प्रेमसागर पौडेल– नेपाल–चीन पारस्परिक सहयोग समाज- - - -
(नोट ः नेपाल र चीनका जनता जनताबीच सेतुको काम गरिरहनु भएका व्यक्ति हुन् प्रेमसागर पौडेल । चीनलाई दुख्दा यिनलाई दुख्छ, नेपाललाई दुख्दा यिनलाई दुख्छ र चीनले सहयोग गर्नुपर्छ, नेपालको हिम्मत, हौसला र औकात बढाउन चीनले मन खोलेर सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । चीनको थिङ्क टेङ्कका सदस्य समेत रहनु भएका प्रेमसागर पौडेलले नेपाल–चीनबीचको बैमनुस्यता कतै भए त्यसलाई पखाल्न र सम्बन्धमा सुधार ल्याउन भूमिका खेल्दै आउनु भएको छ । सम्बन्ध सुधार गर्ने उहाँको क्षमता अरू बृद्धि होस् ।)
चिनियाँ कम्युनिस्ट पार्टीको बीसौं राष्ट्रिय महाधिवेशनले चीनका वर्तमान राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालका लागि निर्वाचित गरेको छ । तेस्रो कार्यकालका लागि सी पुनः राष्ट्रपति बनेसँगै सीले चिनियाँ तथा विश्व राजनीतिमा दूरगामी प्रभाव पार्ने विश्लेषणहरू हुन थालेका छन् । ताईवान मातृभूमिमा समाहित गर्ने कामले प्राथमिकता पाउने छ भने चीनले आफ्ना छिमेकीसँगको सम्बन्धलाई पुनरावलोकन गर्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।
राष्ट्रपतिका रूपमा सीको तेस्रो कार्यकालले नेपालको लागि के अवसर होला भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ । नेपालको स्थिरता र विकासमा चीनको सहयोग आवश्यक देखिन्छ । पछिल्लो समय नेपालमा बढ्दो पश्चिमा प्रभावका कारण चीनको चासो बढेको छ । चीनको चासो सुरक्षासँग जोडिएको देखिन्छ । नेपालको परम्परागत नीतिमा अझ स्पष्टता गर्नु मैत्रीपूर्ण हुनेछ ।
आगामी कार्यकालको विषयमा ३० असोजकोे सम्बोधनमा राष्ट्रपति सीले राष्ट्रिय सुरक्षालाई देशको पहिलो प्राथमिकताका रूपमा प्रस्तुत गर्नुभएको थियो । राष्ट्रपति सीको पहिलो प्राथमिकतामा परेको सुरक्षाको विषयमा चीनलाई आश्वस्त पार्नु नेपालको पहिलो प्राथमिकता हो । यसको लागि नेपालमा लामो समय देखि हुँदै आएको स्वतन्त्र तिब्बतीयनहरूको नाममा चीन विरोधि गतिविधि नेपालले सधैंको लागि रोक्न सक्नुपर्छ । पश्चिमाले नेपाली सेनालाई चीनका विरूद्धमा प्रयोग गर्ने जुन प्रपञ्च रचिरहेको छ । त्यसबाट नेपाल बच्नसक्नुपर्छ । नेपालको राजनीतिमा आफ्ना स्वार्थ समूहलाई स्थापित गराएर यहाँबाट चीनको विकास र स्थिरतामा अवरोध उत्पन्न गराउने पश्चिमा योजनालाई सफल हुन नेपालले दिनु हुँदैन । नेपाल भूराजनीतिबाट बच्नुपर्छ ।
अमेरिकनहरूले स्वतन्त्र तिब्बतको नाममा नेपालमा चीन विरोधि गतिविधि बढाउने प्रयासमा लागेका छन् । यस्तो अवस्थामा चीनको कालो सूचीमा नेपाल पर्न सक्छ । त्यसैले नेपालले चीनको सहयोग चाहने हो भने चीन विरोधि गतिविधिको केन्द्रका रूपमा नेपाललाई विकास गर्न चाहने पश्चिमा सोचबाट अलग हुनु आवश्यक देखिन्छ । अहिले नेपाल त्यो अवस्थामा छैन । पश्चिमाको उक्साहटमा नेपालले चीनबाट पाइरहेको सहयोग र समर्थनलाई चीनका विरूद्ध प्रयोग गरेर धोकेबाज र अवसरवादी छिमेकीको उदाहरण दिएको छ ।
नेपाल र चीनको सम्बन्ध छिमेकीको भन्दा माथि थियो । तर, पछिल्ला दिनमा नेपालले चीन भन्दा बढि पश्चिमालाई विश्वास गर्न थालेको देखिन्छ । त्यसैले चीनले अपनाउने नयाँ सुरक्षा रणनीतिले नेपाललाई समेत प्रभावित पार्ने प्रष्ट छ । यस्तो अवस्थामा नेपाल पश्चिमाहरूको लहडका कारण अस्थिरता मुलुकमा रूपान्तरण हुनेछ । जसको असर चीनलाई समेत केहि न केहि मात्रामा पर्नेछ । त्यसैले अहिले चीनको भूमिका भनेको नेपालमा स्थिरताको लागि हो । विकासको लागि पनि चीनको सहयोग अनिवार्य छ । त्यो भन्दा बढि नेपाललाई सुरक्षाका हिसाबले पनि पश्चिमाको प्रभावबाट बाहिर ल्याउन चीनले भूमिका खेल्न सक्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको बीसौं राष्ट्रिय महाधिवेशनले नेपाल नीतिलाई पुनरावलोकन गर्नेछ भन्ने विश्वास लिएको छु । दक्षिण एसियाको एउटा महत्त्वपूर्ण प्रवेशद्वार नेपाललाई स्थिर विकसित र शान्त बनाउन चीनले थप प्रभावकारी योजना तर्जुमा गर्नुपर्छ । यसअघि चीनको नेपाल नीति प्रभावहीन देखिएको छ । चीनले उपलब्ध गराएको सहयोग र समर्थन प्रभावहीन भएको छ । चीनबाट उच्चशिक्षा हासिल गरेका विद्यार्थी हजारौं भएपनि चीनको पक्षमा ठोस अडान लिने समूह बलियो छैन । नेपालको राजनीतिमा चिनियाँ लगानी प्रभावहीन छ । राजनीतिक दलका नेताहरू खासै चीनको पक्षमा उभिएको देखिदैन । चीनको सबै क्षेत्रमा भएको लगानीको फाइदा नेपालमा चीन विरोधी शक्तिले उठाइरहेको छ । अबका दिनमा चीनले नेपालमा आफ्ना खास खास मित्रहरू पहिचान गरेर उनीहरूलाई स्थापित गराउने र उनीहरू मार्फत जनस्तरमा सोझै सहयोग र समर्थन उपलब्ध गराउनुपर्छ । अनिमात्र नेपाल विकसित स्थिर शान्त र चीनमैत्री बन्नसक्छ ।