शाश्वत शर्मा - - -
कांग्रेसको ५२ पृष्ठे घोषणापत्र जारी भयो । कांग्रेसी बुद्धिजीवी भनिएका डा.स्वर्णिम वाग्ले, डा.गोविन्द पोखरेल, गेजा शर्मा वाग्ले, कृष्णप्रसाद पौडेल, शंकर तिवारीलगायतकाले यो घोषणापत्र, विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको समितिमा रहेरै तैयार गरेका हुन् । आउला, प्रतिपक्षी एमालेको घोषणापत्र पनि छिटै आउला । माओवादीले यही घोषणापत्रलाई आफ्नो भन्न पनि सक्छ, अर्को जारी पनि गर्नसक्छ । समाजवादी, राप्रपा, मधेशी र अन्य दलका पनि चुनावी घोषणपत्र आउने नै छन् । कांग्रेसको घोषणापत्रमा ५ वर्षमा साँढे बाह्रलाखलाई रोजगारी दिनेदेखि पूर्वाधार विकासका कार्यक्रमहरूराखिएका छन् । त्यसैगरी असंवैधानिक रूपमा प्रतिनिधिसभा बिघटन नगर्ने प्रतिवद्धतादेखि तीन वर्ष मुनीका बालबालिका र पचहत्तर वर्षमाथि ज्येष्ठ नागरिकलाई निशुल्क उपचार अनि सबै महिलालाई निशुल्क स्यानिटरी प्याड बितरण गर्ने सम्मको कुरा लेखिएका छन् । एमालेले पनि यस्तै कर्मकाण्डी घोषणापत्र जारी गर्नेछ भने अन्य दलले पनि यस्तै यस्तै सवाल उठाउने छन् । यी दलहरूलाई के भ्रम छ भने जनताले यिनका घोषणापत्र पढ्छन् अनि आफूलाई मत दिन्छन् । फेरि यिनलाई शंका छ, यसपाली रक्सी, मासुभातले मात्र मत आउँदैन ।
असलमा यस्ता घोषणापत्र जनतालाई झुक्याउनका लागि हो । चुनाव सकिन्छ, घोषणापत्र पनि फालिन्छन्, कसैले पल्टाएर हेर्ने छैनन् । यसैले त पार्टी नेताहरू जसरी पनि चुनाव जित्नुपर्छ भन्छन्, प्रचण्ड त ०६४ लाई फर्काउनुपर्छ भन्छन् । हुन पनि बाकस साटेर, मतपत्र चपाएर च्यातेर भएपनि चुनाव जित्नैपर्छ नयाँ चलन यिनले ल्याएका छन् । माओवादी वर्षमान पुनको भनाइ मान्ने हो भने नेपाली जनता नै भ्रष्ट छन् । तिनले पैसा नपाई भोट नै दिदैनन् । यसकारण यस्ता घोषणापत्र केही पनि होइनन् । जनताले कसैको घोषणापत्र पढ्नेवाला छैनन् । पढ्दैनन् ।
केही बुद्धिजीवी, वरिष्ठ अधिवक्ताहरू भन्छन्– जसले भागबण्डामा उमेदवारी दिएका छन्, तिनले आफ्ना घोषणापत्र कसरी लागू गराउन सक्छन् । राप्रपा, एमालेले बढी सिटमा उमेदवारी दिएका छन्, तिनले सबै सिटमा जित्लान् र ? कांग्रेसले त साधारण बहुमत ल्याउन पुग्ने सिटमा समेत उमेदवारी दिएको छैन । त्यस्तो कांग्रेसले घोषणापत्र टाउकाबाट कि पुच्छरबाट लागू गराउने ? यो चुनाव गठबन्धनका नाममा मन्त्री, प्रधानमन्त्रीका लागि भइरहेको छ ।
कुनै पार्टी वा नेताले विकासको कुरा अघि सार्लान्, कसैले राष्ट्रियताको मुद्दा उचाल्लान्, कसैले जातियता, क्षेत्रीयता, भाषिक कुरा पनि उठाउलान् । मात्र सत्तामा जानका लागि चुनाव चुनाव भन्नेहरूले देश र जनतालाई संवोधन गरेका छैनन् । यो सबै जनतालाई भ्रमित पार्ने कसरतमात्र हो । चुनाव पहिले पनि भएका थिए, घोषणापत्र जारी भएका थिए । कसले पूरा ग¥यो र घोषणापत्र ? पक्का कुरा घोषणापत्र देखाउने र राति राति पैसा बाड्ने, मासुभात ख्वाएर मत तान्ने नै हो ।
