रचारप्रसार खुल्ला गरेपछि कथित ठूला दल, ठूला नेताहरू जो मुलुक ध्वस्त पार्न जिम्मेवार छन्, तिनका सभाहरूमा देखिएको जनताको भीडले जित्नै यिनै हुन् र मुलुक बिघटनतिर जाने संकेत गरेको छ । देउवा, ओली वा प्रचण्डका सभामा देखिएका उत्साहित कार्यकर्ता र जनताको भीडले के बुझेका छैनन् भने यिनले जित्नु भनेको मुलुक बिघटनतिरै जानु हो । लोकतन्त्र, अग्रगमनको ललीपप देखाएर नेपाल र नेपालीको अस्तित्व समाप्त पारिदैछ भनेर नबुझेको देखियो । राम्रालाई जिताउनु पर्छ भनेर नबुझेको देखियो । भ्रष्टहरूको गलामा माला लगाउने भीडले मतदान गर्नेछन्, यिनैलाई जिताउने छन् । दण्डदिनेलाई देशको शिरोभारो सुम्पने लक्ष्यण राम्रो संकेत हुँदै होइन ।
यो स्थितिमा विप्लवजस्ता साना पार्टीले बहिष्कार गर्दैमा अब निर्वाचन रोकिने अवस्था रहेन । नो, नट, अगेन को नारा पनि कामयाव नहोला जस्तो छ । केही नयाँ र पढेलेखेका युवाले जिते भने झिनो आशा देखिएला । यद्यपि सबैले बुझ्नै पर्ने सत्य के थियो भने गडबढी शासन पद्धतिमै छ । नीति र नैतिकतामै छ । इमान स्थापित हुन नसकेको संविधान र व्यवस्थाले देश र जनतालाई लुट्छ मात्र । प्रधानमन्त्रीका दावेदार यिनै ठूला दल हुन् । दलका स्थापित भ्रष्ट चरित्र नै हो । सिंहदरवार र शितल निवास यिनै घातकहरू भए पछि विधिको शासन स्थापित हुनै सक्नेछैन ।
एकातिर संघीयता बोझ भयो, ३ तहको सरकारको आवश्यकता छैन, विकेन्द्रीत र अधिकार सम्पन्न दुई तह भए हुन्छ भन्नेहरू नै ३ तहको निर्वाचनमा लामबद्ध हुन गइरहेका छन् । राजनीतिमा अन्यौल छ, द्विविधाग्रस्त छ राजनीति । अहिले मंसिर ४  को निर्वाचनमा उत्साहित देखिएका कार्यकर्ता, जनता निर्वाचनपछि यिनै नेतालाई सत्तोसराप गरेको देखिने सुनिने छ । भ्रष्टाचार ग¥यो, राष्ट्रघात ग¥यो भनेर हिजो कराउने नै आज तिनैलाई जिताउन लागिपरेपछि र जित्नेले रक्सी, मासुभात, पैसाको बलमा चुनाव जितेपछि हुने अराजकता, अस्थिरता र लूट नै हो । चुनावमा गरेको लगानी उठाउन नेताले नैतिकतालाई लिलाम गर्न कुनै कसर बाँकी राख्ने छैनन् ।
चुनावी दिनहरूमा रमाउनेले चुनावपछि पछुताउनु पर्नेछ । जनता किन यतिबिघ्न अबुझ भइरहेका हुन् । आफ्ना लागि नसोच्नेले अर्को पुस्ताका लागि कसरी सोच्न सक्छ र ? अनि कसरी भविष्य सुरक्षित र सुखद हुनसक्छ ? पूरा गर्न नसक्ने घोषणापत्र, फोस्रा आश्वासन र लोभका फसेर फेरि गल्ती गर्नसक्ने आधार देखिन थालेका छन् । जनताले बिकल्प नपाएर यो स्थिति आएको भन्नेहरू पनि धेरै छन् । पूर्वराजा अगाडि आउनुपर्छ भन्नेहरू नै यस्ता जनताले पाइला पछि सारे भने पूर्वराजाको बिचल्ली हुनेछ भनेर तर्सिन तर्साउन थालेका छन् । चुनावी रमाइलो देख्दा लाग्छ, राजतन्त्रको च्याप्टर तत्काल खोलिने अवस्था छैन । जनता नै लहै लहैमा मुलुकमारा संविधान जोगाउन भ्रष्टको पक्षमा उभिन्छन् भने सुशासन कसरी आउला ? एकातिर राजतन्त्र चाहिन्छ भन्ने, तिनै भीड प्रचण्ड, माधव, ओली र देउवाको सभामा झण्डा बोक्न जाने । तिनैलाई मत दिने ? बिद्रोहका पक्षमा उभिन नसक्ने, सामाजिक सञ्जालमा यिनै नेताको भ्रष्टाचारका इतिबृतान्त लेख्यो, देखायो अनि यिनैलाई मतदान गर्न गयो । यस्तो चरित्रले न राजतन्त्र आउँछ, न हिन्दुराष्ट ? जुन देशमा ॐकार परिवार ९५ प्रतिशत छन्, तिनीहरू सडकमा उभिए भनेमात्र पनि भ्रष्टहरू कहालिएर भाग्नेछन्, तर त्यो एकता यसरी भाँडिएको छ कि लोकतन्त्रलाई भ्रष्टाचारको दलदल बनाउनेहरू खुशीले गद्गद छन् । यसकारण त संविधान, संवैधानिक निकाय सबैका सबै राष्ट्रभक्तिमा कमजोर साबित भइसकेका छन् ।
अनि कसरी संविधान च्यातिन्छ ? कसरी सुशासन आउँछ ? कसरी भ्रष्ट तत्वहरूमाथि छानबिन र कारवाही हुन्छ ? मंसिर ४ को निर्वाचनले यिनै तत्वलाई अझ मजबुती बनाउने छ । देश डुबाउने छन् र मतदान गर्नेहरू ट्वाँ परेर आफू ठगिएको, देश डुबेको हेर्नेछन् । अहिले नसोचे कहिले सोच्ने ? अहिले गल्ती गर्नु भनेको समय घर्केपछि केही गर्न नसक्नु हो । जनताले सोच्ने मतदानका बेलामा हो । मतदानमा गल्ती भयो भने आफ्नै घुँडामा बन्चरो हान्नुसरह हुनेछ । त्यतिबेला पछुताएर के गर्ने ? आउने पुृस्तालाई अन्धकारमय बनाउने कि नबनाउने ? मतदाताले अहिले नै सोच्नुपर्छ । ३३ वर्ष भयो बहुदलीय प्रजातन्त्रका नाममा यिनै नेता र पार्टीले देश र जनता लुटेको । १५ वर्ष भयो लोकतन्त्रका नाममा जनताको शोषण गरेको । अब पनि जनताले नबुझ्नु भनेको आँखा चिम्लनु हो । यस्ता जनताले पाउने दुःख मात्र हो । भीरबाट खस्छु भन्नेलाई राम राममात्र भन्न सकिन्छ । जनता पटक पटक मूर्ख बन्नु हुँदैन । जनप्रतिनिधिका नाममा लुटाहलाई जिताउनु हुँदैन । मुलुक बिघटनतिर उन्मुख हुँदैछ, जनता हाम्रालाई होइन राम्रालाई जिताऊ भनेर कति भन्ने ।