शाश्वत शर्मा - -
यसपालीको दशैं सन्देशमा पूर्वराजाले शुभकामनाका साथै राष्ट्रियतामाथि उठेका खतराको घण्टीसमेत बजाइदिए । यो सन्देशले राजनीतिक बृत्तमा तरङ्ग ल्यायो । खासगरी गठबन्धन गरेर चुनावमा होमिएका दल र दशैं मनाउन लागेका आमनेपालीका बीचमा अब भूकम्प जानै लाग्यो भन्ने आभाष पनि गरायो । पूर्वराजाको आगामी कदम के होला ? अनेक तर्क वितर्क उठे ।
कडा छ शुभकामना सन्देश । विवादित नागरिकता विधेयकदेखि लिएर न्यायालयमा उत्पन्न असहज र अस्वाभाविक परिस्थितिका बारेमा पनि राजाले चासो राखेका छन् । ‘डेढ दशको राजनीतिक अभ्यासले कोर्स करेक्शनको अपरिहार्यता सिद्ध गरेको छ भन्दै देशप्रति बफादार जनताप्रति उत्तरदायिी विधि, व्यवस्था, संगठन एवम्र प्रतिनिधित्वको सही पात्र अहिले देशले खोजरहेको छ भन्ने सन्देशमा उल्लेख छ । साथै सन्देशमा सनातनी मूलभूत महिमालाई बिथोलेर केही नामान्तर गरेर सुन्दर र नौलो नेपाल नबन्ने पनि उल्लेख गरिएको छ । अहिलेको नागरिकता विधेयकका तर्फ इंगित गर्दै एकातिर होनहार नागरिकहरू बाहिर गएर भूभाग र हामीलाई उजाड पारिरहेका छन् भने अर्कातिर बाहिरियाहरूलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ भनेर बहुसंख्यक नेपालीले दुत्कारेको नागरिकता विधेयकप्रति आफ्नो पनि असंतुष्टि रहेको संकेत गरिएको छ । साथै सन्देशमा नेपालको धर्म, संस्कृति र सभ्यतामाथि केही समययता घातक प्हार हुँदै आएको बताएर बहुसंख्यक हिन्दुहरू रहेको नेपालको अस्तित्वमाथि खरा रहेको, खुलासा पनि गरिएको छ । समष्ठिमा व्यक्तिवादी राजनीति गरेर सत्ता कब्जा गर्नेहरूप्रति असन्तुष्टि व्यक्त गर्दै नेपाल र नेपालीको रक्षार्थ आफू नेतृत्व लिन तैयार भएर बसेको स्रकट शुभकामना सन्देशको निथार हो । त्यसो हुँदा अब के हुन्छ त ?
सन्देश त पर्व पर्वमा आइरहन्छ । देश र जनताप्रतिको घात प्रतिघातबारे आफूलाई दुःखेको प्रतिध्वनी सुनिने गरेकै हो । तर परिणाम केही आएनन् । यसपल्ट पनि गम्भीर प्रकृतिको सन्देश आयो । मर्मस्पर्सी सन्देश आयो । टिप्पणी गर्नेले गणतन्त्रको, पद्धतिको विरोध गरेको भनेर टिप्पणी पनि गरे । सकियो ।
चुनावको चटारोले देशलाई गम्लङ्गै छोपेको छ । नेताहरू पैसाको पोको बोकेर जनतालाई मासुभात, रक्सीमा डुबाउन थालेका छन् । पूर्वराजाको भक्कानो जनतालाई कसले बुझाइदिने ? यिनै नेताले चुनाव जित्दा देश कहाँ पुग्ला ? अस्तित्व रहला कि नरहला ? जनतालाई कसले प्रष्ट पारिदिने ? नागरिक समाज, बुद्धिजीवीले विवेक गुमाएर नेताका पछि दगुरेका छन्, विभाजित जनता पनि त्यस्तै भइदिएपछि परिणाम पहिलेजस्तै खाडलमा जाकिने हो । यी नेताहरू भ्रष्ट हुन्, राष्ट्रघाती हुन् भन्ने थाहा पाएर पनि तिनै मतदान गर्न अभिशप्त छन् जनता । जनता गरीब छन्, अभावमा छन्, बाध्यतामा छन् र यसैको लाभ नेता हुँ भन्ने बाहुबलीहरूले उठाइरहेका छन् र त, यिनै नेताले देशलाई डुबाइरहे, अझ पनि डुबाउने छन् ।
जनताको चेत खुल्छ र शासन पद्धतिमा सुशासन आउँछ भनेर नसोचे पनि हुन्छ भन्छन् विश्लेषकहरू । किनकि जनता रानु बिनाका माहुरीजसता बनेका छन् । राजाले थप साहस गरेर आन्तरिक र बाह्य समर्थनमा अग्रसर भए परिवर्तन सम्भव छ । अन्यथा चुनाव, पैसा, रक्सी र मासुमा लोकतन्त्र बगिरहनेछ । जसरी २०६३ देखि बग्यो । राजाको संवेदनशील सन्देश भालुलाई पुराण नबनाउने हो भने ।
नैराश्यता आमनागरिकमा छ, दलभित्र र बाहिर पनि व्यापक छ । त्यो नैराश्यता शक्ति बन्नका लागि अगुवा चाहिन्छ । अगुवा कोही पनि छैनन् । पूर्वराजाको आह्वान पहिलो खुट्किलो हो भने दोस्रो पाइला देखिनैपर्छ । पुर्षाको भार त बोक्नैपर्छ । अगुवा निस्कनासाथ साथमा साथ दिन जनता सडकमा उत्रने छन् । जो राजा देख्यो कि जयजयकार गर्छन् र नदेख्दा कुना पस्छन्, त्यो शक्ति होइन, स्वार्थी अवसरवादी समूह हो भन्ने नबुझ्दा गल्ती हुनसक्छ । अन्यथा चुनाव हुन्छ, चुनावपछि उही पारामा भ्रष्टाचारको खेती चलिरहन्छ, देश गल्दै गल्दै सिद्धिदै जानेछ ।