कुन नेताले कति पैसा बाड्छन् भन्ने चासो सर्वत्र छ । यिनै पार्टी र नेताले ०४६ सालपछिका हरेक चुनाव अथवा आन्दोलनमा यस्तै बानी लगाएका छन् । एकथरि भन्छन्– घोषणापत्र त विदेशीलाई देखाउनका लागि हो । असलमा पैसा बाड्ने, भोट किन्ने, हार्ने छाँट देखियो भने मनी, मसल, शक्ति लगाएर बाकस साट्ने, मतपत्र च्यात्ने गर्ने नै हो । मनाङ्मा दीपक मनाङ्ेलाई निर्विरोध गराएपछि कस्तो निर्वाचन परिणाम आउने छ निश्चित भएन र ? सत्ताले भर्ति गरिएका निर्वाचन आयोग, प्रहरी र प्रशासनको दुरूपयोग कुन हदमा हुनेछ, अनुमान लगाउन सकिन्छ ।
यस्तो शासन रहिरह्यो भने केही मोटाउलान्, केहीको थप व्यवस्था होला तर राष्ट्र अरू निर्धो हुनेछ । विधिको नामो निसान रहनेछैन । यस्तो बाहुबली शासन व्यवस्था राखिराख्नु भनेको देश सिध्याउने लाइसेन्स दिनु हो । आफू र आफ्ना सन्ततीलाई नेपाली नै भएर बाँच्न दिने हो भने, पैसा– रक्सी, मासुभातमा भोट दिने हो भने नेपालको भविष्य अन्धकार हुँदैछ भनेर बुझ्न ढिलो गर्नुहुन्न ।
थाहा छ, यिनै नेताहरूले देशलाई कङ्गाल बनाए, निषेध र विभेद बढाए, आफू र आफ्ना परिवारवाद चलाए । तैपनि चुनावी रङ्मा रङ्गिएका छन् जनता । एकाध दिनको रमझम अनि पाँचवर्षको पछुतो । स्पष्ट छ, कुनै वाम, प्रजातान्त्रिक अथवा राष्ट्रवादीको एकल सरकार बन्ने अवस्था छैन । उही मिलीजुली सरकार बन्ने हो । अर्थात मिलीजुली खाने, सत्ताको छिनाझप्टी गर्ने । चुनावपछि जनता एकातिर, घोषणापत्र अर्कोतिर पुग्नेछन् । रहने छ, सिंहदरवार र शितल निवासको कुर्सी । शेरबहादुर, प्रचण्ड, माधव नेपालहरूको असली स्वरूप त्यतिबेला देखिनेछ । कुनै पनि नेतालाई देश बनाउनु छैन, जनताको कुरा सुन्नु छैन, मात्र चुनाव जित्नुछ ।
जनताले सोच्ने बेला यही हो । जनताले सोच्नुपर्छ, ओली, प्रचण्ड, देउवा अथवा अरू नेताले चुनाव जितेर गर्छन् चाहिं के ? तिनले गर्ने त्यही परिवारवाद हो, भ्रष्टाचार र राष्ट्रघात गरेर आफू मोटाउने र विदेशीलाई खुशी पार्ने न हो । हामीले यस्ता घातक तत्वलाई मतदान गरी गरी आफ्नो भविष्य बिगार्न दिने ?
यदि यसपटक पनि खोपिएकालाई जिताउनु भनेको जनताले आफ्नो घुँडामा आफैले बन्चरो हान्नु हुनेछ । जेलमा हाल्नुपर्नेलाई, काँडे कोर्रा ठोक्नुपर्नेलाई सिंहदरवार र शितलनिवासको मुखिया बनाउने ? जनताले पटक पटक भूल गरिसकेका छन्, अब पनि भूल गर्ने ? राम्रो नेता छान्न सकिन्न भने आन्दोलन, बिद्रोह गरेर एउटा असल सुरूआत गर्नुपर्छ, भ्रष्टको जरो उखेल्नुपर्छ । जनताको जो बिचार ।