Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

खै त्यस्तो दशैं तिहारे ?

२४ सोमबार , आश्विन २०७९२ बर्ष अगाडि

देवी काफ्ले - -
दुःख सारा बिर्साएर सयपत्री र मखमलीसंगै दशैंको आगमन भयो । दशैं तिहारजस्ता चाडपर्वले आपसी मिलनका साइत बोकेर आउँछन् । घरदेश र परदेशमा भएका परिवारका सदस्यहरूलाई मिलन गराउने मध्यबिन्दु हो दशैं तिहार । वर्षा ऋतु बिदाई गरेसंगै शरदले छुट्टै  खुशियाली लियर आउँछ । बर्षात सकिएपछि पानीले पखालिएको कमेरो, बाटोघाटोमा उम्रेको झारपात सफा गरेर दशैंलाई हार्दिक स्वागत गरिन्छ ।
 फाँटहरूमा धानका बाला झुल्न शुरू गरेसंगै चिसो बतासले सुसेलेको सुशेली रै आएको दशैं तिहारले खुशी र उमंगको छाल नै ल्याइदिन्छ । आजकल दशैं तिहार गाउँघरको पुराना यादहरू सम्झेर रमाइलो अनुभूत गरिन्छ । उनै रमाइला र खुशीका दिनहरूको सम्झना आउँछ । सबैलाई सम्झना आउँदो हो ।
सोह्रश्राद्ध सकिए लगत्तै घर लिप्न रातो माटो, कमेरो खन्न डोका बोकेर गाउँभरीका भाउजू, बुहारी, दिदीबहिनीहरू लर्को लाएर छहराको बाटो पटुकाको फिजबाट भुटेका मकै चपाउंदै, खुट्टामा लागेका जुका थुतेर फाल्दै हिंड्थे र पो दशैं तिहार आएको भान हुन्थ्यो । गाउँका काका, बा, दाजुहरू बाटो खन्न कोदालो काँधमा बोकेर कुहिरोको मुनि मुनि दगुर्थे र पो दशैं तिहार नजिकिएको जस्तो हुन्थ्यो ।
दाईहरू लिङ्गे पिङ हाल्न सालका लिङ्गाहरू काटेर हाम्रो ठूलो आंगनमा ल्याउँथे र गाड्थे । माथि डाँडाबाट ठूल्दाईहरूले बाबियोको मोटो छ सुते लट्ठो बाटेर ल्याए पछि पिङ कस्थे । अनि त दशैं घरमै आएको खुशियालीमा गाउँभरीका साथीहरू–राधा, तिले, भिमा, डल्ली, मिठु बाबुराम, नारन, चेते सबै मिलेर स्वागत गर्थ्यौं । यस्तो पिङ् हामी तिहारसम्मै खेल्थ्यौं, मच्चाउँथ्यौ, त्यो खुशी नै बेग्लै ।
आमा, भाउजू, दिदीहरू आफु पोतिंदै घर लिप्थे ओहो त्यो कमेरोको बास्ना कस्तो मीठो  । रातो माटो लगाएपछि त मगमग बसाउंने । भण्डारको कुनामा राखेको जमरा बढ्न ढिला गरे जस्तो लाग्थ्यो । दिनको चार पाँच पल्ट जमरालाई नहेरे त दशैंको खुशियाली कसरी बांड्नु ? बारीमा मखली फुलेको नदेखे तिहारको झल्को कसरी पाउनु ? उता आमाका आँखा बाटोभरी हुन्थे । आँगनको डिलमा म जमरा हेर्न गएको भन्दा धेरै पल्ट जानुहुन्थ्यो । दशैं बिदामा दाइ आउने बाटो नहेर्ने त कुरै भएन । अझ मजाको बात त हाम्रा दशैं लुगा नै दाईसँग आउँथे । बर्षदिनमा नयाँ लुगा लाउन पाईन्थ्यो र पो दशैं आएको रमाइलो हुन्थ्यो ।
आत्मियता त आज फ्रि मा हैन करोडौंमा किनेर पनि पाइन्न । त्यो बेलाको गाउँका सबै बन्धुवान्धवहरूको आत्मियता अमूल्य थियो ।
कालरात्रीका दिनमा कोटमा गरिने पूजामा सबै दाजुभाई, दिदीबहिनी, आमा, बा, काकाहरू सबै जम्मा हुन्थे दशैंको रौनक त कति चम्किलो कति !
शरदको मधुरम मौसम, बिहानमा लाग्ने सफा कुहिरो, सङ्लो दरौंखोलाको छङछङ आवाज, दिउँसोको न्यानो घामले कसको मन चन्चल नहोला र ?
आँगनको डिलमा मस्त उर्लिएको यौवन प्रस्तुत गरिरहेका सयपत्री, आफ्नो मोहजालमा पार्न मदहोस भएका चन्चल गुर्दौली अनि सूर्यमुखीले छरेको महकले आँगन स्वर्गैसरी लाग्ने । मखमलीको राताम्मे फूल मनै हर्ने खालको ।
घरको धुरीबाट धुवाँ पुत्ताउन थाल्यो । उता बोका ढाल्न हंसिया उदाउने तारतम्य । देवीस्थान, चण्डीस्थानमा पन्चवली लैजानेको पन्चेबाजा सहितका लावालश्कर । डाँडाकाँडा पन्चेबाजाले झ्याईंझ्याईं यता तल घर, माथि घर, सिरानघर, मुखियाका घर, जैसीका घर, गैह्राघर, डांडाघर पाकेका रोटीले गाउंनै बास्नादार हुंन्थ्यो । तब दशैं आईराखे हुन्थ्यो जस्तो लाग्थ्यो । तिहार छिटो आओस् भन्ने पनि लाग्थ्यो ।
घरघरै पाकेका सेलरोटी माग्दै हातमा उनेर पिङमा चचहुई गर्दा संसारकै खुशि दिन लाग्थ्यो । नवमीको रातभर पिङमा झुण्डींदा हिसाब गरिन्थ्यो भोलीको दक्षिणा । कति घर छन् कसको घरमा कति दिन्छन् हिसाबले पिसाब आउँथ्यो ।
दशमीका दिन टीका थाप्नु भन्दा पनि महत्व पूर्ण थियो दक्षिणा । गाउँभरी टीका थापेर पैसा जम्मा गरेपछिको मिसन चर्खे पिङ र जांते पिङ हुन्थ्यो ।
चर्खे पिङ खेल्दा दिनको एकजना खसेकै हुन्थे । जे होस दशैं दशैं थियो । आत्मियता थियो । तिहार तिहार थियो, छोरीचेली रमाउँथे । भावनात्मक सम्बन्ध थियो । एकता थियो । माया थियो प्रेम थियो । एकाघरमा सिमित थिएन । सबैको खुशियाली र आफ्नोपनको चाड थियो । आज दशैं फरक छ । तिहार व्यवसायी छ ।  दशैं तिहार देखावटी छ । करकापले गाउँका घर जानुपर्ने बाध्यता बनेको छ ।
खै हिजोको त्यो दशैं । हामी नेपालीको गर्वको चाड हो दशैं तिहार । बान्धवत्व बोकेको चाड दशैं तिहार । पारिवारिक एकताको प्रतीक हो दशैं तिहार । मेलमिलापको कडी हो दशैं तिहार । पवित्रताको पर्व हो दशैं तिहार । त्यस्तो दिन फेरि आओस् ।